राजविराज, २६ साउन । रगतको अभावमा अस्पतालको शैय्यामा छटपटाईरहेका एक युवाको जीवन रक्षा गर्न सप्तरीका पत्रकारले रक्तदान गरेर सराहनीय कार्य गरेका छन् ।
सप्तरी जागरण अनलाइनका सम्पादक एवम् एभिन्युज टेलिभिजनका वरिष्ठ सम्वाददाता बैद्यनाथ यादवले बुधवार रक्तदान गरेर मानवताको उदाहरणीय नमूना प्रस्तुत गरेका हुन् । सप्तरीको बेल्ही चपेना–७ छातापुर निवासी कारी महतो (नुनियाँ)का २० बर्षिय छोरा रामअषिश महतोको जीवन बँचाउनकालागि उनले रक्तदान गरेका छन् ।
रगतको अभावमा राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको शैय्यामा छटपटाईरहेका रामअशिषलाई रगत दिने व्यक्ति नपाएको सूचना पाएर पत्रकार यादव तत्कालै रक्तसञ्चार केन्द्र पुगेर उनकालागि रक्तदान गरेका छन् । रक्तदाता नभेटिरहेको अवस्थामा पत्रकार यादवले रक्तदान गरेकोमा विरामीका परिवारजनले खुशी व्यक्त गरेका छन् ।