• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सहमतीमा टुङ्गियो सप्तरीको दशगजा विवादः तत्काल बाँध निर्माण नहुने

सहमतीमा टुङ्गियो सप्तरीको दशगजा विवादः तत्काल बाँध निर्माण नहुने

राजविराज, १४ साउन । सप्तरीको भारतीय सीमावर्ती गाविस तिलाठी स्थित दशगजा क्षेत्रमा बाँध निर्माणको विषयलाई लिएर भएको विवाद द्वि–पक्षीय सहमतीमा शुक्रवार टुङ्गिएको छ ।
भारतको कुनौलीमा नेपाल र भारतका सुरक्षा अधिकारी बीचको तीन बुँदे सहमती पछि टुङ्गिएको हो । खाँडो नदीको धार परिवर्तनका कारण विवाद भएको हुँदा नदीको धारलाई पुरानै स्थानबाट बगाउन च्यानलाइज गर्ने, दशगजामा हराएका सिमा स्तम्भ खोजीका लागि दुवै देशको केन्द्रीय स्तरमा पहल गर्ने र तत्कालकालागि जल उत्पन्न प्रकोपका प्रमुख तथा भारतीय पक्षका जल संशाधनका प्रमुखको संयुक्त टोलीले अध्ययन गरी दिएको प्रतिवेदनको आधारमा निर्माण कार्य गर्ने तथा तत्काल बाँध निर्माण कार्य रोक्ने सहमती भएको जानकारी प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले दिएका छन् ।
नेपालको तर्फबाट सप्तरीका प्रमुख जिल्ला बलदेव गौतमको नेतृत्वमा प्रहरी उपरीक्षक भीम प्रसाद ढकाल, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय राजविराजका प्रहरी नायव निरीक्षक निरकृष्ण अधिकारी लगायतका सुरक्षा अधिकारीहरु सहभागी भएका थिए । भारतीय पक्षबाट सुपौलका डिस्ट्रिक्ट मजिस्टेट बैद्यनाथ यादव, सशस्त्र प्रहरी सिमा सुरक्षा बलका ४५औं बटालियनका प्रमुख रामाअवतार भथोलियालगायतका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो । दुवै पक्षका सुरक्षा अधिकारी दशगजा क्षेत्रको स्थलगत अवलोकन गरी घटनाबारे जानकारी लिएपछि कुनौलीमा द्वि–पक्षीय छलफलमा बसेका थिए ।
दशगजा निरीक्षण पश्चात सुपौलका मजिस्टेट यादवले दशगजा घटना दुःखद भएको भन्दै दोषीलाई कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाली पक्षलाई दुःख दिने नियत आफूहरुको नरहेको उनले भने ‘नेपाल र भारतबीचको सम्वन्ध सदियौंदेखिको हो र यो कायम रहन्छ, हामी दशगजा समस्याको ठोस समाधानकालागि गम्भीर छौं ।
भारतीय पक्षबाट दशगजामा भईरहेको बाँध निर्माण कार्य रोक्ने क्रममा भारतीय पक्षबाट गरिएको आक्रमणमा परी तिलाठीका १२ जना बासिन्दा घाइते भएका छन् । ढुङ्गा, लाठी, फट्ठा आदिले प्रहार गर्दा जिल्ला विकास समिति सप्तरीका पूर्व सदस्य समेत रहेका तिलाठी–४ का ५२ वर्षिय देवनारायण यादव, तिलाठी–१ का १६ वर्षिय हर्षवद्र्धन कर्ण, बेल्ही–८ का सुशील यादव, तिलाठी–७ का रोशन झा, दुर्गानन्द झा, सञ्जीव झा लगायतका व्यक्तिहरु घाइते भएका छन् । घाइतेहरुमध्ये देवनारायण, हर्षवद्र्धन कर्णलगायतको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको छ । अन्य घाइतेको स्थानीय क्लिनिकहरुमा उपचार भइरहेको छ । बाँध निर्माणको विषयमा विहीवार साँझ उत्पन्न झडपमा परी नेपालतर्फका १२ जना घाइते भएका थिए । सहमति पश्चात दशगजा क्षेत्रको स्थिति सहजतर्फ उन्मुख भएको छ ।
दैनिक उपभोग्य सामग्रीकालागि कुनौली जाने नेपालीहरुलाई दुव्र्यवहार गरेर स्थानीयवासिन्दाहरुले फर्काएका छन् । यसैगरी भारतीयलाई नेपाल आउनमा समेत रोक लगाएको छ । दशगजा क्षेत्रमा बाँध निर्माण हुन थालेपछि सिमावर्ती क्षेत्रका आधा दर्जन गाविस डुबानमा पर्ने खतरा बढेकोले आफूहरुले निर्माण कार्य तत्काल रोक्नुपर्ने अडान नेपाली पक्षले राखेका थिए । गत शनिबार खाँडो नदीमा आएको बाढीमा तिलाठी, सकरपुरा, लौनिया, रम्पुरा मल्हनियालगायतका गाविसहरु डुबानका परेको थियो ।
अत्यधिक पानी थुनिएपछि बाँध भत्किएको थियो । बिहीबार विहानदेखि नेपाल र भारत पक्षका वासिन्दाहरु बीच तनाव उत्पन्न हुँदैआएको थियो । दुबै पक्षका सुरक्षा अधिकारीहरुको संयमता र सतर्कताका कारण अप्रिय घटनाबाट जोगिएको छ । बाँध निर्माणको विषयमा विहीवार साँझ उत्पन्न झडपमा परी नेपालतर्फका १२ जना घाइते भएका थिए । सहमति पश्चात दशगजा क्षेत्रको स्थिति सहजतर्फ उन्मुख भएको छ ।