• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

दशगजा अपडेटः नेपाल–भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक जारी, घटनास्थलमा कडा सुरक्षा

दशगजा अपडेटः नेपाल–भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक जारी, घटनास्थलमा कडा सुरक्षा

राजविराज, १४ साउन । सप्तरीको भारतीय सीमावर्ती गाविस तिलाठी स्थित दशगजा क्षेत्रमा बाँध निर्माणको विषयलाई लिएर भएको घटनाबारे नेपाल र भारतका सुरक्षा अधिकारी बीच भारतको कुनौलीमा संयुक्त बैठक जारी रहेको छ ।
नेपालको तर्फबाट सप्तरीका प्रमुख जिल्ला बलदेव गौतमको नेतृत्वमा प्रहरी उपरीक्षक भीम प्रसाद ढकाल, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय राजविराजका प्रहरी नायव निरीक्षक निरकृष्ण अधिकारी लगायतका सुरक्षा अधिकारीहरु सहभागी भएका छन् । यसैगरी भारतीय पक्षबाट सुपौलका डिस्ट्रिक्ट मजिस्टेट बैद्यनाथ यादव, सशस्त्र प्रहरी सिमा सुरक्षा बलका ४५औं बटालियनका प्रमुख रामाअवतार भथोलियालगायतका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको छ । दुवै पक्षका सुरक्षा अधिकारी दशगजा क्षेत्रको स्थलगत अवलोकन गरी घटनाबारे जानकारी लिएका छन् ।2
दशगजा निरीक्षण पश्चात सुपौलका मजिस्टेट यादवले दशगजा घटना दुःखद भएको भन्दै दोषीलाई कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाली पक्षलाई दुःख दिने नियत आफूहरुको नरहेको उनले भने ‘नेपाल र भारतबीचको सम्वन्ध सदियौंदेखिको हो र यो कायम रहन्छ, हामी दशगजा समस्याको ठोस समाधानकालागि गम्भीर छौं ।
भारतीय पक्षबाट दशगजामा भईरहेको बाँध निर्माण कार्य रोक्ने क्रममा भारतीय पक्षबाट गरिएको आक्रमणमा परी तिलाठीका १२ जना बासिन्दा घाइते भएका छन् । ढुङ्गा, लाठी, फट्ठा आदिले प्रहार गर्दा जिल्ला विकास समिति सप्तरीका पूर्व सदस्य समेत रहेका तिलाठी–४ का ५२ वर्षिय देवनारायण यादव, तिलाठी–१ का १६ वर्षिय हर्षवद्र्धन कर्ण, बेल्ही–८ का सुशील यादव, तिलाठी–७ का रोशन झा, दुर्गानन्द झा, सञ्जीव झा लगायतका व्यक्तिहरु घाइते भएका छन् । घाइतेहरुमध्ये देवनारायण, हर्षवद्र्धन कर्णलगायतको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको छ । अन्य घाइतेको स्थानीय क्लिनिकहरुमा उपचार भइरहेको छ । दोहोरो झडपले उग्र रुप लिएपछि दुबैतर्फ व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरी घटनास्थललाई दुवै पक्षका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् ।
दशगजा क्षेत्रमा भएको घटनापछि भारतको कुनौली नाका बिहानैदेखि ठप्प रहेको छ । दैनिक हज्जारौं नेपालीहरुको आवागमन हुने व्यापारिक बजारका सम्पूर्ण पसलहरु बन्द रहेको छ । दैनिक उपभोग्य सामग्रीकालागि कुनौली जाने नेपालीहरुलाई दुव्र्यवहार गरेर स्थानीयवासिन्दाहरुले फर्काएका छन् । यसैगरी भारतीयलाई नेपाल आउनमा समेत रोक लगाएको छ ।
दशगजा क्षेत्रमा बाँध निर्माण हुन थालेपछि सिमावर्ती क्षेत्रका आधा दर्जन गाविस डुबानमा पर्ने खतरा बढेकोले आफूहरुले निर्माण कार्य तत्काल रोक्नुपर्ने अडान नेपाली पक्षले राखेका छन् । गत शनिबार खाँडो नदीमा आएको बाढीमा तिलाठी, सकरपुरा, लौनिया, रम्पुरा मल्हनियालगायतका गाविसहरु डुबानका परेको थियो ।
अत्यधिक पानी थुनिएपछि बाँध भत्किएको थियो । बिहीबार विहानदेखि नेपाल र भारत पक्षका वासिन्दाहरु बीच तनाव उत्पन्न हुँदैआएको छ । दुबै पक्षका सुरक्षा अधिकारीहरुको संयमता र सतर्कताका कारण अप्रिय घटनाबाट जोगिएको छ ।