गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको अवस्था दिनानुदिन खस्कँदो छ । पञ्चायतकालमा भन्दापनि अचेल उपचार भरपर्दो हुन छाडेको कुरा बिरामी र तिनका आफन्तकै मुखबाट सुन्न पाइन्छ । अञ्चलकै सबभन्दा ठूलो र पुरानो अस्पताल भएका कारणले जनताले सस्तो,सरल र सुलभ उपचार सेवा पाउनु पर्ने आम मान्यता रहेको विषयप्रति कुनै आशंका छैन । तर,यति पुरानो यो अस्पताल यतिबेला आफैं रोगीजस्तो अवस्थामा रहेको कुरा त्यहाँं उपचारकालागि पुग्ने जो कोहिले सहजै महशुश गर्न सक्दछन् ।
दरबन्दीको अनुपातमा एकचौथाई पनि चिकित्सक नहुनु ,सरसफाइको अभाव,आपसी सहयोग तथा समन्वयको कमी ,एउटाले काम बिगारे अर्को खुशी हुने प्रवृत्ति लगायतका एकसेएक समस्याले अस्पताल ग्रस्त रहेको छ । सेवामा हुने गरेका कमी कमजोरीले गर्दा दूरदराजका ग्रामीण भेगबाट उपचारकालागि पुगेका विरामीहरुले निरास भएर फर्कनु यस अस्पतालकालागि नौलो कुरा रहेन ।
स्थानीय नेता तथा जनप्रतिनिधिहरुले चुनावको वेला यो अस्पतालमा सुधार गर्ने खुबै प्रतिवध्दता जनाए । तर,उनीहरुको यो प्रतिवध्दता केवल चुनावसम्मकालागि मात्र सिमित रहन पुग्यो ।उनीहरुमध्ये कतिपयले त चुनाव जितेर मन्त्री पद समेत प्राप्त गरे तर अस्पतालकालागि गरेको प्रतिवध्दता चटक्कै विर्सेपछि खासगरी विपन्न समुदायका मानिसहरुलाई उपचारमा ठूलो समस्या उत्पन्न भएको छ ।
हुनेखानेले त ठुल्ठूला प्राइभेट अस्पतालमा लगेर उपचार गराउलान् । तर,गरीब विपन्नकालागि त यही अस्पताल नै भरोसा रहेको कुरामा कुनै शंका छैन ।अस्पतालमा पुगेपछि उपचार भई बिमारीबाट मुक्ति भेटिएला भन्ने आशा वोकेर आएकाहरुले उपचारै नपाएर निराश भई फर्कनु पर्यो भने चाहिं त्यसलाई दुर्भाग्य नै भन्नुपर्ने हुन्छ । सगरमाथा अञ्चल अस्पतालबाट प्रायजसो विरामीहरुले अचेल यस्तै प्रकारको निराशा लिएर फर्कनु पर्ने अवस्था विद्यमान रहेको कुरामा धेरै भुक्तभोगी भईसकेका छन् ।
स्तरीय सेवा प्रदान गर्न नसक्नुका पछाडि त्यहां कार्यरत चिकित्सकहरुका पनि अनेक प्रकारका वाध्यता हुन सक्छन् । विगतका दिनमा पनि अस्पतालमा दरवन्दी अनुपातमा चिकित्सकहरु निकै कम रहेको विषय नौलो होइन ।तर त्यति वेला हालजस्तो रेफरको मात्र वाहुल्यता थिएन । टीमवर्कमा समर्पित भएर चिकित्सकहरुले भ्याएसम्म सेवा प्रदान नगरेका होइनन् । तर अहिले विगतकोजस्तो अवस्था छैन । आपसी समन्वयको अभावका कारणले अस्पताल गुटवन्दीतर्फ उन्मुख हुंदै गएको सहजै अनुमान गर्न सकिन्छ ।
अस्पतालमा दरवन्दीको तुलनामा दुई तह तलको डाक्टरलाई मेडिकल सुपरिटेण्डेण्ट बनाइएको वर्षौ वितिसकेको छ । दरवन्दी अनुसारको सुपरिटेण्डेण्टको पद पूर्तिकालागि स्थानीय नेता तथा मन्त्रीहरुको ध्यान किन पुगिरहेको छैन ? जनजनबाट यो प्रश्न उठ्न थालेको छ, जसलाई अस्वाभाविक भन्न सकिन्न ।अस्पतालको साइनवोर्ड राख्ने तर उपचार चाहिं नगर्ने हो भने यसलाई मात्र जनता झुक्याउने मेलो भन्न कुनै हिचकिचाहट मान्नु नपर्ला ।
यस्तो रबैयाले त विरामीलाई भ्रम मात्र पर्ने हुन्छ । जनतालाई भ्रम छरेर झुक्याउने मात्र गर्नाले त विरामीको ज्यानै खतरामा पनि पर्न सक्छ । त्यसैले यदि अस्पतालले सेवा दिन चाहेको हो भने सर्वप्रथम यस्तो भ्रम छर्ने काम तत्कालै वन्द हुन आवश्यक छ । जिल्लाबाट अहिले पनि दुई–दुई जना मन्त्रीहरुको प्रतिनिधित्व रहेको छ । संसदका उपसभामुख पनि सप्तरीबाटै प्रतिनिधित्व गरिरहेका छन् । यति हुँँदाहुँदै पनि अस्पतालको दुर्दशामा सुधार आउन सक्दैन भने जनताले उनीहरुबाट के अपेक्षा गर्ने ?
विरामी मानिस उपचारकालागि निको हुने आशाले अस्पताल आउने तर अलमल्याएर राख्ने मात्रै काम भयो भने समयमा उपचार नपाई ज्यानै जोखिममा पुग्ने गरेको गुनासोलाई समयमै ध्यान दिनु जरुरी छ । भ्रमबाट सर्वसाधारणले ज्यान गुमाउनुपर्ने स्थितिबाट उन्मुक्तिकालागि या त अस्पतालको उपचार सेवामा सुधार हुनुप¥यो, विरामीलाई झुक्याएर ज्यानै खतरामा पार्ने काम चाहिँ कुनै पनि हालतमा हुनु भएन । जिल्लामा डेढ दर्जन जति सांसद मात्र छन् । उनीहरुले जनताको समस्याप्रति चासो नराख्ने हो भने आफूलाई जनप्रतिनिधी भन्नु कतिको सुहाउला ? अस्पतालको दुर्दशा सुधारकालागि नेताहरुले सरकारलाई घचघचाउन सक्नुप¥यो । अन्यथा ज्यानमारा केन्द्र बनाएर राख्न चाही कुनै दृष्टिकोणबाट पनि उचित मान्न सकिन्न ।