राजविराज, १९ जेठ । एउटा खसीको मोल कति पर्छ ? सामान्यतया २५ वा ३० हजार भनी अनुमान गर्नु अस्वाभाविक नहोला । तर सप्तरीको कटैया गाविस वडा नम्वर–६ का एक किसानले पालेको एउटा खसीको मोल ६० हजार राखेका छन् ।
विगत पाँच वर्षदेखि खसी पालन गर्दै आएका सूर्यनारायण मण्डलले विगतमा पनि आकर्षक मूल्य लिएर खसी नबेचेका होइनन् । आश्चर्यको कुरा त के छ भने उनले आफ्नो यस व्यवसायमा खसीको संख्या दुईमा मात्रै सिमित राखेका छन् । एउटा बेच्यो अनि अर्को पाठो ल्याईहाल्यो । महाराष्ट्रबाट काठमाण्डौ आयात हुने गरेको उन्नत जातको पाठो किनेर ठूलो खसी भए पछि राम्रो मूल्य लिएर बेच्ने गरेका सूर्यनारायणलाई खसी पालनको निम्ति खोर बनाई राख्नुपर्ने समस्या पनि छैन । घरका सबैले माया गरेर केही न केही खुवाईरहन्छन्’ उनले भने ‘चरवाही गरिरहनुपर्ने समस्या पनि छैन ।’ 
बथानको रुपमा खसीको सङ्ख्या बढाउँदा रेखदेख गर्न, घाँसदानाको जोहो गर्न र चराउन लैजान परिवारका सदस्यलाई भ्याई–नभ्याई हुने भएका कारण थोरै सङ्ख्यामा खसी पालेर पनि आफू सन्तुष्ट रहेको उनको अनुभव छ । प्रायः दुवै खसी परिवारका सदस्यकै वरिपरि रहने हुँदा रेखदेखको लागि खासै समस्या नहुने गरेको उनले सुनाए ।
करिब दुई वर्ष अघि १५ हजारमा किनेर ल्याएको पाठो अहिले ८० केजी भन्दा बढी वजनको भइसकेकोले बेच्ने तयारीमा रहेको सूर्यनारायणको भनाई छ । घाँसदाना दुबै खुवाएको र बोसो पनि बढी नभएका कारण लोकल खसीको तुलनामा आफूले बढी मूल्य पाउनुपर्ने उनको तर्क छ । ‘पोहोर यो भन्दा निक्कै कम तौलकोलाई ४० हजारमा बेचेको थिएँ’ उनले भने ‘यसपाली त ६० हजार भन्दा कममा नबेच्ने बिचारमा छु, दुई चार महिना बिकेन भने पनि कुनै चिन्ता छैन ।’
गाउँघरमा छरछिमेकले लोकल खसीबाख्राको बथानै राखे पनि बाहिरका व्यापारीको आकर्षण भने सूर्यनारायणको खसीतिर रहने गरेको छ । ठूलो आकारको हुनाका साथै आकर्षक समेत देखिने हुँदा व्यापारीहरुको आकर्षण यतातिर बढेको उनले बताए । ‘घरको शोभा पनि बढ्ने, आम्दानी पनि हुने हुँदा सन्तुष्टि छ’ सूर्यनारायणले थपे ‘थोरै सङ्ख्यामा खसी पाले पनि राम्रो आम्दानी लिएकै छु, गर्र्जो पनि टरेकै छ ।’
बथानका बथान खसी बाख्रा पाल्नुभन्दा आफू जस्तै उन्नत जातको पाठो ल्याएर पाले अरुका लागि पनि राम्रो आम्दानीको श्रोत हुने उनको सुझाव छ । ‘मेहनत बढी सँगसँगै आम्दानी पनि बढ्नुपर्छ’ सूर्यनारायणले भने ‘अनि मात्र पेशाप्रतिको आकर्षण टिकीरहन्छ ।’