शिक्षा र स्वास्थ्य क्षेत्रकोे अवस्था भयावह
राजविराज, १८ जेठ । युनेस्को नेपाल राष्ट्रिय आयोग मिडिया कमिटीका संयोजक सीताराम अग्रहरीले देशको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था भयावह रहेको भन्दै युवा पत्रकारहरुले सशक्त रुपमा कलम चलाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
युनेस्को नेपालद्वारा मङ्गलवार राजविराजमा आयोजित ‘स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा आमसञ्चारको भूमिका’ विषयक कार्यशालामा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । देशैभरिका सामुदायिक विद्यालय र सरकारी स्वास्थ्य संस्थाहरुको अवस्था भयावह रहेको प्रष्ट पार्दै उनले भने ‘शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था भयावह रहेकोले युवा पत्रकारहरुले सशक्त रुपमा कलम चलाउनु आवश्यक छ ।’
समाज र राष्ट्र निर्माणमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको भन्दै यसलाई सुधार गर्न राज्यपक्ष समेत जिम्मेवार हुनुपर्ने अग्रहरीले जोड दिए । साउथ एसियामै पब्लिक एजुकेशनको अवस्था नाजुक रहेको जानकारी दिँदै उनले भने ‘अन्य देशहरुको तुलनामा नेपालको सामुदायिक विद्यालयहरुको अवस्था जर्जर छ, यदी यसलाई सुधार नगरिए देशको अवस्था झन जर्जर हुनेछ । पत्रकारहरुप्रति समाजको आशा, विश्वास र भरोसा टिकेको भन्दै गोरखापत्रका पूर्व प्रधान सम्पादक तथा महाप्रबन्धक समेत रहेका अग्रहरीले युवा पत्रकारहरुले समाज रुपान्तरणकालागि अझ जिम्मेवार भएर कलम चलाउनुपर्नेमा जोड दिए ।
प्रेस स्वतन्त्रता सेनानी एवम्् वरिष्ठ पत्रकार राजेश्वर नेपालीले तानाशाहहरुले शिक्षा क्षेत्रलाई समाप्त पार्न खोजिरहेकोले पत्रकारहरुले निर्भिक एवम् निष्पक्ष भएर कलम चलाउनुपर्नेमा जोड दिए । देशका शासकवर्गको मधेशप्रतिको दृष्टिकोण पूर्वाग्रही रहेको भन्दै शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार ल्याउनुपर्नेमा जोड दिए ।
देशभित्रका असन्तुष्टिहरुलाई राज्यपक्षले समयमै सम्वोधन नगरिए जातीय दङ्गा फैलिन सक्ने आशंका समेत उनले गरे । ‘परिवर्तन विरोधीहरुले मधेशीको पहिचान रुचाएको छैन’ उनले भने ‘जस्तोसुकै कठिन परिस्थितिमा पनि मजबुत आत्मबलका साथ पत्रकारहरुले कलम चलाउनु जरुरी छ ।’ पत्रकारिता पदका प्राप्तिका लागि नभई शोषित, पीडित जनताकालागि कलम चलाउनुपर्नेमा वरिष्ठ पत्रकार नेपालीले जोड दिए ।
कार्यक्रममा युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. कमलेश्वर सिन्हा, कान्तिपुरका सहायक वरिष्ठ उप–सम्पादक समेत रहेका आयोगका सदस्य दिनेश यादव, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, अनिल कुमार अनल, नेपाल पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवण देवलगायतले विचार व्यक्त गरे ।
सोही कार्यशालामा प्रेस स्वतन्त्रता सेनानीद्वय वैद्यनाथ झा, राजेश्वर नेपाली, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, अनिल कुमार अनल र प्रेस काउन्सिलका सदस्य मुरली प्रसाद यादवलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यशालामा सहभागी पत्रकारहरुलाई समेत प्रमाण–पत्र वितरण गरिएको छ ।