काठमाडौ, १७ जेठ । डिजल, पेट्रोल तथा विजुलीको समस्या खेप्दैआएका किसानले अब सौर्य उर्जा (सोलार पम्प इरिगेशन)बाट सिचाई गर्न पाउने भएका छन् ।
अनावश्यक समस्या खेप्दैआएका किसानहरुको समस्यालाई मध्यनजर गर्दै सरकारले सौर्य उर्जाको व्यवस्था गर्न लागेका हुन् । सिंचाइ मन्त्री उमेश कुमार यादवले चालु आर्थिक वर्षबाटै सौर्य उर्जाबाट सिंचाइको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सोमवार सिचाइ विभागमा आयोजित एक कार्यक्रममा उनले सौर्य उर्जाबाट किसानका लागि सिंचाइ पुर्याउन निर्देशन दिएका हुन् ।
नेपालमा सौर्य उर्जाबाट सिंचाइको सम्भावनाबारे विभागमा आयोजित कार्यक्रममा मन्त्री यादवले भने, सौर्यबाट सिंचाई हुने सम्भावना नेपालमा छ र त्यो नमूनाको रुपमा कार्य गरेर तपाईहरु देखाई दिनुपर्छ, यो कार्यक्रमका लागि अर्को आर्थिक वर्ष नकुर्नुस्, भोलीदेखि नै यसको अध्ययन गरि नमूनाको रुपमा भएपनि काम सञ्चालन गर्नुस् ।’
देशमा हाल सात लाख हेक्टर जमिनमा मात्रै बाह्रै मास सिंचाइ सुविधा उपलब्ध रहेको भन्दै स्यालो र डिप ट्युबवेल जडान गर्नेलगायतको यो कार्यक्रमको कार्यान्वयन भएपछि सिँचाइ सुविधा पुग्ने जमिन झन्डै १० लाख हेक्टर पुग्ने मन्त्री यादवले जानकारी दिए । सोलार प्यानल खेतमा लगाएपछि चोरी हुने सम्भावना बढी रहेको कुरा कर्मचारीहरुले उठाएपछि उनले भने, चोरी हुन्छ भने हुन दिनुस्, त्यो पनि एउटा परिक्षण नै हुन्छ, चोरी हुन्छ भन्दै कार्यक्रम रोक्नु हुँदैन ।’
प्रचारात्मक रुपमा भए पनि यसैपालीदेखि काम शुरु गरौं ।’ राष्ट्रको रक्षा गर्ने मधेशी जनताले सोलारको पनि रक्षा गर्न सक्छ, अब सोलार, दमकल, तार चोरी गर्ने जमाना गईसक्यो, चोरीको डरले कार्यक्रम नै सञ्चालन नगर्ने भने होइन, चोरी नहोस् भनि सावधानीकासाथ सिचाइका लागि सौर्य उर्जाका व्यवस्था गरौं भन्दै मन्त्री यादवले किसानले अहिलेको महँगाईलाई थेग्न सक्दैन, एकचोटी यो जडान गरेपछि सधैंका लागि हुन्छ ।’
मधेशका विभिन्न १० ठाउँमा नमूनाका लागि सौर्य उर्जाबाट पम्प जडान गरौं, त्यो सफल भयो भने आउने आर्थिकवर्षमा यसलाई लागु गर्ने मन्त्री यादवले जानकारी गराए । सरकारले हालै ल्याएको बजेटमा पनि सिंचाइमा सौर्य उर्जाका लागि बजेटको व्यवस्था गरेकोले कार्यक्रम कार्यान्वनयमा ल्याउन सजिलो भएको विभागका प्रमुख रमानन्द यादवले बताए । समृद्ध तराई मधेश सिचाइ विशेष कार्यक्रम अन्तर्गत नै यस कार्यक्रमलाई पनि सञ्चालन गरिने बताउँदै ३५ प्रतिशत बजेट सौर्य उर्जामा लगाउने बताए ।
स्यालो ट्युवेलमा मेसिन जडान गरी सोलारबाट पानी तान्न सकिने प्रविधि भारतमा सञ्चालनमा आएको उनले बताए । एक दिनमा एक लाख ३० हजार लिटर पानी दिने प्रविधि शुरुमा खर्चालु भएपनि किसान त्यसबाट लाभान्वित हुने विश्वास व्यक्त गरे । दुई हर्स पावर मेसिनका लागि सात लाख, पाँच हर्स पावर मेसिनका लागि १० देखि ११ लाख रुपियाँ पर्ने अनुमान गरिएको छ ।