राम नारायण पंडित
सिरहा, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा सिरहा जिल्लाका ९ जना कैदीले उन्मुक्ति पाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नवौँ गणतन्त्र दिवसको अवसरमा सिरहाका ९ जना कैदिलाई बाँकी कैद मिनाहा गरिएको हो । असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका ९ जना कैदीको भुक्तान हुन बाँकी रहेको कैद सजाय मिनाहा गरिएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद मिनाहा गरेको जिल्ला करागार सिरहाले जनाएको छ । सिरहामा कारागारमा सबारी ज्यान, लागुऔषध, हातहतियार र कर्तब्य ज्यान मुद्दामा सजाय पाएकाहरुको बाँकी कैद मिनाहा भएको जिल्ला करागार सिरहाले जनाएको छ । सिरहा फुलबरीया–४ का सिताराम यादव, पिप्रा ७ का जुगुतलाल यादव, अयोध्यानगर–९ कसहाका रासलाल ठाकुर, जमदह–९ का सुजित योञ्जन, जम्दह ७ का असलानी देबी यादव, गोलबजार ७ का राम अवतार ठाकुर , महोतरी पर्सा पतैलीका धनबीर यादव र उदयपुर त्रियुगा–१७ का सिताराम चौधरी छुटेको जिल्ला कारागार सिरहाका जेलर शंकर लाल कर्णले बताए । उनका अनुसार जिल्ला कारागार सिरहामा हाल बिभिन्न मुद्दाका ५ महिला सहित एक सय ६९ कैदी र १७ महिला सहित एक सय ७३ बन्दी रहेका छन् ।