प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेको करीब तीन साता पछि राष्ट्रका नाममा सम्बोधन गर्दा थुप्रै आश्वासनका कुरा जनसमक्ष प्रस्तुत गरे । उनले आफ्नो भावी योजनाको लामो फेहरिस्त सुनेपछि कतिपयले त सम्बोधन कि बजेट भाषण ? भन्दै प्रतिक्रिया पनि व्यक्त गरे । त्यसपछि पनि बेला बखत आफ्नो भाषणका क्रममा थप आवश्वासन दिन छोडेका छैनन् ।
खासगरी उनका आश्वासन पनि अधिकांश जसो विकृति, वेथिति र जनताले तत्काल भोग्नु परेका समस्यासित सम्बन्धित त हुनु भन्दा पनि दिर्घकालिन र विश्वास गर्न पनि गाह्रो पर्ने खालका हुने गरेका छन् । ओलीले घर घरमा ग्याँस पाइप पुरयाउनेदेखि हावाबाट विजुली निकाल्ने, एक वर्षमै लोडसेडिङ्गको अन्त्य हुने उद्घोषसम्म गर्न भ्याएकै छन् ।
पछिल्लो पटक प्रधानमन्त्रीको मुलुकमा पानी जहाज नै सञ्चालन गर्ने भन्ने अभिव्यक्तिले विशेष चर्चा पाएको छ । पानीजहाज सञ्चालन हुनुलाई निकै ठूलो उपलब्धि त मान्न सकिएला । तर, त्यो के कति सम्भव छ भनेर यथार्थतालाई उपेक्षा गर्न भने मिल्दैन ।
प्रधानमन्त्रीका भाषणमा व्यक्त हुने ठूला तथा महत्वाकांक्षी योजनामा ठूलो रकमको आवश्यकता त छँदैछ । सँगसँगै मुलुकले त्यो खर्चा धान्न सक्छ कि सक्दैन, त्यस अनुकूलको प्रविधि उपलब्ध छ कि छैन भन्ने तिर पनि ध्यान नदिने हो भने त्यो केबल हावागफ मै सिमित नरहला भन्ने विश्वसनीय आधार के छ ? मुलुक विनाशकारी भूकम्पले गर्दा थिलथिलो छ ।
एक वर्ष बितिसकेको छ, भूकम्पपीडितले बोघरबार हुनुपरेका कारणले गत वर्षको वर्षायाम तथा ठण्डी त्रिपाल तथा छाप्रोमा कटाए । यसपाली पनि वर्षायाम आइसक्यो, हावा हुण्डरीले पनि ठाउँ ठाउँमा त्रिपाल र छाप्रो उडाएका कारण पीडितहरुले पीडामाथि पीडा भोग्नु परिरहेको सवै नेपाली जनतालाई अहिले पनि आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सकिएको छैन । त्यसैले पानीजहाज भन्दा पनि सिटामोलको व्यवस्थातिर लाग्दै जनताका तत्कालका पीडालाई प्राथमिकतामा राखेर त्यसको क्रमशः समाधानतिर लागे पनि पीडित जनताले थोरै भएपनि राहत पाउने थिए । प्रधानमन्त्रीले दिएको आवश्वासन मध्ये के कति पूरा भए ? भन्नेतिर पनि फर्केर हेरिनु यतिबेला सान्दर्भिक हुनेछ ।