• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
दाइजो लेनदेन गर्नेलाई खोइ त कार्वाही ?

विभिन्न सभा समारोहहरुमा दाइजोको लेनदेन नगर्न, नगराउन भनी खुवै चर्चा चल्दछ । तर जतिसुकै प्रयास भएपनि यो समस्या न्यूनिकरण त परै जाओस् उल्टै भुसको आगो झै भित्रभित्रै चुलिदै गएको छ ।
दाइजो नदिएकै कारणले धेरै महिलाको हत्या भइसकेको छ, धेरै महिलाहरु विभिन्न यातना भोग्न र परिवारबाट वहिस्कृत सम्मको अत्याचार सहन विवश छन् । खुला रुपमा दहेजलाई सामाजिक कलङ्कका रुपमा लिए पनि भित्रभित्र भने शिक्षित र सम्भ्रान्त व्यक्ति समेतले यसलाई अझंै कसेर पक्रेको अवस्था छ ।
गोप्य लेनदेन भएका कारणले यो विकृतिलाई झाँगिने अवसर मिलेको र दाइजो विरुद्ध कानून भए पनि कार्यान्वयन चाहीं हुन नसकेको कुरामा सन्देह मान्नु पर्दैन । दाइजो ठूलो भोजभतेर, ठूलो संख्यामा जन्ति लैजान समेत कानूनले प्रतिबन्ध लगाएको छ, तर पनि कतिपयले यसलाई प्रतिष्ठाको विषय बनाएर अझै ठूलो धनराशी खर्च गर्ने गरेका छन् ।
फलतः हुने खानेका लागि दाइजो लेनदेन सहज भए पनि विपन्नकालागि चाही यो अभिशाप तुल्य बनेको छ । महिलाले यसै कारण हिंसा र यातनाको शिकार हुनुपरेका प्रशस्त उदाहरण छन् भने कतिपयले त यसैका कारण आफूलाई परिवारको बोझ सम्झँदै आत्महत्या समेत गर्न बाध्य भएका छन् ।
सामाजिक प्रतिष्ठा दाइजो लेनदेन गरेर होइन बरु आदर्श विवाह गरेमा बढ्ने चर्चा हुन्छन्, तर, बाहिर जसले यो विकृतिको विरोध गरिरहेका छन् भित्र भने उनीहरु मध्ये कतिपयको संलग्नता यसैसित जोडिएर आएका उदाहरण पनि प्रशस्त देख्न पाइनछ । नियमनकारी निकायले कानूनको पालना गराउन र उल्लंघन गर्नेमाथि कारवाही गराउनमा आनाकानी वा उदासिनता देखाएका कारणले यो विकृति बढेको मान्नुपर्ने हुन् ।
विभिन्न अपराधमा संलगनमाथि कारवाही भएको प्रशस्तै सुनिएपनि दहेज लेनदेनको आरोप वा सामाजिक व्यवहार सुधार ऐनको उल्लंघन गरेको आरोपमा सजाय गरिएको वा कारवाही चलाइएको उदाहरण न्यून छन् । त्यसै कारण दाइजो विरुद्ध जतिसुकै चेतनामूलक कार्यक्रम र प्रचारप्रसार गरिएपनि यसको प्रभाव भने उल्टो रुपमा परेको देखिन्छ । यसकालागि नियमनकारी नियकायले सक्रियतापूर्वक लगे मात्र यसको न्यूनीकरण सम्भव छ । अन्यथा यो केवल प्रचारवाजीमै मात्र सिमित नरहला भन्न सकिन्न ।