सिरुखर्के जेठा
पहिलेपहिले देशको विखण्डन गर्ने सिके राउतको कुरामा भन्दा नेपाली सेना र पहाडी महिलामाथिको उनले गरे भनिएका टिप्पणीहरुको बढ्ता विरोध हुने गरेको थियो । तर यसपालिको अन्तर्वार्तामा उनी निकै खारिएका देखा परे । उनले स्वतन्त्र मधेसवाहेक अरु कुरै गरेनन् । यतिसम्म कि टेलिभिजन पत्रकारले पटकपटक ‘चाइल्डिस्ट’ भन्दै आवेशमा ल्याउने कोसिस गरिरहँदा पनि उनको ओँठबाट मुस्कान कतै लुकेन ।
अन्तर्वार्तामा उनले बोलेका कुराहरुभन्दा बढी मलाई उनको हाउभाउ र अनुहारको शालीन भावले हल्लायो । उनको शान्त अनुहार, रक्तपातपूर्ण लडाइँलाई गौण स्थानमा राख्नु, शान्तिको मार्गमै रहेर अलग देश बनाउने नैतिक साहस र दृढता, आवेशमा नआएर उनले अपनाएको संयम र विचारमा स्पष्टता र लगन । अनि आफ्नो अभियानप्रति उनको बोलीमा जुन ढुक्कपना सुनियो, त्यो चानचुने थिएन । विजेताले मात्रै यसरी ढुक्क भएर कुरा गर्न सक्छ । यसर्थ उनको देहभाषामा यदि हामी झुक्किएका हैनौँ भने यति भन्न कुनै गाह्रो मान्नुपर्दैन, उनले आफूले सुरु गरेको लडाइँको आधा हिस्सा जितिसकेका रहेछन् ।
लेखक सिरुखर्के जेठा
देशमा यतिखेर सिके राउतलाई बुझ्ने दुईथरि अतिवाद विकास भएको छ । र ती दुवै अतिवादी स्वरहरु पहाडबाट सुनिएका छन् जुन अत्यन्तै दुःखपूर्ण छ । एकथरि भन्छन्, सिके राउत एउटा बहुला कुकुर हो । त्यो भुक्दै गर्छ हामीले पिना सुकाउँदै जानुपर्छ । अर्काथरि भन्छन्, सिके राउतलाई चौराहमा ल्याएर झुन्ड्याउनुपर्छ कि त इन्काउन्टर गरेर मार्नुपर्छ । यी दुवै अतिवाद पहाडे मनोविज्ञानबाट निर्देशित छन् । यी दुवै अतिवादले सिके राउत एउटा समस्या हो भनेर स्वीकारेका छन् तर समस्याको समाधान यसरी हुन सक्दैन भनेर विचार मन्थन गर्ने ह्याउचाहिँ यिनमा छैन ।
सिके राउतलाई लिएर आम मानिस बोलेर चिच्याएर हुँदैन । उनको विरोध गर्नेहरु हामी अधिकांश पहाडेहरु नै हौँ र योबेलामा हाम्रो भाषा मधेसले बुझ्न सकिरहेको छैन या त चाहिरहेको छैन । मधेसलाई स्वतन्त्र देश बनाउनका खातिर सरकारलाई जनमतसंग्रहको खुला चुनौती दिन सक्ने सिके राउतको शक्तिको श्रोत भनेकै मधेसी जनता हुन् । दुर्भाग्य के छ भने छ महिना लामो आन्दोलनपछि मधेसी जनता राज्यसँग यसरी चिढिएका छन् कि उनीहरुले राज्यको भाषा सुन्नै चाहिरहेका छैनन् । यस्तो समयमा मधेसमा आफ्नो प्रेममय उपस्थिति जनाउने जिम्मेवारी राज्यको हो ।
सिके राउतको आफ्नो सेना छ । आफ्नो झण्डा र राष्ट्रगान पनि छ । एउटा स्वतन्त्र देशलाई चाहिने सबै प्रकारका संरचनाहरु उनको अभियानले निर्माण गरिसकेको छ र उनको दाबीलाई मान्ने हो भने अबको आठ–दस वर्षपछि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुलाई निम्त्याएर मधेसलाई स्वतन्त्र मुलुक घोषणा गरिनेछ ।
एउटा मान्छेले देश विखण्डनको कुरा राष्ट्रिय टेलिभिजनबाट बोलिरहँदा राज्य किन चुपचाप छ ? अब हामीले सिके किन त्यसरी बोले भनेर हैन राज्य किन यसरी मौन छ भनेर प्रश्न गर्नुपर्ने भएको छ । सिके राउत कति गलत छन् या सही छन् भन्ने कुरा मधेसी जनताको जीवनमा राज्य कति गलत या कति सही भन्ने तथ्यसँग अन्तर्सबन्धित विषय हो । त्यसकारण आफू असल बनेर सिकेलाई गलत सावित गर्ने काम राज्यको हो । तर यही पाराले जाने हो भने पछि पछुताउनुवाहेक राज्यसँग अरु केही विकल्प बाँकी रहने छैन । यस्तो लाग्छ कि देश विखण्डनको चिन्ता राज्यलाई कत्ति पनि छैन ।
तत्काल सरकारको काम भनेको मधेसी जनतासँग जीवन्त संवाद सुरु गर्नु हो । राज्यले बोलेको नबुझेकै कारण उनीहरुले सिके राउतलाई सुन्न बाध्य भएका हुन् । अझै पनि राज्यले यस कुरामा ढिलासुस्ती गर्यो भने मधेस भौगोलिक रुपमा त नेपालमै रहला तर भावनात्मक रुपमा मधेस छुट्टै देश बनिसक्नेछ । भावनात्मक रुपमा अलग्गिइसकेको भूगोललाई डण्डाको बलमा एक बनाउँछु भनेर कसैले नसोचे हुन्छ ।
मधेसलाई अलग देश बनाउने कि नबनाउने ? अझैसम्म यो निर्णायक शक्ति सिके राउतको हैन राज्यको हातमा छ । यो शक्ति राज्यको हातबाट फुत्कने दिन मधेस मात्र हैन नेपालबाट अरु पनि भूगोल चोइटिएर अलग्गिएर थुप्रै देशहरु बन्नेछन् । यसतर्फ सबैको ध्यान जाओस् । साभारः इसमता डट्कम