• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

तराई मधेशलाई समृद्ध बनाउन विशेष कार्यक्रमः मन्त्री यादव

तराई मधेशलाई समृद्ध बनाउन विशेष कार्यक्रमः मन्त्री यादव

राजविराज, १६ चैत्र । सिंचाई मन्त्री उमेशकुमार यादवले तराई मधेशलाई समृद्ध बनाउनकालागि सिंचाईमा विशेष कार्यक्रम ल्याएको र त्यसलाई सफल पार्न सबैको सहयोग चाहिएको बताएका छन् ।
नवलपरासी र रुपन्देहीसहित मधेशका आठ जिल्लालाई केन्द्र बनाएर सो कार्यक्रम ल्याएको बताउँदै उनले त्यसका लागि अर्थ मन्त्रालयले बजेट शिर्षक पनि छुट्याई दिएको बताए । प्रत्येक निर्वाचन क्षेत्रमा दुई पोखरी अनिवार्य, पूर्ण सिंचित नमूना गाउँ घोषणा गर्नेलगायत कार्यक्रम शुरु भइसकेको उनले बताए ।
क्रान्तिकारी पत्रकार संघ सप्तरीले मंगलवार आयोजना गरेको ‘सप्तरी सिंचाई समस्या र समधान’ विषयक विचार विमर्श कार्यक्रममा बोल्दै उनले सप्तरी, धनुषा, महोत्तरीलगायतका जिल्लामा पूर्ण सिँचित कार्यक्रम घोषणा भएको जानकारी गराए । समृद्ध तराई मधेश सिंचाई विशेष कार्यक्रमकालागि जनकपुरमा कार्यालय खोल्न लागेको बताउँदै उनले किसानका लागि पूर्ण सिँचाईको व्यवस्था नभएम्म देश समृद्ध बन्न नसकिने बताए ।
देशलाई समृद्ध बनाउने स्रोत भनेको कृषि हो र कृषिका लागि सिंचाई अनिवार्य भएको बताउँदै मन्त्री यादवले भने ‘कृषि मन्त्रालयले २७ बुँदे प्रतिवद्धतापत्र जारी गरेको छ त्यसलाई सफल पार्नका लागि पनि सिँचाई आवश्यक छ ।’ तराई मधेश वर्षेपिच्छे बाढीबाट आक्रान्त हुने गरेकोले यसलाई नियन्त्रण गर्नका लागि विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरीका सदरमुकाम बचाउ अभियान अन्तर्गत नदी नियन्त्रणका लागि तीन करोड रुपियाँ विनियोजन गरेको पनि उनले बताए । उनले सप्तरीका खडग तथा महुली नदी नियन्त्रणकालागि चार करोड पनि छुट्याइएको बताए । नेपालमै सबभन्दा पहिले सप्तरीबाट सिंचाई शुरु भएको हो तर अहिले आएर त्यसको यस्तो अवस्था भएको छ कि सोच्न बाध्य बनाएको छ, उनले भने, सप्तरीलाई विभिन्न कोणबाट हेपेको छ, अब सप्तरीवासी मिलेर सप्तरीलाई नमूना बनाउनुपर्छ ।’
च्तरा व्यारेज निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले सो व्यारेज बनाउनका लागि कुनै कानूनी उल्झन नरहेको बताए । इच्छा शक्ति भयो भने चत्रा व्यारेज पनि निर्माण गर्न सकिने उहाँले विश्वास व्यक्त गरे । सप्तरीका लागि दुईसय ५५ स्यालो ट्युवेल र एक डिप बोर्डिगको व्यवस्था सप्तरी जिल्लाका लागि भएको र अर्को आर्थिक वर्षदेखि अझै थपिने बताए ।
कार्यक्रममा सप्तरीका नागरिक समाजका अगुवा, बुद्धिजिवी तथा पत्रकारहरुले मन्त्री यादवलाई सिँचाइमा गर्न लागेको कामको प्रशंसा गर्नुभयो । यसअघि पनि सप्तरीबाट थुप्रै मन्त्रीहरु बने तर यसरी सिँचाईका लागि गम्भीर भएर काममा नलागेको भन्दै मन्त्री यादवले बताए ।
वरिष्ठ पत्रकार शिवहरि भट्टराईले सप्तरीमा खद्यान्नको अभाव बढ्दै गएको छ त्यसको आपूर्तिका लागि कृषि तथा सिँचाईमा दीर्घकालिन तथा तत्कालिन नीति ल्याउनु पर्ने सुझाव दिए । सप्तरी जिल्ला बार एशोसिएशनका अध्यक्ष कृपानारायण यादवले सप्तरीका समस्या देखाएर मात्र हुँदैन त्यसको समाधान पनि गर्नुपर्ने सुझाव दिए ।
चन्द्रशम्शेर राणाका पालामा बनेको चन्द्रनहरप्रति चिन्ता व्यक्त गर्दै उनले चन्द्रनहरको अवस्था यस्तो हुनुमा सरकार मात्र होइन किसान पनि दोषी रहेको आरोप लगाए । किसानले नहरलाई पुरेर खेत बनाएको आरोप लगाउँदै उनले समयमा सिंचाई प्राप्त गर्नका लागि किसानले पनि आफ्नो बानी सुधार गर्नुपर्ने बताए ।
चन्द्र नहरका उपभोक्ता समितिका अध्यक्ष बद्री महात्मानप्रति पनि आक्रोश व्यक्त गर्दै उनले बताए । करिब २० वर्षदेखि सो समितिका अध्यक्ष रहँदै आएका महात्मानका कारण चन्द्रनहरको दुर्गती भएको टिप्पणी गर्दै उनले महात्मालाई हटाउनु पर्नेमा उनले जोड दिए । कार्यक्रममा डा. पिताम्बर यादव, जीवछ यादव, शैलेन्द्र चौधरी, पञ्चदेव यादव, आभासेतु सिह, विजयानन्द झा, मोहम्मद हासिम अन्सारी लगायतले आ–आफ्नो धारणा राखे । DSC09959