राजविराज, २ फागुन । विद्युत महशुल बुझाउनकालागि म्याद थप गर्न सेवाग्राहीहरुले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रसँग माग गरेका छन् ।
निरन्तरतको बन्द हड्ताल पश्चात प्राधिकरणले बन्द अवधीदेखि हालसम्मको महशुलमा फागुन ५ गतेसम्मकालागि मात्र छुट दिँदैआएका छन् । विद्युत महशुलमा फागनु ५ गतेसम्म मात्र छुट दिने भएपछि विहानैदेखि ग्राहकहरुको भींड लाग्ने गरेको छ । बिहान ८.३० बजेदेखि नै महशुल बुझ्न थालेपछि सर्वसाधारण जनता विहान ६ बजेदेखि नै लाइनमा उभिने गरेका छन्् । प्राधिकरणले काउण्टर नथपेका कारण अत्यधिक भींडका कारण सर्वसाधारण जनतालाई महशुल बुझाउन समस्या हुने गरेको मलेकपुर–२ का जगरनाथ साहले गुनासो गरे ।
उनका अनुसार महिला र पुरुषको दुई ओटा लाइन राखिएको जानकारी दिँदै लामो लाइनका कारण सर्वसाधारण जनताले सास्ती व्यहोर्नुपरेको छ । फागुन ५ गतेसम्मका लागि मात्र प्राधिकरणले छुट दिने भएकोले छुट पाउनकालागि ग्राहकहरुले सास्ती झेल्नुपर्ने बाध्यता रहेकोले कम्तिमा एक साताको म्याद थप्नुपर्ने उनको भनाई छ । उनले भने ‘बिहानै आएका व्यक्ति अबेर रातीसम्म लाइन लागेका हुन्छन् तर महशुल नबुझाईनै फर्किनुपरेको छ, त्यसैले कमसेकम एक साता म्याद थप्नु जरुरी छ ।’ 
यता सर्वसाधारण जनताले सास्ती खेप्न नसकेपछि आइतवार विद्युत महशुल बुझाउने म्याद थप्नकालागि पहल गरिदिन माग गर्दै मातृका यादव, शंकर प्रसाद सिंहलगायतले प्रमुख जिल्ला अधिकारी नारायण भट्ट समक्ष निवेदन दिएका छन् । प्रजिअ भट्टले सर्वसाधारण जनताको मागलाई गम्भीरतापूर्वक लिएको भन्दै पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यता विद्युत प्राधिकरणका प्रमुख रामउदगार साहले बन्द समय अवधी भरीको विद्युत महसुलमा लाग्ने जरिवाना छुट गर्ने व्यवस्था मिलाएकोमा अत्यधिक भींड रहेको स्वीकार गरे । माघ २८ गतेदेखी ७ दिनसम्म बन्द अवधीको ६ महिना विद्युत महसुलमा छुट दिने निर्णय तथा ८ औं दिनदेखी २२ दिनसम्म जरिवाना नलिने व्यवस्था मिलाएको जानकारी दिँदै उनले भने ‘समय थप गर्न ग्राहकहको व्यापक आग्रह छ तर हामीले यहाँबाट गरेर मिल्दैन, ग्राहकहरुको पीरमर्काको विषयमा माथिल्लो निकायमा पहल गर्नेछु ।’
विद्युत प्राधिकरण राजविराज वितरण शाखाले बिहान ८ः३० बजेदेखी बेलुका ५ बजेसम्म महसुल बुझ्ने व्यवस्था मिलाएको छ ।