• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

माग अनुसार मूर्ती दिन नसक्दा मूर्तीकारहरु चिन्तित

माग अनुसार मूर्ती दिन नसक्दा मूर्तीकारहरु चिन्तित

राजविराज, २९ माघ । गत विगतका वर्षहरुभन्दा यो वर्ष सरस्वतीको मूर्ती माग अनुसार  आपूर्ति दिन नसकेकोमा मूर्तीकारहरु चिन्तित भएका छन् ।
निरन्तरको बन्द हडतालले गर्दा मूर्ती कम संख्यामा मात्र बनाएका कारण ग्राहकहरुको माग अनुसार मूर्ती तयार गरेर दिन नसकिएको हो । विगत ६ महिनादेखिको लामो बन्दका कारण मूर्ती बिक्री हुन्छ कि हुँदैन ? भन्ने चिन्ताले गर्दा यस वर्ष कमै मात्र संख्यामा माटाको मूर्ती बनाएको तोपाका मूर्तीका कुशेश्वर मण्डलले बताए । गत–विगतका वर्षहरुमा करिब सय ओटासम्म सरस्वतीको मूर्ती बनाउने गरिएकोमा यो वर्ष भने राजविराजमा ६५ ओटा मात्र बनाएको बताउँदै उनले भने ‘बन्द हडतालले गर्दा चिन्ता लागिरहेको थियो मूर्ती बिक्री हुन्छ कि हुँदैन, त्यसैले यसपाली कमै मात्र बनाए ।’c
सरस्वती पूजाको पाँच दिन अगाडि मात्र बन्द खुलेकोले जनजीवन सहज भएका कारण मूर्ती बिक्रीमा कुनै समस्या नभएको उनले बताए । आफूले बनाएका ६५ ओटै मूर्ती शुक्रवार साँझसम्ममा बिक्री भईसकेको बताउँदै उनले भने ‘केही दिन अगाडि बन्द हडताल खुलेको भए अझैं मूर्ती बनाउने थिएँ तर अहिले माग अनुसार मूर्ती नै तयार गर्न सकिएन ।’ माटाको मूर्ती तयार गर्न कम्तिमा १५ दिन लाग्ने भएकोले चाहेर पनि मूर्ती बनाउन नसकिएको मूर्तीकार मण्डलले बताए ।
यस्तै भनाई रहेको छ सप्तरीको गोरगामा–७ का अर्का मूर्तीकार रामकुमार मुखियाको पनि । बढी संख्यामा मूर्ती बनाउन नपाएकोमा उनलाई यतिबेला पछुतो लागिरको छ । ग्राहकहरु महँगोमा पनि मूर्ती किन्न तयार रहेको जानकारी दिँदै उनले भने ‘जति मूर्ती बनाएँ, दुई अगाडि नै बिक्री भईसक्यो, समय अभावले थप मूर्ती बनाउन सकिएन ।b
सप्तरीसहित मधेशका जिल्लाहरुमा सरस्वती पूजामा माटाको मूर्तिको अनिवार्यता रहेको छ । विद्याकी देवी सरस्वतीको पूजा–आजा शिक्षण संस्था, प्रतिष्ठानका साथै गाउँगाउँमा विद्यार्थीहरुले विशेष महत्वकासाथ मनाउने गर्छन् । मूर्तीकलाकालागि सप्तरी जिल्ला महत्वपूर्ण मानिएको छ । यहाँ बङ्गालबाट कालिगडहरु आएर विभिन्न उत्सवहरुमा मूर्ती बनाउने गरिएका कारण मूर्तीकारहरुमा बङ्गाली कलाकारहरुको प्रभाव रहेको बुद्धिजीवीहरुको भनाई छ ।

तस्विरः शंकर यादव,न्यूज टुडे