• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
ईमान्दार नेता कोइरालाको रिक्तता

नेपालका पूर्व प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइरालाको मंगलबार बिहानीपख निधन भएको छ । उनले निधनसँगै मुलुकले एक परिपक्व नेता गुमाउनु परेको छ । प्रजातन्त्रका लागि राणाकालदेखि आन्दोलन र अगुवाई गरेको नेपाली काँग्रेसको नेतृत्व सम्हालेको अवस्थामै कोइरालाको निधन भएको छ । पार्टीको महाधिवेशनकै क्रममा भएको यस दुःखद घटनाले नेपाली काँग्रेसलाई नै सबैभन्दा ठूलो क्षति भएको छ ।
कोइराला काँग्रेसको मियोका रुपमा रहँदारहँदै उनले नश्वर शरीर ढलेको हो । आगामी महाधिवेशनमा उमेरका कारण अब कोइरालाले नेतृत्वकालागि उम्मेदवार हुन नहुने एक पक्षले पार्टीभित्र उठाउँदै आएको तर्कको खण्डन गर्दै उनले ‘ओल्ड इज गोल्ड’ भन्दै आफू उम्मेवार बनेर अझै केही वर्ष राजनीतिमा सक्रिय रहने मनशाय प्रकट गरेका थिए । तर, दैवको लेखा ⁄ मानिसले सोचेजस्तो सवै कुरा सधै अनुकूल हुँदो रहेनछ ।
उनले क्यान्सरलाई त जिते तर मृत्युलाई जित्न सकेनन् । मानव शरीर नश्वर छ, एक न एक दिन यसको अन्त्य निश्चित छ । भौतिक रुपले अब नेता कोइराला पनि हाम्रा बीच रहेनन् । उनको सादगीपूर्ण जीवनशैली, मृदुभाषी स्वभाव र आफ्ना सहकर्मीबीच खुलस्त कुरा राख्ने प्रवृत्ति स्मरणीय छ ।
लोकतन्त्रका लागि कहिल्यै पनि कसैसित सम्झौता नगर्ने र पार्टीमा निष्ठावान तवरले नेतृत्व दिने एक इमान्दार व्यक्तित्व थिए नेता कोइराला । उनले देखाएको इमान्दारीता, निष्ठा र त्यागको अनुशरण गर्न सक्नु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । पार्टीलाई एकताबद्ध गरी मुलुकमा जारी संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकता, विकास र शान्तिलाई सँगै लिएर अघि बढ्ने जिम्मेवारी अब कोइरालाका सहयात्री नेताहरुको काँधमा आइपुगेको छ ।
पार्टीगत घेरा भन्दा माथि उठ्दै मुलुक र जनताको पक्षमा काम गरेर देखाउन सक्नु नै कोइरालाको रिक्तताबाट लिनुपर्ने सत्प्रेरणा हो । नयाँ संविधानमा सम्पूर्ण नेपालीको भावना मुखरित गर्नु, संविधानको सफल कार्यान्वयन गराउने गुरुत्तर जिम्मेवारी बहनको काममा अग्रसरता लिँदै राष्ट्र निर्माणमा लाग्नुपर्ने आजको परम आवश्यक्ता हो । कोइरालाको रिक्तताबाट शोकलाई शक्तिमा बदल्नु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।