पहिचान र पहुँचको लडाइँ

पहिचान र पहुँचको लडाइँ
Nava Jyoti Saving & Credit Co-Operative Ltd.

मधेसी जनताको लडाइँको मुख्य मुद्दा अस्तित्व र पहिचानको हो । वास्तवमा मधेसी जनताले राज्यसत्तामा आफ्नो पहिचान र प्रतिनिधित्वको सुनिश्चितता चाहेका हुन् । त्यसैगरी मधेसमा रहेको वर्णाश्रम व्यवस्थाले पैदा गरेको जातीय अन्तरविरोध पनि त्यहाँको एउटा मुख्य समस्याको रूपमा रहेको छ । त्यसका अतिरिक्त मधेसी जनताले मधेसमा रहेको वर्गीय अन्तरविरोधको हल पनि खोजेका छन् । अर्थात् मधेसमा रहेका शोषक र शोषितबीचको अन्तरविरोध अर्को मुख्य समस्या हो । यिनले समाजका अन्य क्षेत्रलाई प्रभावित गरेको छ ।
काठमाडौंले मधेसलाई अहिलेसम्म उपयोग नै गरेको छ । मधेसको साधन–स्रोतलाई उपयोग गरेर काठमाडौंले आफैंमा केन्द्रीकरण गर्‍यो । तर, मधेसलाई त्यसबापत प्रतिफल दिन चाहेन । त्यसैले मधेसमा आज हिमाल र पहाडभन्दा बढी गरिबी छ, आवेश र आक्रोश ज्यादा छ । त्यसैगरी दिल्लीका शासकले मधेसलाई हतियार बनाउनेबाहेक कुनै काम गरेका छैनन् । लगानीकै कुरा गर्ने हो भने त्यहाँका शासकले मधेसभन्दा बढी पहाडमै लगानी गरेका छन् । दिल्लीले दिने छात्रवृत्ति मात्रै हेर्ने हो भने पहाडियालाई नै बढी दिइएको छ । मधेसमा जाँदा पनि त्यहाँका तागाधारीलाई ज्यादा दिइएको छ । वर्गीय कोणबाट हेर्दा काठमाडौंको शासक वर्गको चरित्र र दिल्लीका शासक वर्गको चरित्र फरक छैन । यो कोणबाट विश्लेषण गर्दा मधेसमा वर्गीय अन्तरविरोध मुख्य भएर आउँछ ।

यसरी आयो परिवर्तन
 मधेसमा परिवर्तन भएकै छैन भन्ने होइन । मधेसमा पछिल्लो समय जुन राजनीतिक चेतना आएको छ, त्यो मूलत: जनयुद्धको जगमा भएको हो । त्यसका केही ठोस आधार छन् । आजको विद्रोहात्मक स्थिति ०६२/०६३ अघि किन हुन सकेको थिएन जबकि मधेसमा पहिले तराई कंग्रेस पनि जन्मिएकै हो, सद्भावना परिषद्देखि सद्भावना पार्टी जन्मिएकै हुन् । जनयुद्धको क्रममा हामीले ग्रामीण इलाकामा सामन्त र जमिनदारका नसा काटिदियौँ । त्यसका कैयौँ नेतृत्वलाई विस्थापित गरिदियौँ । सर्वहारावर्गीय नेतृत्वमा ती मुद्दा स्थापित भए । अन्तत: मधेसमा यो जागरण आयो ।
 अहिले पनि मधेसमा उत्पीडित समुदायको नेतृत्वमा मधेसी जनताले मुक्ति नपाऊन् भन्ने हिसाबले देशभित्र र देशबाहिरका सामन्त, नोकरशाह, जमिनदार र दलाल एकजुट भएर लागिपरेका छन् । तिनको रूपमा फरक–फरक भए पनि अन्तत: तिनीहरू एकैठाउँ पुग्छन् । त्यसैकारण अहिले आन्दोलनरत मधेसी मोर्चाले (प्रधानमन्त्री निर्वाचनमा) नेपाली कांग्रेसलाई नै भोट दियो । तिनीहरू कसरी मिल्दा रहेछन् भन्ने यो पछिल्लो र उत्तम उदाहरण हो ।

आवश्यक छ सर्वहाराको नेतृत्व
मधेसी जनतामाथिको उत्पीडन हल गर्ने हो भने आन्तरिक राष्ट्रिय उत्पीडनलाई हल गर्नैपर्छ । यो माओवादीले धेरैअघि सारेको विचार हो । यसरी हल गर्दा उत्पीडनमा परेका आन्तरिक राष्ट्रियताहरूलाई क्षतिपूर्तिसहितको विशेषाधिकार वा अग्राधिकार कायम गर्नैपर्छ । यो अनन्त कालसम्मलाई गर्नुपर्छ भन्ने होइन, केही समयका लागि मात्र हो । त्यसका लागि राज्यसत्ताका हरेक अंगमा पहिचान र प्रतिनिधित्वको ग्यारेन्टी गर्नैपर्छ । त्यसरी गर्दा मधेसी जनतामा रहेको आशंका पनि मेटिन्छ ।
तर, यसो गर्दा त्यहाँको सर्वहारा वर्गीय नेतृत्वलाई नै स्थापित गर्नुपर्छ । यो सामन्त, जमिनदार, दलाल नोकरशाही वर्गको नेतृत्वमा हुँदैन । तिनले त राणा शासकको मतियार बनेर राणा शासकलाई ज्वाइँजस्तै पाले । तिनले एक देश एक भेषको नारा लिएर आएको राजतन्त्रलाई काँधमा बोके, जसले अन्तत: मधेसकै भाषा र भेष खाइदियो । मधेसी जनतालाई सबैभन्दा कंगाल बनाउने संसदीय व्यवस्थाका मतियारलाई तिनले टाउकोमा राखे । संसदीय व्यवस्थाले त पञ्चायतले पनि हेप्न नसकेको हदसम्म हेपेको थियो मधेसी जनतालाई । कतिपय सन्दर्भमा खासगरी विकास, पहुँच र प्रतिनिधित्वको कोणबाट राणा शासनको झल्को दिन्छ, संसदीय व्यवस्थाले ।
ती नसालाई काटेर जनयुद्ध र त्यसको जगमा भएका आन्दोलनले यो स्थितिसम्म ल्याइपुर्‍यायो । मधेसी जनताको वास्तविक मुक्तिलाई सुनिश्चित गर्न मधेसभित्र रहेको वर्गीय अन्तरविरोधलाई हल गर्नैपर्छ । त्यसरी हल गर्दा त्यहाँका सामन्त, दलाल र नोकरशाह वर्ग र तिनका संरक्षकविरुद्ध निर्णायक लडाइँ हुनैपर्छ । यसमा निर्णायक विजय प्राप्त गर्न त्यहाँभित्र रहेको वर्णाश्रम व्यवस्था, जातीय अन्तरविरोधलाई सर्वहारा वर्गीय दृष्टिकोणबाट हल गर्नैपर्छ । किनभने, हरेक जातभित्र दलाल एवम् नोकरशाही पुँजीपति वर्गका प्रतिनिधि हुन्छन् । तिनीहरूको जात फरक भए पनि, फरक भूगोलमा जन्मेको भए पनि अन्तिममा तिनको राजनीतिक जात एउटै हुँदो रहेछ ।

साधन–स्रोतको न्यायोचित उपयोग
पहिचान र प्रतिनिधित्वका अतिरिक्त विद्यमान गरिबीलगायत समस्या हल गर्न मधेसमा रहेका प्राकृतिक साधन–स्रोतको न्यायपूर्ण र समुचित उपयोग गरिनुपर्छ । हामीसँग उर्वर भूमि, जल र जंगल छ । पर्याप्त जनशक्ति पनि छ । हामीले यी सबको वैज्ञानिक विधिद्वारा उपयोग गर्नुपर्छ । यसमार्फत हामीले स्वाधीन अर्थतन्त्र निर्माण गर्न जोड गर्नुपर्छ । स्वाधीन अर्थतन्त्रको निर्माण तब मात्र हुनसक्छ, जब त्यहाँ सर्वहारा वर्गको नेतृत्व सुदृढ हुन्छ ।
मधेस सामान्य ठाउँमा छैन । रणनीतिक महत्त्वका दृष्टिकोणले मधेस आजको दक्षिण एसियाकै सबैभन्दा महत्त्वपूर्ण भूमि बन्न पुगेको छ । मधेस नेपालको राजनीतिलाई असाध्यै प्रभाव पार्नसक्ने स्थानमा पुगेको छ । मधेसको भूराजनीतिक महत्त्व दिनदिनै बढिरहेको छ । यो रणनीतिक महत्त्वलाई आमउत्पीडित समुदायको हितमा उपयोग गर्नुपर्छ ।

जायज मुद्दाभित्र नाजायज उद्देश्य
आज मधेसमा जायज मुद्दाको ‘कभर’मा नाजायज मुद्दाको ‘फायर’ पनि खोलिएको छ । ती नाजाय फायर खोल्ने र संस्थागत गर्ने काम त्यही सामन्त, दलाल, नोकरशाही वर्गले गरिरहेको छ । त्यो वर्गको संरक्षक देशभित्र र बाहिरका शक्ति एकजुट छन्, भलै तिनीहरू फरक–फरक नाम र रूपमा छन् । तिनीहरूको मुख्य उद्देश्य यहाँको सर्वहारावर्गीय मुक्ति आन्दोलन कमजोर बनाउनु हो, सिध्याउनु हो । र, क्रान्तिकारी कम्युनिस्टलाई सिध्याउने सजिलो उपाय हो, अतिवाद जन्माइदिनु, अन्धजातिवादको बिउ रोपिदिनु । अर्थात् पहाडमा पहाडी अतिवाद र मधेसमा मधेस अतिवाद जन्माइदिएर वर्गीय आन्दोलन सखाप पार्नु हो ।
नेपालका क्रान्तिकारी शक्तिको नेतृत्वमा भएको १० वर्षको सशस्त्र र १० वर्षको शान्तिपूर्ण संघर्षपछि देश समाजवादको संघारमा आइपुगेको छ । त्यसलाई रोक्न पनि पहाड र मधेस दुवैतिर अतिवाद जन्माउन खोजिएको छ, स्थापित गर्न खोजिएको छ । मधेसको पूर्ण मुक्तिका लागि देशलाई नै पूर्ण स्वाधीन बनाउनुपर्छ । अन्यथा, मधेस पूर्ण मुक्त हुन सक्दैन । मधेसी जनताको मुक्ति आन्दोलन पहाडी जनताको मुक्ति आन्दोलनसँग पनि जोडिएको छ । अर्थात् मधेसी र पहाडी जनताको मुक्ति एकसाथ हुन्छ ।

विखण्डन चाहन्न मधेस
नेपालको स्थापना र संरक्षणमा मधेसका जनताको ठूलो भूमिका छ । काठमाडौंमा आजसम्म पनि मैथिली साहित्ययुक्त पौवापाटी छन् । किराँत वंशलाई छोड्ने हो भने अधिकांशत: दक्षिणबाट आएकाहरू नै मूल शासक बनेका छन् । नेपाल भन्ने देश जन्माउन र बनाउन मधेसी जनताको रगत–पसिना बगेको छ । नेपालका राजनीतिक घटनाक्रमलाई अगाडि बढाउन मधेसी जनताले त्याग, बलिदान र लगानी गरेका छन् ।
यो सत्यलाई बुझ्न नसक्नेहरू विखण्डनको कुरा गरिरहेका छन् । तर, तिनका सात पुस्ता आए पनि मधेसलाई विखण्डन गर्न सक्नेछैनन् । मधेसी जनता बिल्कुल विखण्डन चाहँदैनन् । आवेग र आक्रोशमा कसैले बोल्दैमा मधेसी जनता तिनको पछि लाग्दैनन् ।
विखण्डनवादी प्रवृत्ति मधेसमा टिक्न सक्दैनन् । विगतमा यो देखिएको छ । तराई जनतान्त्रिकको गोइतलगायतले विखण्डन गर्छु भनेर हतियार उठाएका थिए । अहिले गोइतसँग उनकी श्रीमती पनि छैनन् । हिजो गोइतलाई जस्तै अहिले राउतलाई अनावश्यक रूपमा हिरो बनाउने काम भइरहेको छ । मधेस विखण्डनको पक्षमा कदापि थिएन । मधेस बरु आफू कंगाल भयो, विखण्डनतिर सोच्दै सोचेन । मधेसी बरु आफू सिद्धिए, विखण्डनकारी भएनन् । मधेसीले बरु अपमानका शब्दवाण खाइरहेका छन्, तर तिनीहरूले कहिल्यै छुट्टिएर जाने सोचेनन् ।
केही दृष्टान्त हेरौँ, विगतका मधेसमा मानिस विस्थापित भए । तिनीहरू कहाँ गएका छन् ? तिनीहरू पटना गएका छैनन्, दरभंगा गएका छैनन्, दिल्ली गएका छैनन् । ती बसाइँ सरेका छन्, आफ्नै देशभित्रको कुनै अर्को स्थानमा । सप्तरीको गाउँको मानिस राजबिराज गएको हुन सक्छ, अलि पर लाहान, अझ पर जनकपुर गएको हुन सक्छ । धेरै पर गए काठमाडौं पुगेको हुन सक्छ ।
अहिले मधेसका लाखौँ युवा खाडीमा छन्, मलेसियामा छन् । ती ऋण काढेर विदेश जान्छन्, अलिअलि कमाउँछन् । तिनीहरू देशबाहिर जग्गा–जमिन किन्दैनन् । देशभित्रै जग्गा किन्छन्, पक्की घर बनाउँछन् । मर्न परे आफ्नै देशमा मर्छु भन्छन् । केही दलालहरूको उदाहरण दिएर मधेसी जनतामाथि विखण्डनको आरोप लगाउनु मधेसी जनताको देशभक्तिमाथि गम्भीर अपमान हो ।
यादव सिँचाइमन्त्री हुन् । साभारः नयाँ पत्रिकाबाट

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *