वीरगंज, १६ माघ । शहीद दिवसको अवसरमा शनिवार नेपाली कांग्रेस नगर कार्य समिति वीरगञ्जले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
समितिद्वारा नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा रहेको थिरबम मल्लको सालिकमा माल्यार्पण गरी श्रद्धान्जली अर्पण गरिएको हो । नगर सभापति महम्मद सहाबुद्दिनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति एवम सांसदद्वय सुरेन्द्र चौधरी, राजेन्द्रबहादुर अमात्य, पुर्व सांसद अजय द्विवेदी, रामेश्वर रौनियार, महिला नेतृ शान्ति कार्की, रुपा श्रेष्ठ महासमिति सदस्य ध्रुव नेपाल, श्याम पोखरेल, रामनारायण कुर्मी, नगर सचिव सन्तोष सिंहलगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा नेपाली कांग्रेसद्वारा नारायणी उपक्षेत्रिय अस्पतालमा उपचारार्थ विरामीहरुलाई फलफुल र अस्पताललाई ईमरजेन्सी कक्षमा प्रयोग हुने नेबुलाईजर मेसिन समेत हस्तान्तरण गरियो ।
यसैगरि शहिद दिवसको अवसरमा नगर समितिले नेपाली कांग्रेसको झण्डासहित मोटरसाइकल रयालीको आयोजना गरेको छ । समितिले आयोजना गरेको मोटरसाईकल रयालीले नगर परिक्रमा गरि गण्डक चौकमा पुगेर शहीद तेजबहादुर अमात्यको सालिकमा समेत माल्यार्पण गरेको छ ।
समितिले सो अवसरमा वीरगञ्ज १७ का रहमुल्लाह अन्सारी र रामअयोध्या पटेललाई सम्मानित गरेको छ । कार्यक्रममा शहीद अमात्यका सुपुत्र सांसद राजेन्द्र बहादुर अमात्य, क्ष्ँेत्रिय सभापति विरेन्द्र पटेललगायतकाले शहीदहरुप्रति सम्मान व्यक्त गर्दै शहीदहरुको योगदानका बारेमा चर्चा गरे । कार्यक्रममा अशोक जयसवाल, रामनारायण कुर्मी, शान्ति कार्की, रुपा श्रेष्ठ, प्रकाश उपाध्याय, भवानी घिमिरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नगर सचिव सन्तोष सिंहले गरेका थिए ।