बिराटनगर, १५ माघ । जोगबनी नाका अवरोधका क्रममा प्रहरीको कुटाईबाट घाइते भएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो बांयाँ आँखको ज्योति गुमाएका छन् ।
प्रहरीको कुटाईबाट टाउकोमा गम्भीर चोट लागेका महतोलाई हाईपर टेन्सन अट्याकपछि बाँया आँखाको रेटिनाको नसा फाटेको र उनको आँखाको दृष्टि गुमेको हो । ब्लड सुगर र रक्तचाप अत्यधिक बढेपछि त्यसको असरले महतोले बाँया आँखाको दृष्टि गुमाएका छन् ।
महतोको आँखाको उपचारमा संलग्न विराटनगर आँखा अस्पतालका डा. सञ्जयकुमार सिंहले उनको बायाँ आँखाको रेटिनाको नसा फाटेको र रगत जमेकोले गर्दा भिजिबिलीटी जिरो भएको छ । ‘ब्लडप्रेसर अत्यधिक बढेपछि हाइपरटेन्सन अट्याकका कारण आँखामा यो समस्या भएको हो,’ डा. सिंहले भने ।
विराटनगरस्थित रानी नाकामा धर्ना बस्ने क्रममा प्रहरीको कुटाईवाट घाइते भएका महतोको सुगर र ब्लडप्रेसर नियन्त्रण नभएपछि उनी उपचारका लागि नयाँ दिल्ली गएका थिए । लामो समयसम्म नयाँ दिल्ली स्थित मेदान्ता अस्पतालवाट उपचार गराई फर्केका महतो माघ ६ गते सिरहाको लहानमा फेरि अस्वस्थ्य भएका थिए ।
उच्च रक्तचापका कारण लहानमा अस्वस्थ्य भएका महतो रंगेली घटनाका घाइतेलाई भेट्न धरान पुग्दा एउटा आँखाको दृष्टिमा कडा समस्या भएको थाहा पाएका थिए । महतो रंगेली घटनाका मृतकका परिवारलाई भेट्न गएका बेला बाँया आँखाले हेर्न नसकेको समस्या भएपछि उनी विराटनगर आँखा अस्पतालमा जँचाएका थिए ।
विराटनगर आँखा अस्पतालका बरिष्ठ बिशेषज्ञ सिंहको निगरानीमा महतोको आँखाको परीक्षण गरिएको छ । डा. सिंहले भने, ‘अब पहिले जस्तै त स्पष्ट देख्न सक्नु हुन्न, तर अपरेशन पछि अहिले भन्दा अलि ठीक हुन सक्ने सम्भावना छ, अहिले औषधि दिइएको छ, सुधार भए ठिकै छ नभए अप्रेसन गर्नुपर्ने स्थिति आउँछ ।’ बाँया आँखाको रेटिनाको नसा फाटेर रेटिना वरिपरि रगत जम्मा भई भिजिविलिटी शून्य भएको अवस्था छ ।
दिल्लीवाट काठमाडौं हुँदै बलिदानी दिवस कार्यक्रममा सहभागी हुन सिरहाको लहान आएका बेला माघ ६ गते विरामी परेका महतोलगतै रंगेली घटना भएपछि चारदिन विराटनगर बसेका थिए । रक्तचाप र सुगर नियन्त्रणमा नआएपछि तीनदिन यता सुनसरीको धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान संस्थानका चिकित्सकको निगरानीमा उनले उपचार गराएका छन् ।
‘मेदान्तामा मुल रुपमा टाउकोको चोटको उपचार मात्र भएको थियो । ब्लडप्रेसर र सुगर बढ्ने क्रमले फेरि समस्या भएपछि धरानमा तीनदिन चिकित्सकको निगरानीमा उपचारसँगै आराम गरिरहेको नेता महतोको निजी सचिवालयले जनाएको छ । महतो ३ दिन यता धरानमा चिकित्सको निगरानीमा उपचार गराइरहेको र शुक्रवार साँझ धरानवाट सर्लाही जाने कार्यक्रम रहेको छ ।