• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रामेछाप दुर्घटना मृत्यु भएको असईको शव घर ल्याइयो: प्रहरीको सलामीपछि अन्त्यष्टी

रामेछाप दुर्घटना मृत्यु भएको असईको शव घर ल्याइयो: प्रहरीको सलामीपछि अन्त्यष्टी
नर्मदेव यादव
रुपनी,१९ फागुन । 

रामेछाप सवारी दुर्घटनामा ज्यान गुमाएको नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक  परशुराम यादवको शव घर ल्याइएको छ ।  सप्तरीको रुपनी गाउँपालिका १ नकटी रायपुर घर भएका  असई यादवको शव मंगलबार घर ल्याइएको हो । 

स्वर्गीय यादवलाई सलामी दिदै अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै नेपाल प्रहरीको टोली । फोटो : न्यूज टुडे
नेपाल प्रहरीले सलामी दिएपछि असई यादवको पार्थिव शरीरमा प्रहरीको झण्डा ओढाएर नेपाल प्रहरीले अन्तिम सलामीसहित श्रद्धाञ्जली दिएपछि हिन्दु परम्परा अनुसार मंगलबार साँझ अन्त्यष्टी गरिएको थियो । 
मधेश प्रदेश प्रहरी अस्पताल  रुपनीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारी नेतृत्वमा खटिएका   नेपाल प्रहरीको टोलीले झण्डा ओढाएर मल्यार्पण गरि सलामी अर्पण गरे।  उक्त अवसरमा नेपाल प्रहरीका टोलीले श्रद्धाञ्जली अर्पण गर्दै उनको घर परिवारप्रति शोक व्यक्त गर्दै सम्वेदना प्रकट गरेको थियो । 
स्वर्गीय असई यादवको पार्थिव शरीरमा रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, युवा नेता गजेन्द्र यादव, जसपा नेपाल रुपनी गाउँपालिका अध्यक्ष बलराम यादव, युवा नेता चन्द्र नारायण यादव, समाजसेवी भागवत यादव, तेज नारायण यादव, श्याम प्रसाद यादव, बिरेन्द्र यादव, राजेन्द्र प्रसाद यादव, इलाका प्रहरी कार्यलयका प्रमुख  प्रहरी नायब निरीक्षक गंगा चौधरीले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
अन्तिम श्रद्धाञ्जली पछि रुपनी बजारमा शव परिक्रमा पश्चात् खाडो नदिमा अन्त्यष्टी गरिएको स्थानीयले बताएका छन् । स्वर्गीय यादवको पार्थिव शरीरमा उनको जेठो छोरा १२ बर्षिय सुरज यादवले दागबत्ती दिएका थिए ।
असई यादवको रामेछाप जिल्लाका रामेछाप गाउँपालिका २ स्थित मतदान स्थलमा जाने क्रममा सोमबार सवारी दुर्घटना हुँदा मृत्यु भएको थियो ।