• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सम्पादकीय

चुनावी एजेण्डामै सिमित राजविराज विमानस्थल

चुनावी एजेण्डामै सिमित राजविराज विमानस्थल

सञ्चालनमा नरहेका राजविराज लगायत १७ वटा विमान स्थललाई तीन महिना भित्र चलाउन संसदको अन्तराष्ट्रिय सम्बद्ध तथा श्रम समितिले सरकारलाई निर्देशन दिएको छ । भौतिक पूर्वाधार भएका र स्तरोन्नतिमा रहेका विमानस्थललाई सञ्चालन गर्न सम्बन्धित क्षेत्रका सांसदहरुले माग राखेपछि बिहीबार समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । समितिले राजविराज लगायत विमानस्थल किन सञ्चालन नगरेको भनी चासो व्यक्त गरेको थियो । देशभरिका ५६ मध्ये १८ विमानस्थल हाल सञ्चालनमा नरहेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
राजविराजलगायत १५ वटा विमानस्थल भने पूर्वाधार रहेर पनि बन्द अवस्थामा छन् । २०१६ सालमै यातायातमन्त्री गणेशमानसिंहले उद्घाटन गरेको राजविराज विमानस्थल वर्षौदेखि बन्द रहँदै आएको छ । पञ्चायतकालमा राजधानीदेखि खोटाङसम्म हवाई सेवा सञ्चालन हुने गरेको यो विमानस्थल अन्तराष्ट्रिय स्तरको बनाउन समेत उपयुक्त रहेको कुरा बताइँदै आइको थियो ।
विमानस्थलको माटो विमान अवतरण र उडानकालागि उपयुक्त रहेको कुरा प्राविधिकहरुले बताएको भएपनि यसलाई अहिलेसम्म उपेक्षाकै शिकार बनाउने काम हुँदै आएको छ । ढिलो भएपनि संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले यसबारे चासो देखाएको छ । पुरानो शहर राजविराज यातायात, उद्योेग धन्दा, कलकारखाना, बन्द व्यापार लगायत हरेक दृष्टिकोणले पछिडिदै गएका कारण यो दिनानुदिन मृतशहरको यात्रा उन्मुख छ ।
अञ्चलकै सदरमुकाम रहँदा रहँदै पनि यहाँबाट कतिपय सरकारी कार्यालयसमेत अन्यत्र सार्ने काम भएको छ । जिल्लाको विकासकालागि विमानस्थलको नियमित सञ्चालन हुनसके केही नकेही चहलपहलमा बृद्धि हुने निश्चित छ । तर, पनि यस विमानस्थललाई अहिलेसम्म नेताहरुको चुनावी प्रतिवद्धतामा मात्रै सिमित राख्ने काम हुँदै आएको छ ।
कच्ची धावन मार्ग भएका कारण वर्षायाममा विगतमा बन्द रहने गरेको विमानस्थलको स्तरोन्नतीकालागि करिब एक दशक अघि केही रकम लगानी गरिएको भएपनि थप बजेट निकास नहुँदा यति महत्वपूर्ण पूर्वाधार त्यसै खेर गइरहेको हो ।
यो विमानस्थल यात्रु नरहेको बहानामा पटक पटक सेवा बन्द गर्ने षडयन्त्र समेत नभएको होइन । सवै विमानस्थलमा सधै भरि टनाटन यात्रु हुन्छन् नै भनेर कसैले ग्यारेन्टी लिन सक्दैन । अनि सवै यात्रुले विमानको टिकट जतिबेला पनि पाइहाल्छन् भन्ने निश्चित पनि रहँदैन । यात्रुलाई आकर्षण गर्नकालागि त निरन्तर र भरपर्दो सेवा नै पहिलो सर्त हो ।
पञ्चायतकालामा चाही यहाँ यात्रु हुन्थे तर, अचेल चाही हुँदा नभन्दा कसले पत्याउला ? त्यसैले यस्ता बहानाबाजीको पछि नलागी पहिला विमानस्थलको आवश्यक स्तरोन्नतिको कामलाई पूर्णता दिँदै यहाँ बाह्रै महिना सेवा सुचारुको प्रबन्ध मिलाइनु पर्दछ । नाफामुखी सोचमात्र नराखी थोरै भएपनि सेवामुखी भावनाले विमान सञ्चालन गरियो भने राजविराज विमानस्थलमा यात्रु हुँदैनन् भन्ने अवस्था नपाउनेमा विश्वस्त हुने प्रशस्त ठाउँ नरहेको होइन ।