
नयांँ दिल्ली, २४ पुस । उपचारको क्रममा नयांँ दिल्लीमा रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भेट्न दैनिकजसो भारतका विभिन्न दलका नेताहरू, उच्च पदस्थ सरकारी अधिकारीहरू, नेपाल मामिलाका विज्ञहरू आउने गरेका छन् ।
प्रायःजसो भेंटमा सबैले महतोको शीघ्र स्वास्थ लाभको कामना गर्दै आराम गर्न सल्लाह सुझाव दिने गरेका छन् । यद्यपी नेपाल मामिलामा निकै दिलचस्पी राख्ने भारतीय सेनाका पूर्व जेनरल अशोक मेहताको धारणा फरक थियो । नेपालबारे आफ्नो विवादित बयानले जहिले पनि नेपाली र भारतीय मिडियामा खबरमा बनिरहने अशोक मेहताले शीघ्र स्वास्थ लाभको कामना र आराम गर्ने सल्लाह दिएनन् ।
नयांँ दिल्लीको इण्डिया इण्टरनेशनल सेन्टरमा भएको भेंटमा पूर्व जेनरल मेहताले छिट्टो भन्दा छिट्टो मधेशमा गएर आन्दोलनको कमान संम्हाल्न दबाब दिएका छन् । महतोलाई भेट्ने बित्तिकै जेनरल मेहताले सैनिक पारामा कुरा गर्दै महतोलाई भने ‘आप बिलकुल तन्दुरूस्त दिख रहे हो, अब जल्दी से मैदान–ए जंग में जाकर आन्दोलन का कमान संभालिए ।’ (तपाईं स्वस्थ देखिनु भएको छ, अब चांडै गएर आन्दोलनको कमान संम्हाल्नुस) मेहतासँगको भेंटमा यस्तो कुरा सुन्न बित्तिकै राजेन्द्र महतो र उनी संगै बसेका दिल्लीका वरिष्ठ पत्रकार प्रशान्त झा, कान्तिपुरका दिल्ली सम्वाददाता देवेन्द्र भट्टराई र नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डे जिल्ल परेका थिए । उनी सबैको लागि यो आश्चर्यको कुरा थियो । एक छिन सबै गम्भीर भएका थिए ।
जेनरल मेहताले महतोलाई फेरि भने “तपाईं अहिले आन्दोलनमा हुनु हुन्छ। एक करोड मधेशी जनताको विश्वास र आशा तपाईंमाथि छ । तपाईं आराम गर्न तिर लाग्नु भयो भन्ने आन्दोलन शिथिल हुन्छ ।“ जवाफमा महतोले आफ्नो पार्टी र मोर्चाका अन्य साथीहरूले आन्दोलनलाई निरन्तरता दिई रहेको र चांडै आफू पनि मधेशमै गएर आन्दोलनमा सक्रिय हुने प्रतिवद्धता गराए । 
अशोक मेहताले काठमाण्डौंमा भईरहेको निरन्तर वार्ता, कार्यदल गठन, संविधान संशोधन विधेयक र मोर्चाले लिन सक्ने अडानबारे जिज्ञासा राखेका छन् । जवाफमा महतोले वार्ताप्रति सरकार र तीन दल इमानदार नभएको, सहमति नगर्नकै लागि कार्यदल गठन गरिएको र यसले कुनै निकास नदिने बताएका छन् । महतोले तीन दलसँंग यसपाली गलत सम्झौता नगरिने र यदि मोर्चाले कसैको दबाबमा आएर गलत समझौता गरयो भने आफ्नो पार्टीलाई स्वीकार नहुने स्पष्ट पारेका छन् ।
यसैबीच भारतीय जनता पार्टीका नेता विजय जोलीले समेत सद्भावना अध्यक्ष महतोसँग भेंटघाट गरेका छन् । भेंटघाटका क्रममा उनले मधेश आन्दोलनमा आफूहरुको पूर्ण सहमति र समर्थन रहेको बताएका छन् । मधेशमा जारी आन्दोलन विश्वकै ऐतिहासिक आन्दोलन भएको भन्दै नेता महतोलाई धन्यवाद दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अगावै मधेशको माग सम्बोधन भए भ्रमण अझैं फलदायी हुने बताए ।
यसैबीच नेता महतो र भारतीय विदेशमन्त्री सुषमा स्वराज बीच समेत शुक्रवार बेलुकी ५ बजेदेखि भेंटघाट भइरहेको महतोको निजी सचिवालयले जनाएको छ । नयांँ दिल्ली स्थित विदेश मंत्रालयमा जारी भेंटघाटमा भारतीय विदेश सचिव एस जयशंकर र नेपाल डेस्क प्रमुख सह–सचिव अभय ठाकुर सहभागी छन् । भेंटमा जारी मधेश आन्दोलन, नाकाबन्दी, संविधान संशोधन लगायतका विषयहरुमा समेत कुराकानी हुने जनाईएको छ ।



