राजविराज, १६ पुस । मधेश र मधेशी जनताको हक अधिकारकालागि संघर्षरत पार्टीहरुको साझा मोर्चा बनाउनुपर्नेमा जोड दिएका छन् ।
मधेशी मोर्चा सप्तरीले विहिवार आयोजना गरेको वृहत मधेशी गठवन्धन अभियान विषयक वुद्धिजिविहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै वौद्धिक समाज सप्तरीका अध्यक्ष अमरकान्त झाले मधेशवादी दलहरुको मुख्य एजेण्डा मधेशी जनतालाई अधिकारसम्पन्न बनाउने भए पनि छुट्टा–छुट्टै रुपमा प्रस्तुत हुने गरेका कारण विभिन्नखाले टिप्पणी भइरहेकोले साझा मोर्चाको आवश्यकता औंल्याए । समान उदेश्यका लागि जारी आन्दोलनलाई थप सशक्त एवम् निर्णायक बनाउन महागठबन्धन बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्यद्वय जयप्रकाश सिंह, सुरेश कुमार सिंह, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व सभापति धिरेन्द्र साह, अधिकारकर्मी जंगवहादुर सिंह, पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवणदेव,, कानुन ब्यवसायी कृपानारायण यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष रामप्रित यादव, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, वौद्धिक समाजका सचिव अनिल अनल, मधेशी पत्रकार संघका जिल्ला अध्यक्ष श्यामसुन्दर यादव, नेकपा माओवादीका जिल्ला संयोजक जयप्रकाश यादवलगायतले मधेशवादी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए । कार्यक्रम सञ्चालन राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले गरेका थिए ।