राजविराज, १३ पुस । मधेशी मुक्ति जनजागरण अभियान अन्तर्गत मधेशी युवा विद्यार्थी मोर्चा सप्तरीद्वारा राजविराजमा सोमवार साँस्कृतिक कार्यक्रमको आयोजना गरियो ।
मधेशको माग सम्बोधन गर्न सरकारले ढिलाई गरिरहेको भन्दै विरोध स्वरुप गजेन्द्र चौकमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । मधेश क्रान्ति साँस्कृतिक तथा जनजागरण कार्यक्रममा सहभागी हुन जिल्लाका विभिन्न कलेजहरुबाट छात्रा–छात्राहरु सहभागी भएका थिए । विभिन्न गाउँहरुबाट कार्यक्रम हेर्न सर्वसाधारण जनता सदरमुकाम राजविराज आएका थिए ।
कार्यक्रममा वीरेन्द्र झा, कैलाश झा, अञ्जु यादव र केशव चौधरीले मधेश आन्दोलन सम्बन्धि गीत प्रस्तुत गरेका छन् । उनीहरुको गायनमा सहभागी दर्शकहरुले तालीको गडगडाहटले स्वागत गरेका थिए । 
साँस्कृतिक कार्यक्रममा चर्चित कलाकार महेन्द्र मण्डल “वनवारी”, जीवछ दास, पशुपति दास, भुपेन्द्र मण्डल, सञ्जीव यादवलगायतले वर्तमान सरकारको रबैयाप्रति व्यंग्य प्रहार गरे । प्रहरी दमन, ग्याँस, पेट्रोल र डिजेलको तस्करी, सहीद परिवारको पीडालगायतका विषयवस्तुहरुमा लघु नाटक प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शुशिल कोइराला र एनेकपा माओवादीका अध्यक्ष प्रचण्डको सजिव अभिनय गरेका थिए । 
मधेशी युवा विद्यार्थी मोर्चा सप्तरीका संयोजक शम्भु यादवको अध्यक्षता तथा मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यव्रmममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यद्वय शैलेन्द्र प्रसाद साह, अशोक यादव, सद्भावना पार्टीका केन्द्रीय सदस्यद्वय दिपेन्द्र चौधरी, दिनेश कुमार यादव, विद्यार्थी मञ्चका राष्ट्रिय अध्यक्ष किशोर कुमार यादव, मोर्चा नगर समितिका संयोजक उमेश साह ‘कमाण्डौ’, नेकपा माओवादी (वैद्य)का युवा नेता मधुसुदन यादव, युवा विद्याथी मोर्चाका सह–संयोजक तारकेश्वर यादव, युवा विद्यार्थी मोर्चाका फनिकान्त झा लगायतले मधेश आन्दोलनको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।


