प्रधानमन्त्रीका रुपमा केपी ओलीले नेतृत्व सम्हालेपछि राष्ट्रका नाममा सम्बोधन गर्दा आफूले विकास निर्माणका कुरालाई प्राथमिकताका साथ अघि बढाउने भन्दै त्यसको फेहरिस्त नै प्रस्तुत गरे । उनले राजधानीमा रेलदेखि एक वर्ष भित्र मुलुकलाई लोडसेडिड्ड मुक्त गर्ने भन्ना समेत छुटाएनन् । प्रधानमन्त्रीले जेजस्तो भने पनि व्यवहारमा चाही जनता थप लोडसेडिड्डको मारमा परेका छन्, इन्धन अभावका कारणले कतिपय जनताको घरमा चुल्हो बल्ने अवस्था समेत छैन । भन्नाकालागि भारतले नाकाबन्दी गरेका कारण पेट्रोलियम पदार्थ लगायतका सामान आयातमा कठिनाई भएका कारणले नै जनताले दुःख पाइरहेको भनिन्छ ।
उता, रक्सौल बाहेक भारतीय अन्य नाकाबाट उल्लेख्य मात्रामा मालसामान भित्रिएको समाचार पनि आइरहेकै छन् । यसरी आयात भएका सामानमध्ये पेट्रोलियम पदार्थ, एलपी ग्याँसको बिक्री वितरण व्यवस्थित ढंगबाट हुन सकिरहेको छैन । आएको ग्याँसपनि कहाँ लगेर बिक्री हुनु जनताले त्यसको वास्तविकतासमेत बुझ्न पाएका छैनन् । उता पेट्रोलियम पदार्थ अभावको मौका उठाएर अहिले व्यापक तस्करी भइरहेको छ । राजस्व माराहरुको गिरोहनै यस्तो धन्दामा लागेर दुईदेखि तीनगुणासम्म मोल बढाएर बेच्दा एकातिर उपभोक्ताको चरम शोषण भइरहेको छ, अर्को तर्फ राजस्व संकलन पनि प्रभावित हुँदा पनि सरकार भने यो विकृति नियन्त्रणप्रति पूरै असफल हुन थालेको मान हुँदैछ । जनतालाई दिनानुदिनको पीडा छ । महँगी, अभाव र अन्यौलताका बीच जनताले कति दिनसम्म चित्त बुझाएर बस्ने ? प्रश्च गम्भिर छ । बढ्दो तस्करी तन्त्रले राजस्वमाथि प्रभाव परिरहेको बेला जनताको समस्यामा भन्दा पनि अनुत्पादक कार्यमा सरकारी कोष रित्याउने काम भइरहेको अवस्था छ ।
पूर्व विशिष्ठ पदाधिकारीलाई आजीवन सुविधाकालागि अर्वौको लगानी थप्ने प्रयास भइरहेको छ । अघिल्लो सरकारका गृहमन्त्री बामदेव गौतमको पालामा नै यस्तो सुविधा बढाउनकालागि प्रयास भएकोमा त्यतिबेला रोकिएको भएपनि अहिले पुनः त्यसबारेको प्रस्तावअघि बढाउन लागिएको हो । जनताले दुरुदराजमा जीवनजलसम्म नपाएर जीवन घरापमा पार्नु परिरहेको अवस्था छ । उतै जनताको तिरोबाट संकलित राजस्वको यसरी दुरुपयोग भइरहँदा कुनचाही स्वाभिमानी नेपालीको मुटु नपोल्ला ? सरकार यदि साँच्चिकै मुलुक र जनताप्रति जिम्मेवार छ भने राजस्व मारेर तस्करीमा लाग्नेहरुका विरुद्ध कडाईका साथ प्रस्तुत हुनु पर्छ, विलासी सुविधामा बृद्धि गर्ने होइन जनताको आधारभूत आवश्यकतामा लगानी बढाइनु पर्दछ ।