नेपालीहरु भारतीय सेनाको प्रधानसेनापति बन्न सक्छन् : अशोक मेहता

नेपालीहरु भारतीय सेनाको प्रधानसेनापति बन्न सक्छन् : अशोक मेहता
Nava Jyoti Saving & Credit Co-Operative Ltd.

‘मधेसीको माग पूरा नभई नाकाबन्दी खुल्लाजस्तो लाग्दैन’

२७ मंसिर, नयाँ दिल्ली । भारतीय सेनाका अवकाशप्राप्त सेनाध्यक्ष जनरल अशोक मेहताले भारतीय सेनामा कार्यरत नेपालीहरु भारतको प्रधान सेनापति बन्न सक्ने बताएका छन् । हालसम्म तीनजना नेपाली भारतीय सेनाको तीनतारे जर्नेल भैसकेको भन्दै नेपालीहरु प्राविधिकरुपमै प्रधान सेनापति बन्न सक्ने उनले बताए ।

हालै काठमाडौं आएर मधेस आन्दोलन र नाकाबन्दीका बारेमा बुझेर भारत फर्केका मेहताले मधेसीहरुको माग पूरा नभई नाकाबन्दी खुल्छजस्तो आफूलाई नलागेको बताए ।

चिनियाँहरुले काठमाडौंमा रेष्टुरेन्ट खोल्दासम्म भारतलाई आपत्ति नहुने तर सीमानामा आएपछि भारतको चिन्ता बढेको भन्दै नेपालमा चिनियाँ प्रभावबारे अरुची प्रकट गरे ।

नेपाल मामिलाका जानकार मानिने मेहता ती थोरै भारतीय मध्येका एक हुन्, जसले भारत सरकारको नीति निर्माणमा प्रभाव राख्ने गर्दछन् । सेनाबाट अवकाशप्राप्त भए पनि उनी भारत सरकारको ‘साउथ ब्लक’सँग नजिक रहेर रणनीति निर्माणमा काम गरिरहेका छन् । स्पष्ट नेपाली बोल्न सक्ने उनी दुई साता अघि नेपाल आएका थिए । नेपालबाट फर्केपछि मेहतासँग भारतको राजधानी दिल्लीमा रहेको ‘इण्डिया इन्टरनेशनल सेन्टर’ मा भेटेर पत्रकार नरेश ज्ञवालीले मेहतासँग लामो अन्तरवार्ता लिएका छन् :

Ahok-Meheta
भारतको नाकाबन्दी कहिले अन्त्य हुन्छ ?

यो भारतको नाकाबन्दी होइन । म भर्खरै महन्त ठाकुरसहित उनका साथीहरुलाई भेटेर आउँदैछु उनीहरुले यो नाकाबन्दी हामीले गरेको भनिरहेका छन् । नेपालमा यसलाई भारतीय नाकाबन्दीको रुपमा अथ्र्याइएको छ । तर, यो भारतको नाकाबन्दी हुँदै होइन । नाकाबन्दी गरेको त विशेष गरी मधेसकेन्दि्रत दलहरुले हो । उनीहरुले स्वीकार गरिरहेको अवस्थामा भारतलाई भन्नुको के अर्थ ।

मुखले भन्नु र तथ्यले भन्नुमा भिन्नता छ, तथ्यले अरु नै केही देखाउँछन् । भारतले पनि त आजको समयमा मैले नाकाबन्दी गरेँ भन्न गाह्रो भएर होला नि ? तर, अनौपचारिक कुरामा भारतीय अधिकारीहरुले नाकाबन्दी गरेको स्वीकार गर्छन् । यस्तो किन हुन्छ ?

समर्थन गर्नु र नाकाबन्दी गर्नु भिन्न कुरा हुन् । चालकहरुले नेपालभित्र असुरक्षित महशुस गरिरहेका छन् । अस्तिमात्र भारतीय नम्बर प्लेटका दुईवटा गाडी काठमाडौं र पोखरामा जलाइए । अनि भन्नुस् कसरी गाडीहरु नेपाल जान सक्छन् ?

तपाईले जुन गाडी जलाएको प्रशंग ल्याउनुभएको छ त्यो नाकाबन्दीको विरोधमा गरिएको नेपालबन्दका क्रममा भएको घटना हो । त्यो पनि काठमाडौ र पोखरामा । तर, भारत सरकारले त सीमामा असुरक्षा भयो भनिरहेको छ नि ?

भारत सरकारले ट्रक चालकहरुलाई कसरी भन्न सक्छ तपाईहरु नेपाल जानुस भनेर ? अहिले पनि २२ सय कि ४ हजार ट्रकहरु नेपालतिर अड्किएर बसेका छन् उनीहरु भारततिर आउनै सकेका छैनन् । अहिले खाद्य सामाग्री, औषधी, डिजल/पेट्रोल र ग्यासको जस्तो समस्या देखिएको त्यो भारत सरकारको नाकाबन्दीले गर्दा भएको होइन ।

म अस्ति काठमाडौंमै थिएँ मैले सुनेको के हो भने- जहाँबाट सामानहरु पठायो मधेसीहरुले त्यही नाकाबन्दी गरिदिन्छन् । मधेसी जनताका जबसम्म आफ्ना राजनीतिक, लोकतान्त्रिक मागहरुको सम्बोधन हुँदैन, भारतको भनौँ अथवा मधेसीको नाकाबन्दी खुल्छजस्तो मलाई लाग्दैन ।

प्रश्न यहाँ नामको होइन, प्रश्न त सीमामा देखिएको नाकाबन्दी हो । नाकाबन्दीका कारण नेपाली जनताले दुःख पाइरहेका छन् ती मधेसी भए पनि पहाडी भए पनि । त्यस्तोमा नाकाबन्दी नाकाबन्दी नै हो र यो छिटो अन्त्य हुनुपर्छ ।

तपाईलाई थाहा होला नि हात्तीको चपाउने दाँत र देखाउने दाँत छुट्टै हुन्छन् । अधिकांश नेपालीलाई के लाग्छ भने भारतीय सरकारले मधेसलाई देखाएर आफ्नो ‘हिडन एजेन्डा’ पूरा गराउन चाहन्छ । तपाईलाई के लाग्छ ?

भारतको ‘हिडन एजेन्डा’ के हो ?

मैले त्यही सोधेको हो ?

भारतको कुनै पनि हिडन एजेन्डा छैन् । भारतको हिडन एजेन्डा भनेकै पहिलो- मधेसी, जनजाति वर्गले संविधानमा जुन अधिकार पाएका छैनन् ती हकहरु उनीहरुले पाउन । र, दोस्रो भनेको- डिमार्केशन (संघीयता)को कुरा पनि मिलाउन ।

तर, भारत बारम्बार नेपालमा यसो गर, उसो गर भन्नु सार्वभौमसत्ता सम्पन्न मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप होइन र ?

Ashok-Mehata

जहाँसम्म भारतको हस्तक्षेपको कुरा छ यो प्रश्न भूगोलसँग जोडिएको छ । सन् २००८ मा गिरिजाप्रसाद कोइरालासँग एक मधेस एक प्रदेशमा सहमति हुँदा म काठमाडौंमै थिएँ । मधेसीले उठाएको कुरा के हो भने हामीसँग सहमति गरियो तर त्यसलाई पुरा गरिएन । तर, सीमांकनकै विषयमा पहाडमा भएको आन्दोलनको सुनवाइ भयो ।

तपाई ६ प्रदेशलाई ७ बनाउन सक्नु हुन्छ भने ७ लाई ८ र ९ मा पनि त विस्तार गर्न सक्नु हुन्छ । यदि सरकारको नियत र नीति ठीक छ भने यो हुन सक्छ ।

मधेसीहरुले भनेका छन् यदि उनीहरुको मुद्दाको सुनवाइ भएन भने एक मधेस एक प्रदेशको लडाइँ एक देशका लागि हुन सक्छ । त्यस्तो अवस्थामा त्यसको प्रत्यक्ष प्रभाव भारतमा पर्नेछ ।भारतले उनीहरुका माग जे छन्, त्यसलाई पूरा गर्नुस् भनेको हो । यसलाई हस्तक्षेप मानिन्छ भने यो हस्तक्षेप नै हो । माथिका ९ जिल्लामा चाइनाको प्रभावका बारे पनि कुरा उठ्ने गर्छ तर त्यसमा कसैले केही भन्दैनन् । चाइनाले जे गरे पनि त्यसको कसैले नाम नै लिँदैनन् तर भारतले जे गरे पनि नाम आउने गर्छ ।

तपाईले नेपाल सरकारको नियत र नीति खराब भएर मधेसीहरुको माग सम्बोधन नगरिएको भन्न खोज्नु भएको ?

नियत खराब छ अथवा ठीक छ, त्यो त त्यसको परिणामले थाहा हुन्छ । नाकाबन्दी जति धेरै दिनदेखि चलिरहेको छ त्यसले नेपालभरि ‘ब्ल्याक मार्केट’ चलिरहेको छ । दुःख काठमाडौंकाले मात्र पाएका छन् भन्ने होइन । दुःख मधेसकाले पनि पाएका छन् । समग्र देशले यसको प्रभाव व्यहोरिरहेको छ ।

यसका साथै भूकम्पबाट प्रभावितहरु पनि यसकोमा पिल्सिएका छन् । यस्तो अवस्थामा नेपाल सरकारले छिटो भन्दा छिटो यसको राजनीतिक समाधान खोज्नुपर्छ । किनभने यसपटक मधेसी जनता उधारोमा सम्झौता गर्ने पक्षमा छैनन् ।

भारतले पनि उधारो सम्झौता नहोस् भन्ने चाहेको हो ?

हो, त्यही हो । पछि फेरि कति वर्षसम्म यो कुरा थाती रहला ।

भारतीय विदेश मन्त्री सुष्मा स्वराजको कुरालाई कसरी लिनुभएको छ ?

सुष्माले भनेको कुरा स्पष्ट छ, संविधानको समाधान निकाल्नु पर्छ । समाधान निकाल्ने कुरा नेपाल सरकारको हातमा छ । नेताहरुले, हामी सबै गर्छौं भने । तर, पछि त्यस्तो केही पनि गरेनन् । सरकारले गम्भिरतापूर्वक कदम उठाएको हामीले देखेका छैनौं । सरकारमा रहेका पार्टीको मनमा के कुरा छ भने- यी मधेसी आन्दोलनमा थाकेर आत्मसमर्पण गर्छन् अनि अगाडिको कारवाही गरौला ।

भूराजनीतिको प्रशंग आउँदा भारत जहिले पनि नेपालमा चिनियाँ प्रभाव बढ्यो भनेर किन सशंकित भैरहन्छ ?

नेपालमा चिनियाँ प्रभावलाई लिएर सबैभन्दा धेरै चासो भारतलाई नै हुने हो । नेपालमा भारतको सबै भन्दा ठूलो चासो भनेको सुरक्षा हो । यो भारतको पहिलो प्राथमिकतामा रहेको चासो र सरोकार हो । यी दुई प्रकारका छन्- एउटा आन्तरिक सुरक्षा सरोकार र दोस्रो- वाहृय सुरक्षा सरोकार । पहिलो सुरक्षा सरोकार अन्तर्गत नक्कली रुपैयाँ, लागु औषध तथा नेपालको आन्तरिक कानुनी व्यवस्था आउने गर्छ भने दोस्रो वाहृय सुरक्षा सरोकारमध्ये पाकिस्तानको आतकंवादी गतिविधि र चिनियाँ प्रभाव विस्तार हो ।

पहिलो सुरक्षा चुनौतीलाई खुला सीमानाले झनै सम्भव तुल्याइदिएको छ । १९९९ मा भारतीय विमान आईसी ८१४ को अपहरणको कुरालाई कसैले पनि बिर्सन सक्दैनन् । जसले गर्दा भारतमा तत्कालीन सरकारसमेत फेरियो ।

अर्को भनेको नेपालको आन्तरिक कानूनी व्यवस्था हो । यदि नेपालमा कानूनी व्यवस्था राम्रो हुन सकेन भने त्यसको प्रभाव भारतका सीमावर्ती क्षेत्रमा पर्छ जस्तो कि हामीले माओवादी युद्ध र मधेस आन्दोलनको समयमा देखेका छौ । मधेसमा आन्दोलन चलिरहँदा झण्डै ४० वटा सशस्त्र समूहहरु मधेसमा सक्रिय थिए । नेपालसँग सीमा जोडिएका भारतको क्षेत्र युपी, बिहारमा पनि कानुनी व्यवस्था त्यति राम्रो रहेको छैन । त्यसैले नेपालको आन्तरिक समस्याले भारतलाई निक्कै पिरोल्ने गर्छ । यो हाम्रो सुरक्षा कन्सर्न हो । यसलाई अंग्रेजीमा ‘स्पिल ओभर इफेक्ट’ भनिएको छ, जुन मैले आफ्नो कितावमा पनि उल्लेख गरेको छु ।

दोस्रो, वाहृय सुरक्षा सरोकारमध्ये नेपालमा पाकिस्तानी आईएसआईको गतिविधि र चिनियाँ प्रभाव विस्तारले चिन्तित बनाउने गर्छ । तपाईलाई मैले एउटा घटना सुनाउँछु, त्यो १९९३ को हो ।

त्यसबेला पाकिस्तानको गुप्तचर संस्था आईएसआईले काठमाडौंको रिङ्ग रोडमा रहेको ‘होटेल कणर्ाली’ मा भारतविरुद्ध एउटा गोप्य अपरेशन, जसको नाम- ‘अपरेशन टोफेल’ थियो सञ्चालन गर्न लागेको थियो । हामीले नेपाल प्रहरीलाई सूचना दिएर त्यो मिसनलाई रोकेका थियौ । त्यसबेलाको फोटो मैले एउटा अंग्रेजी पत्रिकामा पनि छपाएको थिएँ । त्यसको सबै सूचना हाम्रो आईबीले नेपाल प्रहरीलाई दिएको थियो ।

अब रहृयो चाइनाको कुरा । चाइना पहिलेदेखि नै नेपाल हुँदै भारत आउन चाहने उसको लक्ष्य रही आएको छ । अहिले हामीले त्यसको एस्ट्रिम रुप देखिरहेका छौं ।

चाइनाको ‘वान वेल्ट, वान रोड’ पोलिसीदेखि भारत सशंकित भएको भन्न खोज्नुभएको हो ?

यदि रेल सेवा चीनदेखि काठमाडौंसम्म आयो भने, यदि पाइपलाइन (तेल र ग्यासको) आयो भने, यदि चीनबाट ६/७ वटा सीमा नाकाहरुमा सडक आयो भने त्यो भारतका लागि ठूलो चिन्ताको विषय हो ।

नेपालमा विकास हुँदा भारतलाई किन चिन्ताको विषय हुनुपर्ने ?

Ashok-Mehataकिनभने त्यसमार्फत सैन्य प्रभावमा विस्तार हुन सक्छ । सैन्य उपकरणहरु आउन सक्छन् । अहिले नै युद्धको अवस्था त छैन । तर, निकै गम्भीर अवस्थाको सिर्जना भैरहेको हाम्रो ठम्याइ छ । चाइनाले सैन्य क्षेत्रको विस्तारका लागि ती मार्गहरु तथा सीमावर्ती नाकाहरुलाई प्रयोग गर्न सक्ने हाम्रो ठम्याइ छ ।

तर, यी कुराहरु गर्दै गर्दा हामीले आजको होइन, आगामी १० बर्ष पछिको कुरा गरी रहेका छौ । जसका लागि हामी सचेत हुनु पर्छ । हामी के कुरामा पनि विश्वस्त छौ भने चाइनाले ल्याएको पोलिस लागु गर्न १० बर्ष समय लाग्छ तर, हामी आजैदेखि गम्भिर हुनुपर्छ ।

नेपालले उसको आर्थिक विकास होस् भन्ने चाहन्छ, त्यो चीनबाट भए पनि भारतबाट भए पनि । एक समय थियो जतिबेला वीरेन्द्रको शासनकालमा चाइनालाई तराईमा आउने अनुमति थिएन । त्यो भनेको एक किसिमको ‘रेड लाइन’ थियो । तपाई त्यसलाई ‘लक्ष्मण रेखा’ पनि भन्न सक्नुहुन्छ । त्यो ‘लक्ष्मण रेखा’ राजा महेन्द्रको पालादेखि वीरेन्द्रको पालासम्म कायम थियो । तर, अहिले लक्ष्मण रेखा कायम रहन सकेको छैन । जसरी चीनले लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा गरेको छ, त्यसले त्यो लक्ष्मण रेखा मेटिएको छ । त्यो हाम्रा लागि ठूलो चुनौती हो ।

तपाईको भनाइको सार त्यही भएर भारतले मधेसको आन्दोलनलाई बल पुर्‍याइरहेको हो भन्ने निस्कन्छ ?

बल पुर्‍याउनुको अर्थ हुन्छ, त्यो परियोजना नै रद्द गराइदिने ।

चिनियाँ प्रभाव रोक्ने कुरा भारत तीनै नेतामार्फत गराउन चाहन्छ जसको अधिवेशन उद्घाटन गर्न चिनियाँ राजदुत पुगेका थिए ?

यो कुरा छँदैछ, भारतले ती नेताहरुलाई चेतावनी दिनुपर्ने नै छ । हुन त भारतले किन चेतावनी दिने नेपाल सरकारले चेतावनी दिनुपर्ने । यो काम मधेसी नेताहरुको हुँदै होइन । तपाईलाई थाहा होला, राजा वीरेन्द्रले एकपटक कोहलपुरदेखि खोई कहाँसम्मको सडक निर्माण चिनियाँ कम्पनीलाई दिन लागेका थिए । पछि त्यो रद्द गरेर भारतलाई दिए । यी सुरक्षासँग जोडिएका विषय हुन् ।

लामो समय व्रिटिस उपनिवेशबाट शासित भारतको मानिसकता पनि औपनिवेशिक भैसकेको तथा त्यही नीतिलाई भारतले निरन्तरता दिन चाहन्छ होइन ?

निक्कै गहिरो शब्द प्रयोग गर्नु भयो । मैले बुझन् सकिँन । सरल गरी सोध्नुस् न ।

मेरो भनाइ के हो भने भारतमा जसरी इस्टइन्डिया कम्पनीले लामो समय शासन गर्‍यो, त्यसैको प्रभाव हो कि भारतले आफ्ना छिमेकी मुलुकहरुमा पनि उही इस्टइन्डिया कम्पनीको मानसिकताबाट प्रेरित भएर शासन गर्न चाहन्छ । यसमा तपाईको सहमति छ ?

भारतको सन्दर्भमा चीनको कुरा गरी रहँदा हामी के कुरामा स्पष्ट छौँ भने- जबसम्म नेपालमा चाइनिज इन्टे्रस्ट कमर्सियल रुपमा जारी छ र त्यसमा कुनै ‘हिडन आम्स एजेन्डा’ छैन भने त्यस बेलासम्म ठीक छ । तर, मधेसमा रहेको लक्षमण रेखालाई कायम राखिनुपर्छ ।

तपाई आफै हेर्नुस् न काठमाडौंमा चाइनिज रेष्टुरेन्टहरु खोलिँदा र बाटोहरु बनाउँदा भारतले कहिल्यै केही भनेन । त्यसबेलासम्म कुनै अप्ठेरो छैन । तर, जब भारतीय सीमाको नजिक आउने कुरा हुन्छ, त्यसपछिको अवस्थालाई हामीले खतराको रुपमा हेर्ने गर्छौं ।

तपाईले भारतको सुरक्षा चासोको कुरा गरिरहँदा मलाई भारतीय एसएसबीका जवानहरुले नेपाल छिरेर चारजना नेपालीलाई गोली हानेर घाइते बनाएको तथा नेपालको स्थानीय गाउँहरुमा हतियारसहित आतंक फैलाएको घटना स्मरण भैरहेको छ । तपाईको आईबीले नेपालको राजधानीमा नै गोप्य अपरेशन चलाएर मान्छे पक्राउ गर्छ । एउटा नेपालीले यस घटनालाई कसरी लिने ? के यो नेपालीको सुरक्षा चासो होइन ?
तपाईको र हाम्रो त खुला सीमाना छ नि त ।

के खुला सीमानाको अर्थ भारतीय सेनाले जहाँ पुगेर जे गर्न पनि सक्छ भन्न खोज्नुभएको हो ?

एसएसबी सेना होइन । सेनाको अर्थ रेगुलर फौज भन्ने हुन्छ । यी भनेका त पुलिसका मान्छे हुन् ।

अनि आईबीले चलाउने गोप्य अपरेशनलाई के भन्ने ?

तपाईले यासिम भडकलको कुरा गर्नुभएको होला । (अक्मकिँदै…) भड्कललाई सीमाबाट पक्राउ गरिएको हो । तर, मलाई त्यसबारेमा धेरै ज्ञान छैन । त्यसैले केही भन्न सक्दिँन ।

भारतीय सुरक्षा निकायले बारम्बार गर्ने यस्ता गतिविधि हाम्रो नेपालको पनि त सुरक्षा चुनौति होइन र ?

त्यो अपरेशन नेपालको सुरक्षा निकायसँग मिलेर गरिएको होला । किनभने सन् १९९३ मा भएको ‘अपरेशन टोफेल’ पनि नेपालको सुरक्षा निकायसँग मिलेर नै गरिएको थियो । त्यसको सम्पूर्ण जानकारी आईबीले दिएको थियो । त्यसैगरी अहिलेको पनि अपरेशन गरिएको होला ।

मेहता जी, तपाईले यसलाई बडो सामान्य घटनालाई जसरी ‘इग्नोर’ गर्दैहुनुहुन्छ, किन ?

हाँस्दै… मैले त्यस्तो ‘इग्नोर’ गर्न खोजेको छैन । संसारमा कहीँ पनि यस्तो किसिमको खुला सीमाना र १९५० सालको सन्धी भएको छैन ।

एउटा मुलुकको आन्दोलनकारीले अर्को मुलुकबाट ढुंगा र पेट्रोलबम बर्साउने गरिएको घटना पनि संसारमा कहीँ भएको छैन होला है ?

यो त तपाईले आन्दोलनको अत्यन्त उच्चतम बिन्दुको कुरा गर्दै हुनुहुन्छ । यस्तो विश्वमा कहीँ पनि हुँदैन ।

हामीले सीमानाको यस्तो उच्चतम बिन्दुमा पुगेको कुरा गर्दैछौं भने दुबै मुलुकको सुरक्षा चासोलाई सम्बोधन गर्न के सीमा शील गरेर भिसा प्रणाली लागु गर्न सक्दैनौं ? यसबारे तपाईले र भारत सरकारले कहिलै केही सोचेको छ कि ?

हेर्नुस् खुला सीमाना र १९५० को सन्धीका कारण जति संख्यामा पनि नेपालीहरु भारत आउन र बस्न सक्दछन् । कसैले भन्ने गर्दछन् ७/८ मिलियन नेपाली भारतमा छन् भने २ मिलियन जति त यात्रामै रहेका हुन्छन् ।

तपाईको मुलुकका नागरिक हाम्र्रो सेनामा तीनतारे जर्नेलसम्म भएका छन् । त्यो पनि एउटा होइन, तीन-तीन जना । उनीहरु टेक्नीकल्ली आर्मी चिफ पनि हुन सक्छन् । तपाई अनुमान गर्न सक्नुहुन्छ हामीबीच कति विश्वास छ भन्ने । अर्को मुलुकको आर्मीमा जागिर खानु र अर्को मुलुकका रगत बगाउने भन्नु कत्रो ठूलो विश्वासको कुरा हो ।

यही विश्वासले त नेपालीहरुलाई लुटेको छ । नेपालीहरु कश्मिरमा जुन मुलुकका लागि रगत बगाउँछन् । तिनै नेपालीको मुलुकमा भारतले दुई पटकसम्म नाकाबन्दी गरेको तपाईलाई सम्झना होला ।

यो कुरा त तपाईले महन्त ठाकुर र उपेन्द्र यादवसँग सोध्नुस् । किन आन्दोलन गरेर नाकाबन्दी गरेको ?

(अन्तरवार्ताकार ज्ञवाली भारतबाट प्रकाशित हुने समकालीन तीसरी दुनियाँका नेपाल प्रतिनिधि हुन् । उनी अहिले दिल्लीमा छन् ।) साभार अनलाइन खबर डटकमबाट

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *