• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लहानमा पनि हज्जारौं दिए श्रद्धाञ्जली

राजविराज, १२ मंसिर । सप्तरीका चार शहीदहरुलाई शवयात्राका क्रममा सिरहाको लहानमा हज्जारौं जनसमुदायले श्रद्धाञ्जली दिएका छन् ।
शनिबार र आइतबार आन्दोलनका क्रममा शहादत प्राप्त गरेका डाढा गाविसको बलिया–बथनाहा निवासी बिरेन्द्र राम, जमुनी मधेपुरा–९ छपकी निवासी नागेश्वर यादव, जमुनी मधेपुरा–४ प्रसाही टोलका शिबशंकर दास र राजविराज नगरपालिका–१ निवासी दिलिप कुमार साहको संयुक्त शवयात्रा राजविराज हुँदै लहान लगिएको थियो ।
राजविराज हुँदै लहान पुगेको शवयात्रालाई रमेश महतो चौकमा हज्जारौं जनसमुदायले अन्तिम बिदाई गरेका छन् । घण्टौदेखि शवयात्राको प्रतिक्षामा रहेका जनसमुदायले पुष्पगुच्छा अर्पण गरेका थिए । स्थानीयवासिन्दाहरुको विशेष आग्रहमा शवलाई डेढ घण्टासम्म राखिएको थियो ।
लहानमा अपार जनमानस सहभागी भएका कारण कुनै किसिमको अप्रिय घटना हुन नदिनका लागि चौकमै सयौंको संख्यामा सशस्त्र तथा नेपाल प्रहरी परिचालन परिचालन गरिएको थियो । शहीदहरुलाई अन्तिम दर्शन तथा बिदाईका क्रममा महिलाहरु बीच रुवावासी समेत चलेको थियो ।