न्यूज टुडे
राजविराज, २९ जेठ ।
‘लालपुर्जा माग गर्दै संघर्षरत नगरबासी’ अनिश्चितकालीन राजविराज बन्दको पूर्व घोषित आन्दोलनका कार्यक्रमबाट पछि हटेका छन् । स्थानीय ब्यापारी व्यवसायीहरुको आग्रहमा आफैले घोषणा गरेको पूर्व घोषित आन्दोलनबाट नगरबासी पछि हटेका हुन् ।
आन्दोलनलाई शान्तिपूर्ण मर्यादित र निष्कर्षमा पुर्याउन नेपाल सरकार तथा स्थानीय ब्यापारी व्यवसायीको आग्रहमा अनिश्चितकालीन राजविराज बन्दको कार्यक्रम तत्काल स्थगित गरिएको आन्दोलन परिचालन समितिका एक सदस्यले बताए । सरकारसंग संवाद जारी राखिएकोले तत्काल पूर्व घोषित कार्यक्रम स्थगित गरिपनि थप शान्तिपूर्ण दवावमुलक कार्यक्रम भने जारी रहने उनले बताए ।
नगरपालिकाको कार्यलयमा तालाबन्दी गरी रिले अनशनसहित संघर्षरत राजविराज नगरबासीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि आन्दोलनले उग्ररुप लिएको थियो । प्रहरीले नगरपालिकामा लगाइएको ताल्चा फुटाएरर रिले अनशनमा बसेका नगरबासीमाथि अन्धाधुन्ध लाठीचार्ज गरि हटाएपछि आक्रोसित उनीहरुले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाएका छन् ।
प्रहरी दमन विरुद्ध अर्धनग्न विरोध प्रदर्शन , झाडु जुलुस, सिटी जुलुस, लाठी जुलुस, मसाल जुलुस गरेका आक्रोशित नगरबासीले शुक्रबार शंख जुलुस प्रदर्शन गरेका छन् ।
शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आन्दोलनरत नगरपालिकाबासीहरुले प्रहरी र कार्यबाहक नगरप्रमुख तथा जनप्रतिनिधि विरुद्ध चर्को नाराबाजी गर्दै विभिन्न स्वरुपमा जुलुस प्रदर्शन गरेका छन् ।
‘प्रहरी दमन बन्द गर, इसरत परविन राजिनामा दे, षडयन्त्रकारी मुर्दावाद, विटौरी जग्गाको लालपुर्जा दे, हाम्रो माग पुरा गर’ लगायतका चर्को नारा लगाउदै नगरबासीले शंख फुकेर जुलुस प्रदर्शन गरेका छन् ।
लालपुर्जा माग गर्दै विभिन्न स्वरुपको आन्दोलनलाई निरन्तरता दिदै आएका नगरपालिकाबासीको आन्दोलन उग्र बन्दै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीको बाक्लो उपस्थितिमा नगरपालिका कार्यालयमा लगाइएको ताल्चा फुटाइएको थियो ।
मसाल जुलुसमा सहभागी नगरबासीहरुले प्रहरी दमनको कडा शब्दमा विरोध गरेका छन् । प्रहरीले आन्दोलनलाई हस्तक्षेप गरेको विरुद्ध बजार बन्द घोषणा गर्दै उनीहरुले लालपुर्जा पाउने सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।
उनीहरुले राजविराज शहरको स्थापना कालदेखि नेपाल सरकारबाट प्रदान गरिएको विटौरी जग्गामा बसोबास गर्दै आएको राजविराजबासीहरुले निशर्त लालपुर्जा पाउनु पर्ने माग सारेका छन् ।
बक्ताहरुले हकभोगको आधारमा जग्गको स्वमित्व पाउनु पर्ने माग सार्दै संघर्ष समितिले महीना दिन देखि धर्ना लगायतका विभिन्न दवाव मुलक संघर्षका कार्यक्रमलाई दबाउने प्रयास भए थप सशक्त आन्दोलन गर्ने उनीहरुले चेतावनी दिए । उनीहरुले विटौरी जग्गाको राजस्व राजविराज नगरपालिकामा बुझाउँदा समेत लालपुर्जा वितरणमा बेवास्ता गरेको भन्दै आक्रोश पोखे ।
१९९८ सालदेखि बसोबास गर्दै आएको नगरबासीलाई पटकपटक आश्वासन दिएपनि हालसम्म लालपुर्जा वितरण नगरेको नगरबासीको गुनासो छ। हकभोगको आधारमा जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने एक सूत्रीय माग राखी महिनौंसम्म विभिन्न स्वरुपको चरणबद्व दवावमुलक कार्यक्रम गर्दै आएपनि नगरपालिकाले गरेको दवाउने प्रयास सफल हुन नदिने आन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासले बताए ।
नगरपालिकाले विटौरी कर लिदै आएपनि लालपुर्जा वितरणमा चासो नदिएको स्थानीयको आरोप छ । २०२८ सालमा राजविराज शहरको ६० विघा जग्गालाई नापी शाखाले गाउँ ब्लक दावी गर्दै श्रेस्ता कायम गरिएकोले त्यसलाई आधार मान्ने हो भनेपनि जग्गाको लालपुर्जा पाउनुपर्ने आन्दोलनकारीहरुको भनाइ छ ।
नगरपालिकामा कर बुझाएर बैंकमा जग्गा धितो राखी कारोबार हुँदै आएकोमा पछिल्लो समय विटौरी जगाको लालपुर्जा उपलब्ध गराउने भनी सरकारले बैंकलाई देशव्यापी पत्राचार गरेपछि बैंकले धितो बन्धक राख्न रोक लगाएउँदा आफूहरू मारमा परेको राजविराजबासीको भनाइ छ ।
नगरबासीको आन्दोलनलाई सप्तरी उधोग बाणिज्य संघलगायतका दर्जनौं संघसंस्था तथा राजनीतिक दलहरुले भौतिक सहभागिता जनाउँदै प्रेस विज्ञप्ति जारी गर्दै एक्यवद्धता जनाएको छ । पाँच हजारभन्दा बढी परिवारले हकभोग गर्दै आएको विटौरी जग्गाको लालपुर्जा उपलब्ध गराउन नागरिक स्तरबाट समेत दवाव बढेको छ ।
राजविराज नगरपालिका अन्तर्गत १० विघे ब्लक जग्गाको भने यसअघि नापी शाखाको सिफारिसमा मालपोत कार्यालयबाट केही परिवारलाई जग्गाधनी पूर्जा वितरण गरेको छ ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक जग्गा खाली गर्न देशव्यापी उर्दी जारी गरेपछि राजविराजबासी थप सशंकित भएका छन् ।