• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको सप्तकोशी नगरपालिका र अग्निसाइर कृष्णसबरण गाउँपालिकामा खानेपानी स्वच्छता सुशासन प्रणाली सबलीकरण सम्बन्धि तेस्रो चरणको परियोजना शुभारम्भ भएको छ । महुली सामूदायिक विकास केन्द्र बकधुवाले बिहीबार आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रमका वीच परियोजनाको शुभारम्भ भएको हो ।

सप्तरीमा सप्तकोशी र अग्निसाइर कृष्णसबरण मात्र होईन अन्य पालिकाहरुमा पनि स्वच्छ खानेपानीको अझै अभाव छ । जिल्लाका कतिय खानेपानी आयोजना असफल भएका छन् भने तिनको विकल्पमा अर्को व्यवस्था नभएको अवस्था छ । स्वास्थ्यकालागि स्वच्छ पिउने पानी अपरिहार्य मानिन्छ । तर अन्यत्रको त के कुरा,सदरमुकाम समेत रहेको राजविराज नगरपालिकामा समेत स्वच्छ पिउने पानीको व्यवस्था हुन सकेको छैन । यसकालागि पटक पटक आवाज नउठेको पनि होईन । तर यस तर्फ सम्बन्धित निकायको ध्यान नपुगेका कारण जनता अहिले पनि आईरन,आर्सेनिकयुक्त पिउने पानी उपभोग गर्न बाध्य छन् जुन स्वास्थ्यको दृष्टिकोणबाट पनि हानिकारक मानिन्छ । स्वच्छ पिउने पानी संगै सरसफाईका क्षेत्रमा पनि काम गर्न धेरै बाँकी नै छ । राजविराज नगरपालिकाकै प्रसंग जोड्ने हो भने यहाँ फोहर मैलाको समस्या विकराल छ । फोहर बिसर्जनको स्थान समेतको व्यवस्था नभएका कारणले व्यवस्थापनमा वर्षौंदेखि समस्या रहने गरेको छ ।

जनताको स्वास्थ्यलाई ध्यानमा राखेर यस्ता आधारभूत कुरामा खास गरी स्थानीय सरकारकै भूमिकामा रहेका पालिकाहरुले विशेष ध्यान पुर्याउन आवश्यक रहेको भए पनि अपेक्षित रुपमा काम हुन नसकिरहेको वास्तविकता कसैबाट लुकेको विषय होईन । यस्तो अवस्थामा सप्तकोशी र अग्निसाइर कृष्णसबरणमा शुभारम्भ भएको परियोजनलाई सकारात्मक रुपमा लिनु पर्ने हुन्छ ।