परियोजना शुभारम्भ कार्यक्रममा सहभागी गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सहभागीहरु । फोटो : न्यूज टुडे
न्यूज टुडे
राजविराज,२७ जेठ ।
सप्तरीको सप्तकोशी नगरपालिका र अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा खानेपानी स्वच्छता सुशासन प्रणाली सवलीकरण सम्बन्धि तेश्रो चरणको परियोजना शुभारम्भ भएको छ । महुली सामुदायिक विकास केन्द्र बकधुवाद्वारा दुबै पालिकामा बिहीवार आयोजित छुट्टाछुट्टै कार्यक्रमको वीच परियोजनाको शुभारम्भ गरिएको हो ।
खानेपानी स्वच्छता सुशासन प्रणाली सवलीकरण तेश्रो चरणको परियोजना शुभारम्भ गर्दै अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले परियोजनाको पूर्ण सफलताको शुभकामना व्यक्त गरे । परियोजनाले खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय सफलता हाँसिल गरेकोप्रति खुशी व्यक्त गर्दै उनले सहयोगी संस्थालाई धन्यवाद दिदै तेश्रो चरणको कार्यक्रमलाई गाउँपालिकाबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले परियोजनाको उदेश्य बारे प्रकाश पार्दै खानेपानी सरसफाइ तथा स्वच्छता प्रणाली सुधारका लागि स्थानीय सरकार नेतृत्वको दृष्टिकोण स्पष्ट हुनुपर्नेमा जोड दिए । पहिलो र दोश्रो चरणको सम्पन्न कार्यक्रममा निकै सफलता प्राप्त भएको उल्लेख गर्दै उनले आगामी ३ बर्षे तेश्रो चरणको एनपिएल १११४-२४ परियोजनाका लागि डब्लूएचएच तथा संस्थाको तर्फबाट १ करोड ४९ लाख ६८ हजार १ सय ६० रुपैया विनियोजन भएको जानकारी दिए ।
पहिलो र दोश्रो चरणको परियोजना मार्फत खानेपानी तथा सरसफाइ क्षेत्रमा सरकारी दिगो विकास सूचकांकलाई आधार मानेर गाउँपालिकामा २ वटा विद्यालयलाई थ्री स्टार र अन्य ३ विद्यालय वन स्टार विद्यालय तथा १५ टोललाई नमूना टोल घोषणा गरिएको जानकारी दिदै चौधरीले तेश्रो चरणको परियोजना अन्तर्गत १ विद्यालयलाई हरित विद्यालय घोषणा गर्ने लक्ष्य लिएको बताए ।
तेस्रो चरणको परियोजनामा निर्माणाधीन अधुरो मानव मलमुत्र व्यवस्थापन केन्द्रलाई सम्पन्न गरी व्यवसायीकरण गर्ने तथा खानेपानी सरसफाइका अधुरो योजनालाई पूर्णता दिदै गाउँपालिकामा एउटा टोल छनौट गरि नमूना घोषणा गरि अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने उदेश्य रहेको उनले जानकारी गराए ।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उपाध्यक्ष कल्पना कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र प्रसाद यादव, वडा नम्बर ३ का वडाध्यक्ष गोपाल प्रसाद चौधरी, ४ का वडाध्यक्ष तेज नारायण यादव, कार्यपालिका सदस्य श्रीकुमारी चौधरी, वैद्यनाथ देवी चौधरी, सहयोगी संस्था डब्लूएचएचकी मिल अफिसर अर्चना कुमारी यादव, सरसफाइ फोकल प्रर्सन कुलानन्द चौधरी, विषयगत शाखाका प्रमुख, संचारकर्मी, शिक्षक तथा महुली सामुदायिक विकास केन्द्रका अध्यक्ष ललित प्रसाद चौधरीसहित पदाधिकारी, कर्मचारीहरुको सहभागिता रहेको खानेपानी स्वच्छता सुशासन प्रणाली सवलीकर णपरियोजनाका कार्यक्रम संयोजक चन्द्र नारायण चौधरीले जानकारी दिए ।
यसैगरी सप्तरीको सप्तकोशी नगरपालिका समेत खानेपानी स्वच्छता सुशासन प्रणाली सवलीकरण सम्बन्धि तेश्रो चरणको परियोजना शुभारम्भ गरिएको छ । महुली सामुदायिक विकास केन्द्रद्वारा नगरपालिकाको सभा हलमा बिहीवार आयोजित एक समारोहका वीच नगरप्रमुख कृष्णाप्रसाद ढकालले परियोजना शुभारम्भ गरे ।
कार्यक्रममा बोल्दै नगरप्रमुख ढकालले पहिलो र दोश्रो चरणको कार्यक्रमले नतिजामुखी परिणाम ल्याएको भन्दै सहयोगी संस्थाहरुको प्रशंसा गरे । तेश्रो चरणको कार्यक्रम परेकोप्रति खुशी व्यक्त गर्दै उनले नगरपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक चौधरीले तेश्रो चरणको कार्यक्रम अनुसार हरित विद्यालय कार्यक्रम मार्फत जनसमुदायमा जलवायु परिवर्तन सचेतना प्रवाह गर्ने,फोहर व्यवस्थापन खानपिन, विद्यालय स्तर उन्नति निर्माण संचालन समन्वय,महिला यूवा र खानेपानी उपभोक्ता समुह सुदृढीकरण, पालिका, वडा तथा विषयगत शाखाहरुसंग समन्वय गरी नीतिगत रुपमा काम गर्ने, परियोजना मुख्य उदेश्य रहेको बताए । सबैको पहुँचमा सफा र स्वच्छ खानेपानी पुर्याउने,संबैधानिक तथा कानूनी हकको कार्यान्वयन, दिगो विकासको लक्ष्य हाँसिल गर्ने परियोजनाको प्रमुख उदेश्य रहेको बताउँदै उनले यसलाई सार्थक तुल्याउन सबैपक्षको साथ सहयोग तथा सहकार्य अपरिहार्य रहेको बताए । कार्यक्रमबाट स्वास्थ्य र महामारी रोकथाम,जलवायु परिबर्तनको असर न्यूनीकरण, समावेशीता र पहुँच सुनिश्चितता, वास योजनाको व्यवस्थापन र तथ्यांक संकलनमा महत्त्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त गरे ।
एनपिएल १११४-२४ परियोजनामा संस्थाको तर्फबाट १ करोड ५३ लाख १३ हजार ४ सय ७३ रुपैयाँ सहयोग प्राप्त भएको बताउदै कार्यकारी निर्देशक चौधरीले सम्बन्धित पालिकाले यसको स्वामित्व ग्रहण गर्नुपर्नेमा जोड दिए । उनले छनौटमा परेका पालिकाहरुले काम गर्ने बाताबरण नमिलाए परियोजना सर्न सक्नेप्रति सचेत समेत गराए ।
परियोजना शुभारम्भ कार्यक्रममा उपप्रमुख रिता कुमारी चौधरी, सहयोगी संस्था डब्लूएचएचकी मिल अफिसर अर्चना कुमारी यादव, विषयगत शाखाका प्रमुख, संचारकर्मी, शिक्षक तथा महुली सामुदायिक विकास केन्द्रका अध्यक्ष ललित प्रसाद चौधरीसहित पदाधिकारी, कर्मचारीहरुको सहभागिता रहेको खानेपानी स्वच्छता सुशासन प्रणाली सवलीकर णपरियोजनाका उधम विकास अधिकृत रुपेश चौधरीले जानकारी दिए ।
सप्तकोसी नगरपालिका र अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा यसअधि संचालित दोश्रो चरणको परियोजना अप्रिल ३० मा सम्पन्न भएको थियो भने मे १ मा तेस्रो चरणको परियोजना स्वीकृत भएको महुली सामुदायिक विकास केन्द्रले जनाएको छ ।