न्यूज टुडे
कञ्चनरुप, ०८जेठ ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा धार्मिक उल्लासका साथ भव्य कलश यात्रा निकालिएको छ । कञ्चनरुप नगरपालिका वडा नं. ९ स्थित रुपनगरमा रहेको राजाजी दिवर थान मन्दिरको आयोजनामा बिहीबार एक विशेष समारोहका बीच कलश यात्रा सम्पन्न भएको हो ।
यो यात्रासँगै स्थानीय क्षेत्रमा धार्मिक आस्था र भक्तिभावको लहर छाएको छ । महायज्ञको पूर्वसन्ध्यामा आयोजना गरिएको उक्त कलश यात्रामा महिला, पुरुष, युवा तथा ज्येष्ठ नागरिक गरी सयौं श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो । रुपनगरबाट सुरु भएको यात्रा विभिन्न टोल तथा बस्तीहरूको परिक्रमा गर्दै वडा नं. ४ स्थित धन्कट्टासम्म पुगेको थियो ।
यात्रामा सहभागी श्रद्धालुहरूले टाउकोमा पवित्र जलसहितको कलश बोकेका थिए । बाजागाजा, भजन–कीर्तन र विभिन्न धार्मिक झाँकीसहित निस्किएको यात्राले कञ्चनरुप क्षेत्र गुञ्जायमान बनेको थियो । स्थानीय कलाकारहरूले प्रस्तुत गरेका सांस्कृतिक झाँकीहरूले कलश यात्रालाई थप आकर्षक र उल्लासमय बनाएको थियो ।
आयोजक समितिका सक्रिय सदस्य रमेश प्रसाद यादवका अनुसार राजाजी दिवर थान मन्दिर परिसरमा सञ्चालन हुन लागेको ‘पुरुषोत्तम महायज्ञ’ आज जेठ ८ गतेदेखि सुरु भई आगामी जेठ १५ गते समापन हुनेछ । महायज्ञलाई भव्य र सभ्य रूपमा सफल बनाउन स्थानीय स्तरमा व्यापक तयारी गरिएको र छिमेकी जिल्ला तथा सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो संख्यामा श्रद्धालुहरू आउने अपेक्षा गरिएको यादवले जानकारी दिए ।
यस महायज्ञको प्रमुख वाचकका रूपमा प्रख्यात कथावाचिका प्रशंसा देवी उपाध्याय रहनुभएको छ । महायज्ञ अवधिभर उहाँको मुखारविन्दबाट दैनिक रूपमा संगीतबद्ध कथा वाचन तथा धार्मिक प्रवचन प्रस्तुत गरिनेछ ।
आठ दिनसम्म चल्ने यस महायज्ञ अवधिभर दैनिक रूपमा विशेष पूजा–आराधना, हवन, र भजन–कीर्तन जस्ता आध्यात्मिक कार्यक्रमहरू सञ्चालन गरिनेछन् । महायज्ञलाई थप बिशेष बनाउन अवधिभर विभिन्न सांस्कृतिक नाच तथा झाँकीहरूको प्रदर्शन गरिनेछ भने लाख बत्ती बालेर विशेष आरधना समेत गरिने आयोजक समितिले जनाएको छ । महायज्ञमा आमन्त्रित अन्य प्रतिष्ठित साधुसन्तहरूको समेत उपस्थिति रहने र उनीहरूबाट धार्मिक ज्ञान तथा संस्कारबारे प्रवचन प्रदान गरिनेछ ।
यस महायज्ञले स्थानीय क्षेत्रमा आपसी भाइचारा, शान्ति र धार्मिक चेतना अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।