• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

संग्रौला गुगल इन्जिनियर बनेपछि जन्म थलोमा खुशीयाली

संग्रौला गुगल इन्जिनियर बनेपछि जन्म थलोमा खुशीयाली
उत्तम आचार्य
रुपनगर, ० ७ जेठ। 
सप्तरीको कञ्चनरुप नगरपालिका–१२ रुपनगर, प्रगति टोलकी समृद्धि संग्रौलाले विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी गुगलमा ‘सफ्टवेयर इन्जिनियर’का रूपमा सफलता हासिल गरेपछि जन्मथलोमा खुशीयाली छाएको छ । सामान्य गाउँमा जन्मिएर पनि विश्वमा आफ्नो जन्मथलोको पहिचान स्थापित गराउन योगदान पुर्‍याएकोमा परिवारजन, आफन्त तथा छिमेकीमा खुशीयाली छाएको हो । 
संग्रौलाको सफलताले  गाउँको नाम उच्च बनाएको  भन्दै अहिले गाउँदेखि सामाजिक सञ्जालसम्म बधाई तथा शुभकामनाको ओइरो लागेको छ ।  रुपनगरको साधारण परिवेशबाट विश्व प्रविधि जगत्को अग्रणी कम्पनीसम्मको उनको यात्रा अहिले धेरै नेपाली युवायुवतीका लागि प्रेरणाको स्रोत बनेको छ। समृद्धिको सफलताले केवल परिवार वा गाउँ मात्र होइन, समग्र सप्तरी जिल्लाकै गौरव बढाएको स्थानीयवासीहरू बताउँछन् ।
समृद्धि गुगल इन्जिनियर बनेको खबर सार्वजनिक भएपछि रुपनगरस्थित उनको पुर्ख्यौली घरमा खुसीयाली छाएको छ। ९३ वर्षीय हजुरबुवा देवीप्रसाद संग्रौलालाई बधाई दिन आउनेहरूको भीड लागिरहेको परिवारले जनाएको छ। सामाजिक सञ्जाल, फोन र म्यासेन्जरमार्फत देश–विदेशबाट शुभकामना आउने क्रम जारी रहेको बुवा कृष्ण संग्रौलाले जानकारी दिएका छन्।
स्थानीयवासी रमेश कुमार दाहालका अनुसार समृद्धिको उपलब्धिले “सिङ्गो रुपनगरवासीमा गौरव र खुसी थपिएको छ भने सप्तरी जिल्लाको नाम अन्तर्राष्ट्रिय स्तरमै उचो भएको छ।”
समृद्धिका अनुसार कलेजमा सिकाइने सैद्धान्तिक ज्ञान र विश्वभरका अर्बौं प्रयोगकर्ताले प्रयोग गर्ने प्रणालीमा काम गर्नुबीच ठूलो अन्तर हुन्छ। “कलेजमा कोड लेख्न सिकाइन्छ, तर करोडौं मानिसले एकैपटक प्रयोग गर्ने प्रणालीलाई कसरी सुरक्षित, दिगो र प्रभावकारी बनाउने भन्ने कुरा वास्तविक कार्यक्षेत्रमै सिक्न पाइन्छ,” उनले बताएकी छन्।
उनले प्रत्येक चुनौतीलाई अवसरका रूपमा लिँदै निरन्तर सिकाइ र मेहनतलाई आफ्नो सफलताको आधार बनाएकी छन्। अनुशासन, लगनशीलता र आत्मविश्वासका साथ अध्ययन गरे जुनसुकै उचाइ पनि हासिल गर्न सकिने सन्देश उनले नेपाली युवापुस्तालाई दिएकी छन्।
वि.सं. २०५८ साल दशैंको नवमीका दिन बुवा कृष्ण संग्रौला र आमा कमला संग्रौलाको पहिलो सन्तानका रूपमा जन्मिएकी समृद्धिले बाल्यकालको केही समय आफ्नै जन्मथलो रुपनगरमा बिताइन्। पछि बुवाको जागिरका कारण परिवार भक्तपुर सरेपछि उनले त्यहाँ अध्ययनलाई निरन्तरता दिइन्।
१३ वर्षको उमेरमा बुवा–आमासँगै अमेरिका पुगेकी समृद्धिका लागि नयाँ देश, फरक भाषा, नयाँ संस्कृति र अपरिचित परिवेशसँग घुलमिल हुनु सुरुमा सहज थिएन। तर ती सबै चुनौतीलाई उनले आफ्नो दृढ इच्छाशक्ति, अनुशासन र अथक मेहनतले पार गरिन्। बाल्यकालदेखि नै “भविष्यमा केही ठुलो र ऐतिहासिक सफलता हासिल गर्ने” सपना बोकेकी समृद्धिले आज त्यो सपनालाई वास्तविकतामा परिणत गरेर देखाएकी छन्।
उच्च शिक्षाका लागि उनले अमेरिकाको टेक्सस विश्वविद्यालयमा कम्प्युटर साइन्स विषय अध्ययन गरिन्। अध्ययनकै क्रममा उनले आफ्नो प्रतिभा, तार्किक क्षमता र प्राविधिक दक्षताका आधारमा दुई पटक गुगलमा इन्टर्नशिप गर्ने अवसर प्राप्त गरिन्। इन्टर्नशिप अवधिमा उनले देखाएको कार्यक्षमता, समस्या समाधान गर्ने क्षमता र कामप्रतिको समर्पणबाट प्रभावित हुँदै गुगलले उनलाई अध्ययन पूरा हुनासाथ पूर्णकालीन ‘सफ्टवेयर इन्जिनियर’को जिम्मेवारी प्रदान गरेको हो।
हाल समृद्धि गुगलको महत्वपूर्ण ‘गुगल एड्स’ टोलीमा कार्यरत रहेर विश्वभरका विज्ञापनदाताका लागि जटिल प्राविधिक प्रणालीलाई अझ प्रभावकारी र सहज बनाउने काममा संलग्न छिन्। उनले डिजिटल विज्ञापन प्रणालीमा प्रयोग हुने आधुनिक प्रविधि, डेटा व्यवस्थापन र प्रणाली विस्तार (Scalability) सम्बन्धी महत्वपूर्ण परियोजनाहरूमा योगदान दिइरहेकी छन्।
नेपालको सानो गाउँबाट विश्वकै ठूलो प्रविधि कम्पनीसम्म पुग्ने समृद्धि संग्रौलाको यात्रा आज संघर्ष, सपना र सफलताको प्रेरणादायी उदाहरण बनेको छ।