न्यूज टुडे
राजविराज,०५ जेठ ।
सप्तरीको राजविराज नगरपालिकाका सव-इन्जिनियर मनोज कुमार यादवमाथि कार्यक्षेत्रमै दुर्व्यवहार भएको छ । राजविराज नगरपालिका ८ मा संचालन भइरहेको सडक निर्माण कार्यको निरीक्षण तथा अनुगमन गर्न जाँदा राजविराज ५ ठेगाना भएका हाल ८ नम्बर वडामा बस्ने गुलाव यादवले सव -इन्जिनियर यादवमाथि दुर्व्यवहार गरेको हो ।
मंगलबार विहान १०:०० बजे नगरपालिकाद्वारा संचालित योजनाको निरीक्षण तथा अनुगमन गएको समयमा कुनै जनकारी तथा कारण विना कुटपिट, गालीगलोज गर्नुको साथै आफ्नो साथमा रहेको ल्यापटप तोडफोड गरि हातपात गरेको सव- ईन्जिनियर यादवले बताए ।
यसैगरी क्षति पुर्याउने अमर्यादित तथा अभद्र व्यवहार गरेको भन्दै नगरपालिकाका कर्मचारीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुद्वारा संयुक्त हस्ताक्षरमा मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई अविलम्ब पक्राउ गरि कारबाहीको माग गरेको हो ।
‘राष्ट्रसेवक कर्मचारी आफ्नो जिम्मेवारी तथा पेशागत कर्तव्य निर्वाह गर्न जाँदा यस प्रकारको अभद्र,अमर्यादित तथा गैर कानूनी व्यवहार हुनु अत्यन्तै निन्दनीय तथा अस्वीकार्य विषय हो’ विज्ञप्तिमा भनिएको छ,यस नगरपालिकाका सम्पूर्ण कर्मचारीहरु उक्त घटनाको घोर भर्त्सना गर्दछ ।’
दोषीलाई अविलम्ब कारबाही नभएसम्म नगरपालिकाको सम्पूर्ण सेवा ठप्प रहेको उल्लेख गरिएको विज्ञप्तिमा सेवाग्रहीमा पर्न गएको असुविधा प्रति क्षमायाचना समेत गरिएको छ ।
‘दोषीलाई प्रचलित कानून बमोजिम कडा कारबाही नभएसम्म तथा कर्मचारीहरुलाई सम्मानजनक र सुरक्षित बाताबरणमा कार्य गर्ने सुनिश्चितता नगरिएसम्म अति आवश्यक सेवा बाहेक सम्पूर्ण शाखाहरुबाट सम्पादन हुने आकस्मिक सेवा बाहेक सम्पूर्ण कार्य तथा सेवा स्थगित रहने जानकारी गराउँदछौ’ विज्ञप्तिमा भनिएको छ,’सेवाग्राहीहरुको सेवा प्रवाहमा भएको असुविधप्रति सम्पूर्ण कर्मचारी परिवार क्षमाप्रार्थी छौं। ‘
नगरपालिका कार्यबाहक प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई बोधार्थ दिइएको प्रेस विज्ञप्तिमा इन्जिनियर अजय कुमार यादव,सुशील यादव, शिक्षा शाखा प्रमुख भोगेन्द्र प्रसाद यादव,जिन्सी शाखा प्रमुख मो. आलम खान,योजना अधिकृत मनोज कुमार यादव, शाखा अधिकृत अजय कुमार साह,रोजगार संयोजक ज्योतिष कुमार यादव, जिल्ला कार्यक्रम संयोजक राजेन्द्र यादव रोजगार परामर्शकर्ता शिव विलास यादव, परिवार परामर्शकर्ता राम नरेश यादव, सरोज देव, रंजिता यादव लगायतकाले हस्ताक्षर गरेका छन् ।