राजविराज नगरपालिकाले आठ कक्षाको बार्षिक परीक्षा लिंदा फेल भएका विद्यार्थीलाई पनि पास गराईदिएपछि उक्त परीक्षाको मर्यादामाथि नै प्रश्न उठेको छ ।
सम्बन्धित विद्यालयका प्रधानाध्यापकले नै यस कुराको रहस्योद्घाटन गरी दिएपछि नगरपालिकाले लिने परीक्षा कस्तो रहेछ भन्ने कुराको रहस्य खुलेको हो । नगरपालिकाले नै आयोजना गरेको कार्यक्रममा प्रधानाध्यापकले कार्यमा तीन नम्बरल्याउने विद्यार्थीको मार्कसिटमा पास नम्बर हालेर रिजल्ट निकलोपछि नगरपालिकाले लिने परीक्षाले विद्यार्थीको भविष्य चौपट पारिरहेको त छैन? भन्ने प्रश्न र आशंका दुवै उठेको छ । विद्यार्थीको पढाईको स्तर मापनका लागि नै परीक्षा लिईन्छ । परीक्षार्थी परीक्षामा पास हुन सकेन भने उसको पढाईको स्तर कमजोर रहेछ भन्ने थाहा हुन्छ र उसलाई थप मिहिनेतको आवश्यकता पर्न जान्छ । यो काम समयमा गरिएन र जथाभावी पास (उत्तीर्ण) गरियो भने अन्त्यमा उसको भविष्य विग्रन सक्दछ, ज ुन कुरा नगरपालिकाको शिक्षा शाखाले पनि बुझ्नु पर्ने हो । नगरपालिकाले परीक्षाको नाममा लिन नहुने शुल्क समेत विद्यार्थीबाट उठाएको छ । यस कुराको चौतर्फी चर्चा र विरोध सुरु भएपछि रकम फिर्ता गरेर नगरपालिकाका सम्बन्धित कर्मचारी चोखिने प्रयत्नमा लागेका छन् । नगरपालिका स्थानीय सरकार समेतको भूमिकामा छ ।
आफ्ना क्षेत्रका विद्यालयहरुमा पठनपाठनको स्तर कसरी उकास्न सकिन्छ भन्ने जिम्मेवारी समेत रहेका कारण शिक्षा क्षेत्रमा उदाहरणीय काम गर्न सके मात्र स्थानीय सरकारका रुपमा उसको कार्यशैलीलाई सफल मान्न सकिन्छ । तर बाहिर परीक्षा लिएको देखाएर भित्र भित्रै विद्यार्थीको भविष्य चौपट पार्ने कार्य हुन्छ यदि भने त्यो सरासर घातक हो । यस्ता अवाञ्छित गतिविधि कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन सक्दैन ।