न्यूज टुडे
राजविराज,२८ बैशाख ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–८ एकता टोलकी घरेलु हिंसा पीडित ४७ वर्षीया अम्बिका कार्कीलाई इन्सेकले कानुनी प्रक्रियाका लागि आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको सहयोगमा जिल्ला अदालतमा उजुरी दर्तासँगै कानुनी उपचारका लागि ७ हजार ५ सय रुपियाँ आर्थिक सहयोग गरेको हो ।
नाबालक ११ वर्षीय छोराको संरक्षक भई आफ्नो हकमा समेत घरेलु हिंसा पीडित अम्बिका कार्कीले पति पूर्णबहादुर न्यौपानेका विरुद्ध जिल्ला अदालतमा दिइएको उजुरी शुक्रबार दर्ता गराइएको इन्सेक कोशी प्रदेश संयोजक मनोहर कुमार पोखरेलले बताए।
इन्सेक कोशी प्रदेश कार्यालयमा सुन्दरहरैँचा नगरपालिका–८ नम्बर वडा कार्यालयको सिफारिससहित पीडितले निवेदन दिएपछि पीडितको हकमा नि:शुल्क कानुनी सहायता उपलब्ध गराउन इन्सेकले जिल्ला अदालतमा निवेदन दिनुका साथै कानुनी उपचारका लागि आवश्यक पहल गरेको संयोजक पोखरेलले जानकारी दिए ।
घरेलु हिंसा पीडित कार्कीले ०५८ फागुन १५ गते पूर्णबहादुर न्यौपानेसँग सामाजिक परम्परा अनुसार विवाह गरेकी थिइन् । पति वैदेशिक रोजगारीमा गएपछि आफूसहित छोराको शिक्षा, स्वास्थ्य, औषधोपचारमा वेवास्ता गरेकाले इन्सेकको सहयोगमार्फत अदालतमा मानाचामल र अंश चलन मुद्दा दर्ता गराएको उनले बताए ।
इन्सेकद्वारा गठित मानव अधिकार रक्षक सञ्जालले घरेलु हिंसा पीडित महिलाहरूलाई न्यायमा पहुँचका लागि इन्सेकले सहयोग गर्छ भन्ने सुनेका आधारमा सञ्जालका सदस्य तथा पत्रकार बाबुराम भण्डारीमार्फत पीडित इन्सेक कोशी प्रदेश कार्यालय आइपुगेकी थिइन् ।
घरपरिवार र समाजका भद्र भलादमी वीच ०८३ वैशाख १० गते भएको छलफलमा पति पूर्णबहादुरले छोराहरूको पालन पोषण र पत्नीको पालन पोषण नगर्ने, अंश नदिने भनेपछि आफू इन्सेकसम्म आइपुगेको पीडितले बताइन् ।
मानाचामलसहित अंश चलन शीर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि पीडितले न्याय पाउने आशा राखेकी छन् ।