• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

एमालेद्वारा राजविराजमा दोश्रो दिन पनि विरोध प्रदर्शन 

एमालेद्वारा राजविराजमा दोश्रो दिन पनि विरोध प्रदर्शन 
न्यूज टुडे
राजविराज,१५ चैत । 
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीको विरोधमा सप्तर सदरमुकाम राजविराजमा आइतबार समेत एमालेले विरोध प्रदर्शनलाई निरन्तरता दिएको छ ।ओलीलाई निशर्त रिहाइको माग गर्दै  एमाले नेता–कार्यकर्ता तथा समर्थकहरूले विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनमा उत्रिएका एमाले नेताकार्यकर्ताले अध्यक्ष ओलीको पक्राउलाई “राजनीतिक प्रतिशोध” को संज्ञा दिँदै तत्काल रिहाइको माग गरे । उनीहरुले  शान्तिपूर्ण आन्दोलनबाट माग सम्बोधन नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए । 
उनीहरुले गृहमन्त्री सुदन गुरुङको राजिनामा तथा ओलीलाई रिहाई गर्न माग राखी विरोध प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा उनीहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै बालेन्द्र नेतृत्वको सरकारको चर्को आलोचना गरे।
जिल्ला सदरमुकाम राजविराजमा प्रदर्शनकारीहरूले “लोकतन्त्रको हत्या बन्द गर” र “राजनीतिक पूर्वाग्रह त्याग” जस्ता नारासहित नगरका विभिन्न स्थानमा प्रदर्शन गर्दै नेता चौकमा पुगेर कोणसभा गरेका थिए। कोणसभामा वक्ताहरूले अध्यक्ष ओलीमाथि गरिएको कारबाहीलाई अलोकतान्त्रिक, पूर्वाग्रही र गैरकानुनी भएको आरोप लगाए।
यसअघि एमाले नेताकार्यकर्ताले प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्री बालेन्द्र साह (बालेन) लाई पूर्वप्रधानमन्त्री ओलीको पक्राउको विरोधमा विरोध पत्र बुझाएका छन् । 
शनिबार कञ्चनपुर क्षेत्रमा पनि एमाले कार्यकर्ताहरूले प्रदर्शन गर्दै पूर्व–पश्चिम राजमार्गमा टायर बालेर विरोध जनाएका थिए। आन्दोलनका कारण केहीबेर राजमार्ग क्षेत्र तनावग्रस्त बनेको थियो ।
उता सम्भावित अप्रिय घटना रोक्न तथा सुरक्षा अवस्था मध्यनजर गर्दै नेपाल प्रहरीले राजविराज, कञ्चनपुरलगायत जिल्लाका संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ।
एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई शुक्रबार राती गिरफ्तार गरेका थिए । उनीहरु पक्राउको विरुद्धमा एमालेले देश व्यापी विरोध प्रदर्शन गरेका छन् ।