फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि यतिबेला उम्मेदवारदेखि राजनीतिक दलहरुको सक्रियता बढेको छ । चुनावी प्रचारमा नै दिन बित्ने गरेका छन् ।
यही समयमा सुक्खायाम समेत सुरु भएकोले तराई–मधेशका जिल्लामा फेरि पानीको संकेत हुने हो कि भन्ने चिन्ता पनि जोडिएको छ । गत वर्ष समयमा वर्षा नभएका कारणले किसानले रोपाइँ गर्न पाएनन् त्यही बेला पिउने पानी समेतको अभाव ब्यहोर्नु प¥यो । चापाकल, इनार लगायतका पानीका स्रोत सुक्दै गएका कारणले मधेश प्रदेशका जिल्लाहरुमा त ट्यांकर र नेपाली सेना मार्फत बारुण–यन्त्रबाट बस्ती बस्तीमा पुगेर पानी वितरण गर्नुपरेको घटना ताजै छ । त्यसैले यस वर्षको सुक्खा याममा पनि जलसंकटको जोखिम नरहेको होईन । पानी बिना जीवनजीवीका चल्न नसक्ने कुरा जगजाहेर नै छ । त्यसैले सम्भावित संकटलाई ध्यानमा राख्दै तत्सम्बन्धि पूर्व तयारीमा जुट्न आवश्यक छ । त्यति बेला केही महिना मधेश प्रदेशका जनताले ठूलो संकट भोगे र उनीहरुको अवस्था बुझ्न तत्कालीन सरकार प्रमुख (प्रधानमन्त्री)ले तराई झरेर अवस्थाका बारेमा जानकारी लिएर फर्किने काम त भयो । तर, त्यसपछि यस समस्यालाई समाधानका लागि थप काम चाहीँ नभएको भन्ने जनगुनासो अहिले पनि कायमै छ ।
जनताले भोग्नु परेको यस्तो समस्या दोहोरिन नपाओस् भन्नका लागि पहिलेदेखि नै काम नथाल्ने हो भने फेरि यस्तो समस्या नदोहोरिएला भन्न सकिन्न ।