न्यूज टुडे
राजबिराज,०३ फागुन ।
राजबिराज ७ स्थित स्थित शिव मन्दिर परिसरमा आइतबार भक्तजनहरूका लागि निःशुल्क फलफूल तथा प्रसाद वितरण गरेको छ । महाशिवरात्री पर्वको अवसरमा विश्व हिन्दु युवा संघद्वारा निःशुल्क फलफूल तथा प्रसाद वितरण गरेको हो ।
उल्लेखनीय संख्यामा भक्तजनहरूको सहभागिता रहेको मन्दिरमा श्रद्धालुहरूले प्रसाद ग्रहण गर्दै धार्मिक उत्साह र श्रद्धाभावका साथ पर्व मनाएका छन् ।
धार्मिक आस्था, सेवाभाव र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ । विश्व हिन्दु युवा संघका अध्यक्ष दिपेश जोशीले महाशिवरात्री केवल धार्मिक पर्व मात्र नभई आत्मशुद्धि, संयम र समाजसेवाको भावना अभिव्यक्त गर्ने विशेष अवसर भएको बताए। सोही भावनालाई आत्मसात् गर्दै भक्तजनहरूका लागि फलफूल तथा प्रसाद वितरण गरिएको उनले जानकारी दिए ।
उनले हिन्दू धर्मको संरक्षणसँगै समाजसेवामा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा, सहकार्य र सहयोगको संस्कार विस्तार गर्ने विश्वास व्यक्त गरे ।
‘आजको सानो प्रयासले धार्मिक आस्थाप्रति सम्मान प्रकट गर्नुका साथै समाजमा एकता र सहिष्णुताको वातावरण अझ सुदृढ बनाउनेछ,” उनले भने, आगामी दिनमा पनि समाजकेन्द्रित तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्द्छु ।’
कार्यक्रममा युवाहरूको सक्रिय र उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। स्वयंसेवकका रूपमा खटिएका युवाहरूले प्रसाद व्यवस्थापन, वितरण तथा भक्तजनहरूको सहजतामा ध्यान दिँदै कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाएका थिए ।
महाशिवरात्री हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो, जसलाई भगवान शिवको आराधना र उपासना गर्ने विशेष दिनका रूपमा मनाइन्छ । धार्मिक विश्वासअनुसार यस दिन भगवान शिवले ताण्डव नृत्य गर्नुका साथै माता पार्वतीसँग विवाह सम्पन्न गरेको मान्यता रहेको छ ।
यस अवसरमा भक्तजनहरू रातभर जागरण बसेर शिव पूजा, अभिषेक, ध्यान तथा मन्त्रजप गर्ने परम्परा छ । शिवरात्रीमा बेलपत्र, दूध, जल तथा धतुरो अर्पण गर्नु विशेष धार्मिक महत्वका साथ जोडिएको छ । बेलपत्रलाई पवित्रता र समर्पणको प्रतीक मानिन्छ भने दूधले शान्ति र शुद्धताको भाव व्यक्त गर्ने विश्वास गरिन्छ ।
महाशिवरात्रिको अवसरमा आयोजना गरिएका यस्ता सामाजिक तथा धार्मिक कार्यक्रमहरूले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै समाजमा एकता, सहिष्णुता र सेवाभावलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।