ड्ब्लूएचएचको सहयोगमा महुली सामुदायिक विकास केन्द्र बकधुवाद्वारा सप्तरीमा संचालित खानेपानी, सरसफाइ तथा स्वच्छता योजनालाई विस्तार गर्नुपर्ने राजविराजमा मंगलबार आयोजित एक बैठकमा सहभागीहरुले जोड दिएका छन् । जिल्ला समन्वय समिति सप्तरीमा आयोजित डि-प्याक्ट सप्तरीको बैठकमा सहभागी बक्ताहरुले यस्तो जोड दिएका हुन् ।
प्राप्त सुझाव र भावी योजना बारे जानकारी गराउदै एमसीडिसीका निर्देशक प्रभु नारायण चौधरी । फोटो : न्यूज टुडे
जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहले ड्ब्लूएचएचको सहयोगमा महुली सामुदायिक विकास केन्द्र बकधुवाद्वारा सप्तरीको विभिन्न पालिकामा संचालित खानेपानी, सरसफाइ तथा स्वच्छता योजना अत्यन्तै महत्त्वपूर्ण रहेको बताए । थोरै लगानीमा परिणाममुखी कार्य गरेकोमा संस्थालाई धन्यवाद दिदै उनले यसलाई थप पालिकाहरुमा विस्तार गर्नुपर्नेमा जोड दिए ।
योजनाले पछाडि परेको बर्ग र समुदायलाई ठूलो राहत मिलेको तथा जनताको आधारभूत आवश्यकतालाई छिटो सम्बोधन गर्ने भएकोले यसबाट पाठ सिकेर तीनै तहको सरकारले आ-आफ्नो कार्ययोजनामा समेट्नु पर्ने आवश्यकता रहेको उनले बताए ।
महुली सामुदायिक विकास केन्द्रका निर्देशक प्रभुनारायण चौधरीले योजनालाई थप प्रभावकारी र जनमैत्री बनाउन स्थानीय सरकारको सहयोग अपरिहार्य रहेको बताए । स्थानीय सरकारको साथ सहयोगले मात्र समुदायमा काम गर्न सहज हुने भन्दै उनले योजना संचालन गर्न स्थानीय सरकारले बाताबरण बनाइदिनु पर्ने बताए ।
समन्वय उपप्रमुख शम्भु कुमार यादवले कम लगानीमा खानेपानी तथा सरसफाइको क्षेत्रमा जिल्लामै उदाहरणीय कार्य भएको बताए । उनले यसको व्यवस्थापन र निरन्तरताको लागि भावी कार्ययोजना बनाएर अगाडि बढ्न सरोकारवालाहरुलाई आग्रह गरे ।
पत्रकार बृजमान तामाङले योजना नजिजामुखी र पारदर्शी रहेको भन्दै प्रशंसा व्यक्त गरे । उनले योजनालाई दीर्घकालीन रुपमा अगाडि बढाउन सम्बन्धित पालिकाका जनप्रतिनिधिहरुसंग समन्वय गरि अगाडि बढ्न सुझाव दिए ।
महुली सामुदायिक विकास केन्द्रका वास अफिसर सन्तोष कुमार चौधरीले संस्थाको कार्य क्षेत्र बारे जानकारी दिदै योजना संचालनमा लागेको बजेट प्रस्तुत गरे । बजेटको उपयोगिताले कम लगानीमा महत्त्वपूर्ण कार्य भएको उनले बार्षिक प्रतिबेदन सार्वजनिक गरे।
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साह्को अध्यक्षतामा आयोजित बैठकमा सप्तकोशी नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरी, महुली सामुदायिक विकास केन्द्रका उपाध्यक्ष सावित्री चौधरी, महासचिव चन्द्रमणी मण्डर, सह निर्देशक चन्द्र नारायण चौधरी, विष्णुपुर गाउँपालिकाका वास प्रतिनिधि गंगा साह, अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका वास प्रतिनिधि कुलानन्द चौधरी, राजगढ गाउँपालिकाका वास प्रतिनिधि चन्दमणि यादवलगायतका जिल्लाका विभिन्न कार्यालयका प्रतिनिधि तथा सरोकारवालाहरुको सहभागीता थियो ।