ड्ब्लूएचएचको सहयोग तथा महुली सामुदायिक विकास केन्द्र बकधुवाद्वारा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका र सप्तकोसी नगरपालिकामा संचालित विभिन्न योजनाको एक जिल्ला स्तरीय टोलीले अनुगमन गरेको छ । जिल्ला समन्वय समितिका संयोजक शिव नारायण साह नेतृत्वको जिल्ला स्तरीय टोलीले सोमबार विभिन्न विद्यालय, स्वास्थ्य चौकी तथा बस्तीहरुमा संचालित खानेपानी तथा सरसफाइ योजनाको अनुगमन गरेको हो ।
स्वास्थ्य चौकी मलेठको अनुगमन गर्दै जिल्ला स्तरीय टोली । फोटो : न्यूज टुडे
टोलीले योजना संचालनको लागत, उपलब्धि, प्रभावकारिता र चुनौती तथा आवश्यकता बारे सरोकारवालासंग जानकारी लिदै कमीकमजोरी औल्याउँदै आवश्यक सल्लाह सुझाव दिएका थिए । उनीहरुले संचालित योजना शुद्ध र स्वच्छ खानेपानीको दृष्टिले अति महत्त्वपूर्ण तथा सौचालय बाताबरणमैत्री भएकोले यसलाई अन्य ठाउँमा पनि विस्तार गर्नुपर्नेमा जोड दिए ।
थोरै लगानीमा नतिजामुखी कार्यक्रमले सरकारी लक्ष्य पूरा गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्दै अनुगमनमा सहभागीहरुले यस्ता नमूना कार्यबाट अरुले समेत प्रेणा लिएर अगाडि बढ्नु आवश्यकता रहेको बताए ।
बेहराचाँप खानेपानी योजनाक्प बारे जानकारी लिदै अनुगमन टोली । फोटो : न्यूज टुडे
महिकर श्यामा माध्यमिक विद्यालय प्रशवनीका प्रधानाध्यापक रामकृष्ण यादवले खानेपानी तथा स्वच्छता योजनाले विद्यालयले ठूलो राहत पाएको बताए । उनले कार्यक्रमले विद्यालयलाई थ्री स्टार घोषणा गर्न सहयोग पुगेको बताए । कार्यक्रम संचालनसंगै विद्यालयमा खानेपानी, सौचालयको सुविधा प्राप्त भएको जानकारी दिए । संस्थाको तर्फबा रु २१ लाख ३० हजार ३ सय ३८ र विद्यालयको रु ३ लाख ८२ हजार ८७ गरि कुल २५ लाख १२ हजारमा ४ सय २५ रुपैयाँको लागतमा योजना सप्पन्न गरिएको एमसीडिसीका वास अफिसर सन्तोष कुमार चौधरीले बताए ।
विशाल चौकमा निर्माणाधीन दिशाजन्य लेदो व्यवस्थापन केन्द्र । फोटो : न्यूज टुडे
यसैगरी अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ स्थित बेहराचाँपमा सुरक्षित आवाज परियोजनामा स्वच्छ खानेपानीको सुविधा पुर्याएको भन्दै स्थानीयले खुशी व्यक्त गरे । बेहरचाँप खानेपानी तथा सरसफाइ योजना अन्तर्गत खानेपानी टंकी निर्माण गरि घरघरमा धारासहितको खानेपानीको सुविधा पाएको उनीहरुले बताए ।
यसैगरी योजना अन्तर्गत सप्तकोसी नगरपालिका १० मलेठ स्वास्थ्य चौकीमा संस्थाको रु १६ लाख ३५ हजार ५ सय ४७ र सप्तकोसी नगरपालिकाको ४ लाख २७ हजार ५१ गरि कुल २० लाख ३८ हजार २ सय ९८ रुपैयाको लागतमा खानेपानी सुविधा र सौचालय सुबिधा संचालन गरीएको स्वास्थ्य चौकी प्रमुख हेम नारायण चौधरीले बताए । उनले अव्यवस्थित नयाँ भवनमा संचालित स्वास्थ्य चौकी संस्थाको सहयोगले सुविधा सम्पन्न खानेपानी तथा सौचालयको आधारभूत समस्या पूर्ति भएको भन्दै खुशी व्यक्त गरे ।
यसैगरी ड्ब्लूएचएचको सहयोगमा महुली सामुदायिक विकास केन्द्र ( एमसीडिसी)द्वारा अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित बिशाल चौकमा दिशा जन्य लेदो व्यवस्थापन केन्द्रको पूर्वाधार निर्माण कार्यको समेत टोलीले स्थलगत निरीक्षण गरेको छ । कुल २ करोड रुपैयाको लागतमा निर्माण सप्पन्न गर्ने लक्ष्य लिएको योजनाको पूर्वाधारको कार्य तीब्र गतिमा अगाडि बढाइएको एमसीडिसीका निर्देशक प्रभुनारायण चौधरीले बताए ।
यस्ता योजना मुलुकको ९ स्थानमा संचालनमा रहेको तथा देशमै दशौ स्थानमा रहेको योजनामा हाल संस्थाको स्वीकृत बजेट २५ लाखबाट काम सुरु गरिएको र अन्य स्थानीय सरकार, संघीय सरकार तथा दातृ निकायहरुको सहयोग लिएर सम्पन्न गर्ने लक्ष्य लिएको उनले बताए ।
समन्वय प्रमुख साहको नेतृत्वमा रहेको अनुगमन टोलीमा उपप्रमुख शम्भु कुमार यादव, सप्तकोसी नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरी, जिल्ला समन्वय अधिकारी कुन्दन कुमार कर्ण, एमसीडिसीका अध्यक्ष रामलगन मण्डर, उपाध्यक्ष सावित्री चौधरी,महासचिव चन्द्रमणी मण्डर, ड्व्लुएचएचकी मिल अफिसर अर्चना कुमारी यादव, पत्रकार बृजमान तामाङ लगायतका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता थियो ।