• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएपछि यति बेला त्यस सम्बन्धि गतिबिधि बढ्न थालेको छ । निर्वाचन आयोग चुनावको तयारीमा सक्रिय छ भने अधिकांश दलहरुले पनि प्रत्यक्ष, परोक्ष रुपमा निर्वाचन लक्षित गतिबिधिमा जोड दिन थालेका छन् । 
गत निर्वाचनबाट संसदको सबैभन्दा ठूलो दलका रुपमा रहेको नेपाली काँग्रेसले देशव्यापी रुपमा उम्मेदवार छनौट गरी केन्द्रमा पठाउन थालिसकेको छ । प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनका उम्मेदवार छनौट गरी काँग्रेसले पठाउन थालेको हो । नेकपा(एमाले) यति बेला ११ ओं महाधिबेशनमा जुटेको छ । एमालेका वर्तमान अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिबेशन उद्घाटन सत्रमा स्वतन्त्र तथा निष्पक्ष निर्वाचन हुने बातावरण सरकारले बनाउनु पर्ने कुरा बताएका छन् । यद्यपि प्रतिनिधिसभा पुनस्र्थापनामा जोड दिँदै आएको उक्त पार्टीले निर्वाचन आयोगले तय गरेको समयसीमा भित्रै दल दर्ताको कार्य पूरा गरिसकेको छ । यसै गरी नेपाली कम्यूनिष्ट पार्टीले देशव्यापी रुपमा नै निर्वाचन लक्षित गतिबिधि बढाउँदै लगेको छ । विभिन्न प्रदेशमा सन्देशसभाको आयोजना गर्दै उसले निर्वाचन लक्षित धारणा जनसमक्ष व्यक्त गर्दै आएको छ । निर्वाचनलाई नै लक्षित गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उम्मेदवार छनौट प्रक्रिया थालिसकेको छ । अन्य कतिपय दलको विभिन्न ठाउँमा पार्टी प्रबेशका कार्यक्रम चल्न थालेका छन् ।
सरकारले समेत निर्वाचन लक्षित तयारी र सहजीकरणको काम गरिसकेको छ । निर्वाचनमा सुरक्षा व्यवस्थालाई लिएर कतिपय दलहरुले प्रश्न उठाएका छन् । सरकारले त्यस कुरामा चाहिँ पर्याप्त ध्यान पु¥याउन आवश्यक छ ।