न्यूज टुडे
कञ्चनरूप, २८ मंसिर ।
फत्तेपुर कञ्चनपुर सडकखण्ड अन्तर्गत सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १० गंगाजलीमा शनिबार मोटरसाइकलले साइकललाई ठक्कर दिँदा चार जना घाइते भएका छन् । दुर्घटनामा साइकलमा सवार सप्तकोशी नगरपालिका १० बस्ने बर्ष ४१ को फुलचन राम, सप्तकोसी ११ बस्ने बर्ष ४० को शियाराम खड्का र मोटरसाइकलमा सवार सप्तकोशी २ बस्ने बर्ष २८ को निरज कुमार राम, सोही ठाउँको बर्ष २८ को प्रेम बिक घाइते भएका हुन् ।
कञ्चनपुरबाट फत्तेपुर तर्फ जाँदै गरेको ना ३ प २२६० नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जाँदै गरेको साईकललाई ठक्कर दिदा साईकल चालक राम, सोही साइकल पछाडी सवार खड्का गम्भीर घाइते भएका छन् ।
फुलचनको किरण पोलि क्लिनिक फत्तेपुरमा उपचार भईरहेको तथा शियारामको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको टाउको तथा शरीरको विभिन्न भागामा गम्भीर चोटपटक लागेको घाइतेका परिवारले जानकारी दिए ।
घाइते मोटरसाइकल चालक निरज कुमार राम, पछाडी सवार बिकको स्थानीय धर्मेश्वर अस्पताल ठेलियामा उपचार भईरहेको तथा दुबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
साईकल र मोटरसाइकल प्रहरी चौकी फत्तेपुरको नियन्त्रण राखी घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् । ।