• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बैंकले करोडौंको जग्गा हड्प्ने प्रयास :  झुठो मुद्दा लगाएर दुख दिएको लघुवित्त पीडितको आरोप

बैंकले करोडौंको जग्गा हड्प्ने प्रयास :  झुठो मुद्दा लगाएर दुख दिएको लघुवित्त पीडितको आरोप
न्यूज टुडे
राजविराज,२७ मंसिर ।
सप्तरीमा एक बैंकले करोडौं जग्गा हड्प्ने प्रयास गरेको लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समिति सप्तरीले आरोप लगाएका छन् । महुलीमा शनिबार पत्रकार सम्मेलन गर्दै ज्योति विकास बैंक रुपनी शाखाले कमिसनको लोभमा करोडौंको जग्गा लिलाम गर्ने प्रयास गरेको संघर्षसमितिका पदाधिकारीहरुले आरोप लगाएका हुन् । 
बैंकले जग्गा हड्प्ने जानकारी पाएपछि समितिले रोक्ने प्रयास गर्दा जग्गाधनीहरुमाथि झुठो उजुरी दिएको संघर्ष समितिका युवराज रंतेलले बताए ।  उनले सरकारसंग भएको सम्झौता विपरीत बैंकले अनावश्यक दुख दिएको भन्दै आक्रोश पोखे । उनले करोडौं सम्पत्ति हडप्न खोजेपछि प्रतिकारमा उत्रिएको स्वीकार गरे ।
सप्तकोसी नगरपालिका ७ ओद्राहा स्थित सप्तकोसी इन्टिग्रेटेड एग्रो फार्मको नाममा सप्तरीको सप्तकोसी नगरपालिका ७ का ६ कठ्ठा, क्न्चनरुप नगरपालिका १२ रूपान्तरमा रहेको १६ कठ्ठा १८ धुर,अग्नीसाइर कृष्णासवरन गाउँपालिकारहेको जग्गा गरी  ११ करोड मुल्यको जग्गा तथा अन्य जिल्लाका धेरै जग्गा अन्य विभिन्न बैंकले कमिसनको प्रलोभनमा न्यून मुल्यमा  लिलामी प्रक्रियामा चढाएको पीडितले जानकारी गराएपछि आफुहरु एक्सनमा आउनु परेको बताए ।
आफुहरु कारबाहीमा उत्रिएपछि घटना हुँदै नभएका कम्पनीका साझेदारहरु तथा घरपरिवारका सदस्य उपर अपहरण शरीर बन्धक, कुटपिट तथा लुटपाको झुठो उजुरी प्रहरीमा दिएको संघर्ष समितिका पदाधिकारीहरुकोले जानकारी दिए ।
सरकारसंग भएका सम्झौता विपरीत बैंकले गरेको हर्कत नसच्याए सशक्त आन्दोलन गर्ने संघर्ष समितिका पदाधिकारीहरुले चेतावनी दिए ।
ज्वोती बैंकमा कम्पनीको नाममा  रहेको जग्गा धितो राखी ६ करोड ॠण लिएर किस्ता बुझाउदै आएको र पछिल्लो एक बर्षदेखि  समस्या आएपछि किस्ता बुझाउन नसक्दा ११ करोडको जग्गा १-२ करोडमा लिलाम स्वीकार गर्न सामाजिक संजालमा प्रचार गरेको भन्दै  उनीहरुले आपत्ति जनाए ।  कमिसनको प्रलोभनमा करोडौं सम्पत्ति हड्प्ने योजना स्वीकार नहुने भन्दै उनीहरुले पीडितमाथि लगाएको झुठो उजुरी फिर्ता लिन आग्रह गरे । 
 बैंकले अन्याय गरेको भन्दै न्यायका लागि पहल गरिदिन  स्थानीय प्रशासन, पत्रकार तथा सरोकारवालाहरुलाई संघर्ष समितिले आग्रह गरेको छ ।  उक्त कम्पनीले २०७८ सालमा बैकबाट ॠण लिएका थिए । कम्पनीले २०८१ चैत २८ गते अन्तिम किस्ता बुझाएर थप किस्ता बुझाउने प्रक्रियामा रहँदा बखत बैंकले ज्याजती गरेको पीडितहरुको गुनासो छ । 
पत्रकार सम्मेलनमा संघर्ष समितिका केन्द्र, प्रदेश, जिल्लाका पदाधिकारी तथा लघुवित्त पीडितहरुको समेत उपस्थिति थियो । 
यसबारे बैक कर्मचारीसंग पटकपटक सम्पर्क गर्दा समेत सम्पर्क हुन सकेन ।