कृषि प्रधान मुलुक भएका कारण मुलुकमा अधिकांश जनशक्ति कृषि पेशामै लाग्दै आएका छन् । विविध भौगोलिक बनोट र हावापानीका कारणले मुलुकको कृषि उत्पादनको पनि विविधता रहँदै आएको छ ।
मधेशमा आँपको उत्पादनमा आप्mनै अग्रणी स्थान छ भने पहाडमा उत्पादित रसिला सुन्तला र जुनारको त्यस्तै विशिष्ठता रहेको छ । विशेषतः अन्न उत्पादनमा तराई–मधेशका जिल्ला अग्रस्थानमा रहेका कारण नै ‘अन्न भण्डार’ को नामले समेत सुशोभित छन् । देशभरिकै खाद्यान्न आपूर्तिमा यी जिल्लाहरुको योगदानलाई बिर्सन सकिन्न । धान र गहुँ बढी उत्पादन गरी मुलुकभरि नै आपूर्ति गर्ने क्रम कायम रहेकाले तराई–मधेशको जीवीकोपार्जन मुख्य आधार कृषि नै बनेको छ । अथक मिहिनेत तथा लगानीबाट उत्पादति खाद्यान्नको विक्रीबाटै किसानहरुले व्यवहार चलाउने गरेका हुन्छन् । तर उत्पादनको उचित मूल्य नपाउँदा घाटै लगाएर बेच्नु पर्ने बाध्यताले उनीहरुलाई पछ्याई नै रहेको छ । कृषि उत्पादनको उचित मूल्य दिलाउनमा सरकारकै नीति सर्वोपरि ऐन भएका कारण यस प्रति ध्यान दिनुपर्ने उसको जिम्मेवारी पनि हो । घाटा लगाएर उत्पादन बेच्नुपर्ने बाध्यता तथा विचौलियाको चलखेलका कारण किसानको उत्साह घटेर जान सक्छ । उनीहरु हतोत्साहित बने भने मुलुकमा खाद्यान्नको परनिर्भरता बढ्न सक्छ ।
अतः किसानलाई उत्पादनका समयमा आवश्यक कुराको प्रबन्ध देखि उत्पादित खाद्यान्न्को बजारीकरणसम्म सरकारले ध्यान दिएर उनीहरुमा पेशाप्रतिको आकर्षण जगाउन जरुरी छ ।