• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीको लक्ष्मीपुरमा भव्यताको साथ मनाइयो नेमान ( न्वाङ्गी) पर्व : राष्ट्रिय विदाको माग

सप्तरीको लक्ष्मीपुरमा भव्यताको साथ मनाइयो नेमान ( न्वाङ्गी) पर्व : राष्ट्रिय विदाको माग
न्यूज टुडे
राजविराज,२५ मंसिर ।
सप्तरीको सुरुङ्गा नगरपालिका ३ लक्ष्मीपुरमा बिहीवार दनुवार जातिको राष्ट्रिय साँस्कृतिक पर्व  नेमान ( न्वाङ्गी ) पर्व धुमाधामको साथ मनाइएको छ । स्थानीय  दनुवार समुदायको अगुवाइमा देशमै पहिलो पटक दनुवार जातिले सार्वजनिक रुपमा नेमान ( न्वाङ्गी) पर्व मनाएको हो । 
दनुवार जातिको राष्ट्रिय परेका नेमान ( न्वाङ्गी) पर्व उद्घाटन समारोहमा सहभागीहरु । फोटो : न्यूज टुडे
दनुवार जागरण समिति सप्तरी सुरुङ्गा नगरपालिकाका अध्यक्ष पुष्पराज सिंह दनुवारको अध्यक्षता तथा मधेस प्रदेशका पूर्वमन्त्री गोविन्द बहादुर न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
प्रमुख अतिथि पूर्वमन्त्री न्यौपाने दनुवार जातिले राष्ट्रिय पर्व घोषणा गरि सार्वजनिक रुपमा प्रत्येक बर्ष प्रमुख पर्वको रुपमा मनाउने अभियानको व्यानर पढेर उद्घाटन गरे । न्वाङ्गी पर्वको उद्घाटन गर्दै पूर्वमन्त्री न्यौपानेले यस पर्वलाई राष्ट्रिय चाडको रुपमा स्थापित गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफुले उत्पादन गरेको अन्न कुलदेवतालाई चढाएर नयाँ अन्न ग्रहण गर्ने परम्परा रहेको यस पर्वको प्राकृतिक तथा साँस्कृतिक महत्त्वले कृषि क्षेत्रमा समेत अलग्गै पहिचान राखेको बताए । 
कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकार । फोटो : न्यूज टुडे
देशमा मनाइने विभिन्न साँस्कृतिक पर्वले राष्ट्रिय एकतामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै दनुवार जातिलाई पाखा लगाएर समृद्ध नेपालको कल्पना समेत गर्न नसकिने उनको भनाइ थियोे । 
सुरुङ्गा नगरपालिकाकी मेयर गिता चौधरीले दनुवार जातिले नेमान ( न्वाङ्गी) पर्व मनाएकोमा खुशी व्यक्त गरिन । उनले न्वाङ्गी पर्वको छुट्टै इतिहास, सामाजिक, धार्मिक तथा साँस्कृतिक विशेषता  र मुल्यमन्यता रहेको उल्लेख गर्दै यस अवसरमा राष्ट्रिय विदा दिनुपर्नेमा जोड दिइन् । 
नगर प्रमुख चौधरीले न्वाङ्गी दनुवारको मात्र पर्व नभएर थारु लगायतले समेत मनाउने गरेको बताउदै यसपर्वको प्रबर्द्धनका लागि नगरपालिकाबाट सकिने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
दनुवार जागरण समितिका केन्द्रीय उपाध्यक्ष विरेन्द्र सिंह दनुवारले दनुवार जातिको लोप हुन लागेको नेमान पर्वको संरक्षणका लागि राज्यबाटै पहल गरिनु पर्नेमा जोड दिए । राज्यको विभेदकारी नीतीका कारण दनुवार समुदायको संस्कृति  लोपोन्मुख अवस्थामा पुगेको तथा दनुवार जाति पछाडी परेको उनले आरोप लगाए । 
कार्यक्रममा  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङ,सुरुङ्गा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष किरण कुमार पोखरेल, ४ का अध्यक्ष देवेन्द्र प्रसाद चौधरी, नेपाल सरकारका अबकाश प्राप्त उपसचिव श्यामसुन्दर सिंह दनुवार, आदिवासी जनजातिको परम्परा संस्कृतिका अध्यता सुर्य विनोद पोखरेलले  शुभकामना मन्तव्य व्यक्त गर्दै दनुवार जातिको  उत्थान र विकासको लागि राज्य तहबाट विशेष अधिकार सहितको नीति निर्माणमा जोड दिए ।
यसैगरी नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका वरिष्ठ उपाध्यक्ष उपेश सिंह दनुवार, दनुवार जागरण समितिका केन्द्रीय सदस्य घुर्नीदेवी सिंह,उदय सिंह,अनिता सिंह, पूर्व केन्द्रीय सदस्य रणुदेव सिंह दनुवारले दनुवार समुदायको राष्ट्रिय साँस्कृतिक पर्व नेमान ( न्वाङ्गी) मा राष्ट्रिय विदाको माग गरे । 
दनुवार जागरण समिति सप्तरीका पूर्व अध्यक्ष खेमराज सिंह दनुवारद्वारा संचालित कार्यक्रममा स्वागत चतुरानन्द सिंह दनुवारले गरेका थिए । 
जिल्लाका विभिन्न स्थानबाट  दनुवार समुदाय सहभागी कार्यक्रममा दनुवार भेषभुषामा सजिएका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । उक्त अवसरमा नयाँ चिउरा, सखर, दही, फुल, अक्षता कुल देवतालाई चढाएर  ‘नेमान’ प्रसादको रुपमा वितरण गरिएको थियो । 
कार्यक्रममा दनुवार जातिको परम्परागत खाना प्रदर्शनी गर्नुको साथै न्वाङ्गी पूजा समेत गरिएको थियो ।  मंसिर शुक्ल पक्षको दोश्रो हप्तामा मनाइने नेमान ( न्वाङ्गी) पर्व दनुवार जातिले प्रमुख चाडको  रुपमा मनाउने परम्परा रहेको छ ।