• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

निजामती सेवामा आरक्षणमा टिकेको समावेशीता

निजामती सेवामा आरक्षणमा टिकेको समावेशीता
हरे कृष्ण साह
राजविराज, २४ मंसिर ।
लोकसेवा आयोग केन्द्रीय कार्यालय कमलपोखरीले आ.व. २०८१/८२ को शाखा अधिकृत अप्राविधिक तर्फको विज्ञापनको अन्तिम नतिजा २०८२ मंसिर २० गते सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नतिजामा खुला विज्ञापनतर्फ महिला, आदिवासी जनजाती, मधेसी लगायत पछाडि परेको समुदायबाट उम्मेदवारको नतिजा, सिफारिस दर कम गरेका छन्  । 
समावेशी (आरक्षण) विज्ञापनमा भने नतिजा सिफारिस शत प्रतिशत रहेको छ । सार्वजनिक गरिएको नतिजामा खुला विज्ञापन तर्फ १ सय ११ सिट संख्याको लागि सिफारिस भएको उम्मेदवारमा मधेसी ५ जना, महिला १३ जना रहेको छ । त्यस्तै आदिवासी जनजाती, दलित लगायतका समुदायको पनि सिफारिस एकदमै कम रहेको छ । 
खुला विज्ञापनमा महिला, आदिवासी जनजाती, मधेसी, दलित लगायतका सबै समावेशी उम्मेदवारको कूल जम्मा नतिजा/सिफारिस २५ प्रतिशत भन्दा कम देखिएको छ ।  
निजामती सेवा ऐन,२०४९ (दोस्रो संशोधन) बाट २०६४ श्रावण १ गते देखि निजामती सेवामा समावेशिता व्यवस्था भएको हो ।
निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा ७ मा निजामती सेवामा पदपूर्ती गर्दा समावेशी बनाउने व्यवस्था उल्लेख रहेको छ ।  खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये पैंतालिस प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शत प्रतिशत मानी महिला, आदिवासी जनाजाती, मधेसी लगायतका उम्मेदवारहरु बीचमा  छुट्टाछुट्टै प्रतिस्पर्धा गरी पदपूर्ती गर्ने व्यवस्था रहेको छ ।
 सो व्यवस्था अनुसार महिला ३३ प्रतिशत आदिवासी जनजाती २७ प्रतिशत मधेसी २२ प्रतिशत दलित ९ प्रतिशत अपाङ्ग ५ प्रतिशत पिक्षेडिएको क्षेत्र ४ प्रतिशत आरक्षण कोटा निर्धारण गरिएको छ । 
नेपालको संविधान,२०७२ को धारा २६५ मा संविधान प्रारम्भ भएको दश वर्ष पछि समावेशिता सम्बन्धी विषय पुनरावलोकन गर्ने व्यवस्था रहेको छ ।
लोकसेवा आयोगको विज्ञापनमा समावेशी समूहमा शत प्रतिशत नतिजा भई उम्मेदवार सिफारिस हुने गरेको छ । तर खुल्ला विज्ञापन तर्फ भने समावेशी समूहका उम्मेदवारहरुको नतिजा, सिफारिस कम रहने गरेको छ ।
यसले गर्दा अझै पनि नेपालको सरकारी सेवामा आरक्षणको आवश्यकता रहेको देखाउँछ ।सरकारले महिला, आदिवासी जनजाती, मधेसी, दलित लगायतका समावेशी समूहलाई राज्यको मूलधारमा ल्याउन उनीहरुको सशक्तिकरणमा सहयोग गर्नुपर्ने आवश्यक रहेको देखिन्छ ।