अग्नीसाईर कृष्णासवरन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीले प्रविधिको दुरुपयोग गरि चरीत्र हत्याको प्रयास गरेको भन्दै आपत्ति व्यक्त गरेकी छन् । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा गाउँपालिकाको सभाहलमा बुधबार आयोजित बक्तृत्वकला प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
प्रथम पुरस्कार ग्रहण गर्दै उर्मिला बन्जारा । फोटो : न्यूज टुडे
“प्रविधिको सही उपयोग गरौं, महिला हिंसा अन्त्य गरौं भन्ने नाराको साथ आयोजित कार्यक्रम बोल्दै कार्यबाहक अध्यक्ष चौधरीले लैङ्गिक हिंसा न्यूनीकरणका लागि शिक्षामा जोड दिइन् । पछिल्लो समय सामाजिक संजालको दुरुपयोग बढेको प्रति चिन्ता व्यक्त गर्दै उनले यसको शिकार आफू पनि भएको बताइन् ।
बदनियतपूर्वक सामाजिक संजालमा आफुलाई बदनाम गर्दा साह्रै अन्यायमा परेको बताउदै कार्यबाहक अध्यक्ष चौधरीले गलत भावना लिएर एक युट्युवरले अनावश्यक तनाव दिएको भन्दै आपत्ति व्यक्त गरिन । आफुलाई पत्रकार बताउने श्याम यादवल्ले एक्कसी अभद्र व्यवहार गरेपछि बाहिर निस्कन आग्रह गरेको बताउदै उनले प्रविधिको दुरुपयोग गरि बदनाम गर्ने नियतबस सामाजिक संजालमा प्रयोग गरिएको भन्दै आक्रोश पोखिन ।
उनले कुनैपनी बहानामा लैङ्गिक हिंसा सह्य नहुने उल्लेख गर्दै सबै पक्षबाट प्रविधिको सही सदुपयोग गर्नु अत्यावश्यक रहेको बताइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङ, कार्यपालिका सदस्य श्रीकुमारी चौधरी,बैजानाथ देवी चौधरी, प्रतियोगिता निर्णायक मण्डलका सदस्य ललित चौधरी,एनएफसिसीकी प्रतिनिधि किरण चौधरीलगायतकाले छोरीलाई दाइजो होइन उचित शिक्षा दिनुपर्नेमा जोड दिए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित महिला स्वास्थ्य स्वयंसेविकाहरु सहभागी प्रतियोगितामा वडा नम्बर ६ की उर्मिला बन्जारा प्रथम, वडा नम्बर २ की गायत्री चौधरी दोश्रो र वडा नम्बर १ की सरस्वती चौधरीले तेस्रो स्थान हाँसिल गरेकी थिइन् ।
उनीहरुलाई गाउँपालिका कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीले गिफ्टबाट पुरस्कृत गर्दै दोसल्ला ओढाएर सम्मान गरिन ।
महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख महिला विकास अधिकृत विनिता साहद्वारा संचालित कार्यक्रमको निर्णायक मण्डलमा शिक्षकहरु संजय योन्जन, उदय थिङ तामाङ र ललित चौधरी रहेका थिए ।
“छोरीलाई दाइजो होईन: शिक्षा दिनुपर्छ” शिर्षकमा आयोजित बक्तृत्वकला प्रतियोगितामा वडा नम्बर १ की नयन चौधरी, राज कुमारी चौधरी,५ की सुनिता चौधरी,४ की सुनिता देवी यादव, रिना चौधरी लगायतका ९ जना सहभागी भएकी थिइन् ।