• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीको सरकारी कार्यालयको सेवा ठप्प 

सप्तरीको सरकारी कार्यालयको सेवा ठप्प 
न्यूज टुडे
राजविराज, २३ मंसिर ।
करदाता सेवा कार्यालय राजविराजलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने निर्णय विरुद्ध जेनजी पुस्ताद्वारा जारी संघर्षका कारण सप्तरीमा मंगलबार सम्पूर्ण सरकारी कार्यालयबाट प्रदान गरिने सेवा प्रभावित भएको छ । आन्दोलनका कार्यक्रमलाई समर्थन गर्दै गाउँपालिका नगरपालिका तथा जिल्ला स्थित सरकारी कार्यालय दिनभरी बन्द रहेको हो । 
संघर्ष समितीको  बन्द आव्हानलाई कतिपय गाउँपालिका नगरपालिकाले विज्ञप्ति तथा सूचना जारी गर्दै पालिका मातहतका वडा कार्यालय तथा सम्पूर्ण सरकारी कार्यालय बन्द गरिएको जानकारी गराएका छन् । 
बन्दको अवज्ञा गर्दै संचालन गर्न खोज्ने कार्यालयमा पुगेर संघर्ष समितिमा आवद्ध जेनजीहरुले बन्द गर्न दवाव बढाएपछि सेवा प्रभावित हुन पुगेको थियो ।  बन्द गराउन संघर्ष समिति आवद्ध युवा तथा उधोगी व्यवसायी, नागरिक अगुवा तथा विभिन्न पार्टी आवद्ध युवाहरु सक्रिय रुपमा परिचालित रहेका थिए । 
“सुन सरकार सप्तरीबासी सब क आवाज”  आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरी उल्लेख प्लेकार्डसहित राष्ट्रिय झण्डा बोकेर जेनजी पुस्ताका युवाहरूले विहान १० बजेदेखि सरकारी कार्यालयहरुमा कालो झण्डा राखेर सरकारको निर्णय विरोध गरेका छन् ।  
राजविराज स्थित रहेको  करदाता सेवा कार्यालयलाई अन्तरिक राजस्व कार्यालयमा स्तर वृद्धि गरी स्थापना गर्नुपर्ने १ सुत्रीय माग राखी आन्दोलनमा उत्रिएको संघर्ष समितिका संयोजक मोहन यादवले बताए । यसलाई कतै गाभ्ने वा खारेज गर्ने षड्यन्त्र भए स्वीकार्य नहुने बताउँदै उनले शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए थप सशक्त आन्दोलन गर्ने  समेत चेतावनी दिए । 
“हामीले पूर्व घोषित कार्यक्रम अनुसार सरकारी कार्यालय बन्द गरि समर्थन गर्न भनेका थियौं ” उनले भने, हाम्रो आन्दोलनलाई समर्थनसहित जिल्लाका सबै सरकारी कार्यालय बन्द गरि सहयोग गरेको छ । हामी सबै-सबैप्रति आभारी छौँ ।’
पूर्व घोषित पहिलो चरणको आन्दोलनका कार्यक्रम सकिएको तथा चाँडै थप दोश्रो चरणको आन्दोलन घोषणा गरिने संघर्ष समितिका संयोजक यादवले बताए ।
माओवादी जनयुद्व कालमा राजविराज स्थित आफ्नै भवनमा रहेको आन्तरिक राजस्व कार्यालय लहान सरेपछि २०७५ सालमा पुनः राकरदाता सेवा कार्यालय पुनार्थपाना गरिएको थियो । 
राजविराज सेवा कार्यालयमा करदाता संख्या ७२ हजार बढी रहेका छन् । उक्त कार्यालयबाट आव २०८१/०८२ मा १ अर्व राजस्व असुली भएको छ । कार्यालयले आव २०८२/०८३ मा १ अर्व २५ लाख राजस्व असुली गर्ने लक्ष्य राखेको छ । सरकारले लिएको लक्ष भन्दा बढी यस कर्यालयबाट राजस्व संकलन हुँदै आएको छ । 
कार्यालयमा दरबन्दी ( कार्यलय प्रमुख )अफिसर १ , सुब्बा १ कम्प्युटर अपरेटर २ र ६ जना करारका कर्मचारी कार्यरत छन् । 
नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार देश भरको ३७ करदाता सेवा कार्यालय खारेज गरि आन्तरिक राजस्व कार्यालयबाट सेवा प्रबाह गरिने भएपछि सप्तरीका उधोगी व्यवसायी, नागरिक समाज, जनप्रतिनिधि, पत्रकार, विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता चरणब्म्बद्व आन्दोलनका उत्रिएका छन् ।