न्यूज टुडे
राजविराज २२ मंसिर ।
मोरङ्गको बुडीगंगा गाउँपालिका–६ मा सोमबार सबैखाले भेदभावको अन्त्य विषयक अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगरले कार्यक्रम आयोजना गरेको हो ।
‘मर्यादा समानता मानव अधिकारका लागि मर्यादित महिनावारी’ नारासहित सातौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा मर्यादित महिनावारी मानव अधिकारको आधार भएकाले सबैखाले भेदभावको अन्तको आव्हान गर्दै कार्यक्रम आयोजना गरिएको इन्सेक कोशी प्रदेश कार्यालयका संयोजक मनोहर पोखरेलले बताए ।
महिला अधिकार, किशोरी शिक्षालाई प्रभावकारी यौन र लैङ्गिक हिंसाको रूपमा हुने भेदभावलाई व्याख्या गर्दै इन्सेक कोशी प्रदेश संयोजक मनोहर पोखरेलले विज्ञानले स्वीकार गरी परिभाषित गरेको महिनावारी जीवनको प्राकृतिक तथ्य र सृष्टिको कारक भएकोले मासिक रूपमा हुने महिनावारी चक्रलाई सम्मानजनक र स्वस्थ तरिकाले बुझ्नु पर्ने र व्यवस्थापन गर्नुपर्ने बताए ।
मानव अधिकार रक्षक सञ्जालका संयोजक देबी बाँस्कोटाले लैङ्गिक विभेद र कानूनी शासनको चर्चा गरे । बालविवाह, दाईजोप्रथा, बहुविवाह, जातीय भेदभाव, भ्रुण उनले हत्यालगायत हिंसाको शिकारबाट समाजको विकास अवरुद्ध भएकोले सजग र सुरक्षित समाज निर्माणका लागि जिम्मेवार बन्न आग्रह गरे ।
कार्यक्रमको उद्घाटन गर्दै बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी गच्छेदारले हिंसा न्युनिकरणका लागि गाउँपालिकाले बिभिन्न कार्यक्रमहरु ल्याएकोले महिलाहरुले हिंसा विरुद्ध आवाज उठाउने साहस देखाउन र आफू तथा अन्यको सुरक्षामा योगदान पुर्याउन आग्रह गरे ।
कार्यक्रम संचालन बुढीगंगा गाउँपालिकाकी महिला, बालबालिका शाखा प्रमुख निश्चलता कार्कीले गरेकी थिइन् ।
विभिन्न शाखाका प्रमुख, आमा समूह र किशोरीहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण इन्सेक कोशी प्रदेश कार्यालयका संयोजक मनोहर पोखरेल र मानव अधिकार रक्षक सञ्जालका संयोजक देबी बाँस्कोटाले गरेका थिए ।