• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

संविधान संशोधनसहित २८ बुँदे माग राखी जसपा नेपाल सप्तरीद्वारा धर्ना  जारी 

संविधान संशोधनसहित २८ बुँदे माग राखी जसपा नेपाल सप्तरीद्वारा धर्ना  जारी 
न्यूज टुडे
राजविराज,२१ मंसिर । 
जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीद्वारा  जिल्ला प्रशासन कार्यालय अगाडि जारी धर्ना कार्यक्रमलाई दोश्रो दिन पनि निरन्तरता दिएका छन् । संविधान संशोधनलगायत विभिन्न २८ बुँदे माग राखी जसपा नेपालका नेताकार्यकर्ता आइतबार दोश्रो दिन पनि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका हुन् । 
जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि धर्ना बसेको जसपा नेताकार्यकर्ता । फोटो : न्यूज टुडे
जिल्ला अध्यक्ष केदार प्रसाद यादव नेतृत्वमा जिल्ला प्रशासन कार्यालय अगाडि जसपाका केन्द्रदेखि जिल्ला र स्थानीय तहसम्मका नेताकार्यकर्ता धर्ना बसेका छन् ।
धर्ना बसेका जसपा नेपालकी केन्द्रीय सदस्य पुनम यादव, भिमराज यादव, मुरली प्रसाद सिंह, प्रदेशका निवर्तमान मुख्यसचिव दिनेश कुमार यादव, सदस्य किशोर कुमार केसी, लेखा समिति अध्यक्ष अमृत साँफी, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, उपाध्यक्ष लक्ष्मण यादवले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताए ।  पूर्व निर्धारित कार्यक्रम अनुसार सोमबार पनि धर्ना कार्यक्रमलाई निरंतरता दिने बताउँदै उनीहरूले मधेसी, आदिवासी जनजाति, महिला, दलित, मुश्लिम, थारुमाथीको अन्याय, भेदभाव अन्त्य लगायत जेनजी पुस्ताले उठाएको माग पूरा गाराउन संघर्षमा उत्रिएको बताए । 
 जसपा नेपाल सप्तरीले यसअघि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्री सुशीला  कार्कीलाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा मधेस विद्रोहको  भावना अनुसार संविधान संशोधन, जेनजी विद्रोहका एजेन्डा, कोशी प्रदेश खारेजी र पहिचानको आधारमा नामाङ्ग्कन गर्नुपर्ने लगायतका २८ बुँदे माग राखिएको छ ।
आफ्ना न्यायसङ्गत मागहरू सम्बोधन गर्न जोडदार माग गरिएको ज्ञापनपत्रमा शान्तिपुर्ण संघर्षका कार्यक्रमबाट माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ । ।ज्ञापनपत्र बुझ्दै प्रजिअ पोखरेलले तुरुन्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार पठाउने प्रतिबद्धता व्यक्त गरे । 
पूर्व निर्धारित संघर्षका कार्यक्रम अनुसार प्रमुख जिल्ला अधिकारी मार्फत  प्रधानमन्त्रीलाई विभिन्न माग राखिएको २८ बुँदे ज्ञापनपत्र बुझाएको  तथा धर्ना बसेको जसपा नेपाल सप्तरीका सचिब निरज मुक्तिले बताए । 
यसअघि जसपा नेपालले सरकारमा दबाब बढाउन देशव्यापी चरणबद्व संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो ।संघर्षका कार्यक्रम अनुसार चरणबद्ध रूपमा शान्तिपूर्ण विरोध, धर्ना र जनसभाहरू सञ्चालन गरिने  जसपा नेपाल सप्तरीले जनाएको छ।  
यस अघि पार्टीले सार्वजनिक गरेको कार्यक्रमअनुसार मंसिर १० गते देशभरका सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने,मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका शहर तथा बजार क्षेत्रमा विरोध कार्यक्रम, कोण सभा र जनपरिचालन अभियान हुनेछ।
यसैगरी मंसिर १९ देखि २१ गतेसम्म जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय अगाडि २८ बुँदे मागसहितका प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिइने कार्यक्रम छ।मंसिर २७ देखि पौष ४ गतेसम्म देशभर जिल्ला-स्तरीय विरोध सभा तथा जनसभा आयोजना गर्नेछ।
यस्तै प्रदेश-स्तरीय जनप्रदर्शन तथा विरोध सभा कार्यक्रम भने पुस १२ गते विराटनगर, १४ गते जनकपुर, १५ गते वीरगन्ज र १७ नेपालगन्ज/भैरहवामा गर्ने तय भएको  जसपा नेपालद्वारा सार्वजनिक गरेको संघर्षका कार्यक्रममा उल्लेख गरिएको छ ।