न्यूज टुडे
राजविराज,१८ मंसिर ।
प्रविधिको प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौ नारा सहित ३४ औ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान कार्यक्रम अन्तर्गत राजविराज १ चनौरा पडरियामा बिहिवार धर्म गुरूहरूसँग बालविवाह न्युनीकरणका लागि कानुन र पोलिसीको विषयमा आन्तरक्रियाको आयोजना गरिएको छ । बालविवाह बिरूद्ध प्रदेश स्तरीय संजालको सहयोग, परिकल्पना नेपाल सप्तरी तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा उपस्थित धर्मगुरूहरूले बालविवाह न्यूनीकरणका लागि स्थानीय तहमा छुट्टै नीति ल्याउनुपर्नेमा जोड दिए ।
मौलाना मो. अल्ला उद्दिनले विवाह गर्नु अघि विवाहका लागि वडासँग सिफारिस लिएर मात्र बिवाह गर्ने नीति स्थानीय तहले बनाएर व्यवहारमा लागू गर्न सके बालविवाह न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।
´खासगरी कतिपय वडा अध्यक्षले उमेरै नपुगी नागरिकता बनाई दिदै आएकोले बालविवाह न्यूनीकरण गर्न थप समस्या हुदै आएको छ ।’ उनले भने
कानुन एकातिर,व्यवहार अर्कोतिर रहेको पण्डित मुक्तिनाथ झाले बताइन् । प्रत्येक व्यक्ति नैतिकवान भएमा बालविवाह आफै न्यूनीकरण हुने उनले बताइन् । यसको न्युनीकरणका लागि सबैले सहयोग र सहकार्य हुनुपर्ने उनले जोड दिइन् । कानूनको सबैले पालना गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा राजदेवी मन्दिरका पुजारी भोला नाथ चौधरीले बिवाह गर्दा सकेसम्म उमेरलाई ध्यानमा राखेर विवाह गराउँदै आएको बताए । बालविवाह बिशेष गरि दलित तथा सिमान्तकृत समुदायमा बढी हुँदै आएकोले यस्ता समुदायले बसोबास गर्दै आएको बस्तीमा बिशेष ध्यान पुर्याउनुपर्नेमा उनको जोड थियो ।
परिकल्पना नेपालको उपाध्यक्ष सुनिता परियारको अध्यक्षतामा आयोजित २५ जना पण्डित मौलाना सहभागी कार्यक्रमको सहजीकरण नरेश चौधरीले गरेका थिए ।
संस्थाकी कार्यक्रम संयोजक रिमा चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत सदस्य सवाना प्रविणकोले गरिन ।